करेन्ट लागेर बालिकाको मृत्यु
कपिलवस्तु : मायादेवी गाउँपालिका वडा-२ भैसकुण्डामा स्थानीय ६ वर्षीया बालिकाको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय विजय पासीकी ६ वर्षीया छोरी कुसुम पासीको गाउँकै मौलाना कैयुम मुसलमानको निर्माणाधीन घरमा रहेको मोटर जडित हेण्डपाईपमा छुँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
घरबाट विद्यालय जाँदै गर्दा बालिका कुसुमले मोटरबाट पानी तान्दै गरेको हेन्डपाइप छोएपछि करेन्ट लागेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक गणेश सुवेदीले बताए। बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ। बालिका स्थानीय नेपाल राष्ट्रिय माविमा कक्षा १ मा अध्ययनरत थिइन्।