दश लाख नहुँदा कतारमा बन्धक
सिन्धुली : दुर्घटनामा साथीको मृत्यु भएपछि दोषी ठहर सिन्धुलीका कमल थिङलाई कतारमा बन्धक भएपछि चिनीमायाँ वाइबाले श्रीमान् बचाइदिन आग्रह गरेकी छन्। मरिण गाउँपालिका २ का थिङलाई साथीको मृत्यु भएको घटनामा कतार प्रहरीले दोषी ठहर गर्दै ६ महिना जेल र २ लाख कतारी रियल (नेपालको ६० लाख) तिर्नु पर्ने फैसला गरेपछि उनले सहयोगको याचना गरेकी हुन्।
वैदेशिक रोजगारका लागि कतार पुगेका थिङलाई ८ सेप्टेम्बर २०१८ मा धनुषाको घोडाघोडी ३ बस्ने शिवरजन राउतको एकापसमा जिस्कने क्रममा अचानक दुर्घटना परी मृत्यु भएपछि कतार प्रहरीले दोषी ठहर गरेको थियो।
अनुसन्धानको क्रममा २८ नोभेम्बर २०१८ मा थिङलाई ३ वर्ष जेल र २ लाख कतारी रियल ब्लडमनी (नेपालको ६० लाख) तिर्नुपर्ने अन्यथा मृत्यु दण्ड हुने फैसला गरेको थियो। तर, थिङले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेपछि ४ मार्च २०१९ मा कतारको कानुनले ६ महिना जेल र ब्लडमनी भने यथावत राख्ने फैसला गरेको थियो।
थिङ कतारमा ६ महिनादेखि जेल जीवन कटाइरहेका छन्। उनले जेल सजाय भुक्तान गरे पनि ब्लडमनी नबुझाए मृत्युदण्ड हुन सक्ने भएपछि श्रीमान्लाई बचाइदिन आग्रह गरेकी हुन्। उनी आर्थिक सहयोग संकलनमा लागेकी हुन्। समयसीमाभित्र मृतकका परिवारलाई ब्लडमनी नदिए अबको एक महिनापछि मृत्युदण्ड हुने उनले बताइन्। मृतकका परिवारले ६० लाख रुपैयाँमा १० लाख मात्र ब्लडमनी दिए सहमति गर्ने बताएका छन्। १० लाख रुपैयाँ जुटाउन मुस्किल भएको भन्दै सबैसँग आर्थिक सहयोग गरिदिन उनको आग्रह छ।
दुई वर्षे छोरी बोकेर जिल्ला सदरमुकाम र काठमाडौंमा पैसा संकलनका लागि हारगुहार गर्दै हिँडेकी चिनीमायाँले आर्थिक अवस्था दयनीय भएका कारण १० लाख जुटाउन मुस्किल भएको भन्दै आर्थिक सहयोग गरी श्रीमान्लाई मृत्युदण्डबाट बचाइदिन आग्रह गरिन्। उनले भनिन्, ‘घरमा साना दुईवटा बालबच्चा छन्। पैसा कमाउन गएका श्रीमान् जेलमा छन्। भएको सबै जायजेथा बेच्दा पनि १० लाख रुपैयाँ पैसा जम्मा गर्न सकिँदैन। म एक्लीले के गर्ने ? १० लाख रुपैयाँ दिन पाए श्रीमान्को ज्यान बचाउन सकिन्छ।’
श्रीमान् जेल परेपछि आर्थिक संकलनमा हिँडेकी चिनीमायाँले हालसम्म चार लाख रुपैयाँ पैसा संकलन भए पनि अझै ६ लाख रुपैयाँ संकलन गर्नुपर्ने बताइन्। ‘पाँच महिनादेखि हात थापेर हिँड्दा जम्मा चार लाख जम्मा भएको बाँकी एक महिनामा ६ लाख रुपैयाँ कहाँबाट जम्मा गर्ने ? कोही सहयोगी मन भए श्रीमान् बचाउन सकिन्थ्यो’, उनले भनिन्। अबको एक महिनाभित्र पैसा नबुझाए कमललाई कतारमा मृत्युदण्ड दिन सक्ने भएपछि उनको होस समेत ठिकमा छैन।
श्रीमान् बचाइदिन सरकार, वैदेशिक रोजगार तथा उद्धार नेपाल लगायतका संघसंस्थासँग हारगुहार गरे पनि आर्थिक सहयोग नपाएको उनको गुनासो छ। थिङ डिसेम्बर २०१८ मा नेपाल फर्कने तयारीमा थिए। तर प्रहरीले नियन्त्रणमा लिएपछि परिवारको सबै खुसी आँसुमा परिणत भएको छ।
वैदेशिक रोजगार उद्धार नेपालको पहलमा मृतक राउतको परिवारसँग ६० लाख रुपैयाँमा १० लाख मात्र दिएर कमललाई नेपाल फर्काउन पहल गरिदिएको हो। वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेको पहलमा कमल बचाउ अभियान नै सुरु गरेर पैसा संकलन थालिएको छ। अभियानले मुठ्ठीदानसमेत संकलन गरिरहेको भए पनि १० लाख पुर्याउन मुस्किल छ।
अध्यक्ष गोलेले भने, ‘कमललाई बचाउन चिनीमायाँले पाँच वर्षका छोरा आफन्तको जिम्मा लगाएर हारगुहार गर्दै हिँडेकी छन्। हामी पनि अभियानमा छौं। सबैले सहयोग गर्न सके कमलको ज्यान बच्ने थियो।’ कमल बचाउन सहयोग गर्न चाहनेले चिनीमायाँको नाममा रहेको सिभिल बैंकको खाता नम्बर ०४११०३२७०७१०११ मा पैसा जम्मा गरेर या फोन नम्बर ९८८०५३५३४८ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने उनको भनाइ छ।