३ दशकदेखि अलैंची खेतीमा

३ दशकदेखि अलैंची खेतीमा

भोजपुर : केही वर्षयता अलैंचीको भाउ घटेकाले किसानलाई चिन्तित बनायो। किसानले सयौँ मुरी फल्ने धानखेत मासेर अलैंची लगाए। तर, अहिले त्यही अलैंची काउसो बनेको छ। धेरैले अलैंची हटाएर अन्य नगदेबाली लगाए। धेरैले अन्य विकल्पका खेती नै सुरु गरे। परि श्रमअनुसार लगानीसमेत नउठेपछि किसानलाई हतोत्साहित बनाएको छ। तर, केही किसान भने वर्षौंदेखि अलैंची खेतीमै मग्न छन्। उनीहरूले अलैंचीले दिने आम्दानीले जीवनचर्या चलाएका छन्।

भोजपुर नगरपालिका ४, सिद्धेश्वरका चन्द्रबहादुर पाण्डेले ३२ वर्षदेखि अलैंचीखेती गरिरहेका छन्। १ सय रोपनी जग्गामा गरिएको अलैंचीखेतीले उनको परिवारको गुजारा चल्दै आएको छ। ३२ वर्षअघि पहिलोपटक अलैंची टोक्दा स्वाद लिएपछि खेती नै लगाउने सोच गरेको उनी सम्झन्छन्। पछि कृषि कार्यालय, बजार अवस्था बुझेपछि आम्दानीको प्रमुख स्रोत नै बनाएको उनले बताए।

‘पहिलोपटक अलैंची चाखेको बेला त्यो फल निकै मीठो लाग्यो, यसको खेतीमै लाग्ने रहर आयो’, उनले थपे, ‘वास्तवमा अलैंचीबारे बुझ्दा राम्रो मूल्यमा बिक्री हुने रहेछ। स्वास्थ्यका लागि पनि राम्रो, तरकारीको स्वादिलो मसाला पनि हुने, त्यसपछि खेतीतिरै लागेँ, अलैंचीकै आम्दानीले छोरालाई इन्जिनियर पढाएँ।’ माइलो छोरा भारतीय सेना र कान्छो नेपाली सेनामा जागिरे छन्। अहिले उनले वार्षिक १८ देखि २० लाखसम्म अलैंचीबाटै आम्दानी गर्छन्।

सुरुमा उनले जग्गा लिजमा लिएर खेती गरे। पछि अलैंचीबाट राम्रो आम्दानी गर्न थालेपछि खेत नै किनेर अलैंचीको व्यावसायिक खेती सुरु गरे। आफ्नो ठाउँमा सबैभन्दा धेरै क्षेत्रफलमा अलंैचीखेती गर्ने पहिलो किसान भएको उनी दाबी गर्छन्। पछिल्लो समय मूल्यमा गिरावट आए पनि उनमा अन्य किसानमा जस्तो नैराश्यता भने छाएको छैन। वर्षौंदेखिको लगाव र चासोले उनलाई सन्तुष्टि नै दिएको छ।

यस्तै टेम्केमैयुङ गाउँपालिका ५, खावा चोलन्तीका तिलकबहादुर विष्ट पनि ३ दशकयता अलैंचीमै रमेका छन्। उनले पनि खेती थालेकै ३४ वर्षभन्दा बढी भयो। १२ रोपनीदेखि खेती सुरु गरेका उनले अलैंचीबाट वार्षिक १० लाखसम्म भिœयाउँछन्। अलैंचीको आम्दानीबाटै उनले घरघडेरी जोडेका छन्। सुरुमा घरगुजारा गर्दा निकै समस्या भएको सुनाउने उनी अलैंचीको आम्दानी बढ्न थालेपछि दुःख टाढिएको बताउँछन्। उनी भन्छन्, ‘अलैंचीले सबै गर्जो टारियो, दुःख सुख भए पनि खेती गरिएको छ। बुढेसकालको पेन्सन यहिँ अलैंची हुने भो।’ विष्टले सबै खेतबारी मासेर अलैंची लगाएका छन्।

तिलकले अलैंचीसँगै अलैंचीका बेर्ना पनि उत्पादन गर्ने गर्छन्। अलैंची दिलोज्यान दिएका उनले अलैंचीलाई नै सबथोक मानेका छन्। गाउँले छिमेकीदेखि बाहिरबाट पनि उनीकहाँ अलैंचीको बेर्ना लिन, खेती गर्ने सिप पनि लिन आउने गरको उनी सुनाउँछन्। उनीबाट प्रेरित भएर गाउँका ८० भन्दा बढी कृषक व्यावसायिक अलैंची खेतीमा लागेका छन्।

विदेशबाट फर्किएर खेती

टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका सुमन प्रधान ३ वर्षअघि मलेसियाबाट फर्के। गाउँमै इलम गर्ने सोचले अलैंचीखेतीमा लागे। व्यावसायिक अलैंचीखेती गरेपछि विदेशमा बग्ने पसिनाको सदुपयोग भएको उनी गर्व गर्छन्। उनी भन्छन्, ‘विदेशमा दुःख गर्नुभन्दा यहीँ दुःख गरे सुन फल्ने रैछ। अलैंची खेतीबाटै राम्रो आम्दानी गर्न सकिने रहेछ।’ सुमनले अलैंची बेचेरै वार्षिक ६ लाखसम्म आम्दानी गर्छन्। धेरैले अलैंची उत्पादन गरे पनि आधुनिक भट्टी अभावले गुणस्तरीय अलैंची उत्पादन गर्न नसकेको उनको बुझाइ छ। यसकारण अलैंचीको मूल्यमा पनि गिरावट आएको उनी सुनाउँछन्।

भोजपुरका विभिन्न उच्च, मध्य तथा कच्छड भेगमा रामसाही, गोलसाही, डम्बरसाही, जिर्मले जातको अलैंची लगाइने गरिएको छ। उत्तरी दोभाने, कुदाककाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, बोखिम, सिद्धेश्वर, गुप्तेश्वरलगायत १७ भन्दा बढी स्थानमा अलँैची उत्पादन हुन्छ। ९ स्थानीय तहका ३० वटा वडामा अलैंची जोन क्षेत्र बनाइएको छ। ती क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत विभिन्न समयमा किसानलाई अनुदान, सुधारिएको भट्टि, तालिम प्रदान गर्दै आएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.