धनगढीमा थारुको अनसन : लक्ष्मण चौधरीको स्वास्थ्यमा समस्या

धनगढीमा थारुको अनसन : लक्ष्मण चौधरीको स्वास्थ्यमा समस्या

धनगढी : २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनापछि सेलाएको थारु आन्दोलन फेरि सुरु भएको छ। संविधान जारी हुनुअघि २०७२ साल भदौमा उत्कर्षमा पुगेको थारु आन्दोलन टीकापुर घटनापछि सेलाएको थियो ।

टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक दुधे बालकको ज्यान गएको थियो । टीकापुर घटनापछि, त्यसका योजनाकारको आरोप लागेका रेशम चौधरी फरार भए भने नेपालमा फेला परेका नेता लक्ष्मण चौधरी सहितका २६ जनालाई कारागार पठाइएको थियो ।

त्यसपछि भएको संसदीय निर्वाचनमा टीकापुर क्षेत्रबाट चुनाव जितेका रेशम चौधरी काठमाडौंको डिल्लीबजार कारागारमा छन् भने टीकापुर घटनामा पक्राउ परी जेल चालान भएका २६ जनामध्ये ११ जना अझै छुटेका छैनन्।

पक्राउ परेकामध्ये छुटेका लक्ष्मण चौधरीसहितका १५ जनाले फेरी थारुको आन्दोलनको नेतृत्व लिएका छन् । जेलबाट छुटे लगत्तै, थारुहरुको भेला, अन्तक्रियमा सक्रिय भएका लक्ष्मण थारुले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेर आन्दोलनको सुरुवात गरेका हुन् ।

पश्चिमको थारु आन्दोलनका दुईजना नेता रेशम र लक्ष्मण जेल गएपछि तीन वर्षभन्दा बढी थारु आन्दोलन शून्यजस्तै भएको थियो । पश्चिम नेपालका थारु समुदाय अहिलको ७ प्रदेशको संरचना अमान्य भएको बताउँदै आएका छन्।

उनीहरुले तराईको थारु बाहुल्य क्षेत्रको छ्ट्टै थरुहट थारुवान क्षेत्र घोषणा गरी अलग्गै प्रदेशको माग गरेका छन्। संविधान जारी हुनुभन्दा अघि पनि सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई पहाडि ७ जिल्लासँग नजोडनुपर्ने भन्दै थारुहरु आन्दोलनमा उत्रिएका थिए ।

त्यो आन्दोलन फेरी सुरु भएको छ । 'नेताहरु तितरवितर भए, कसैलाई जेल हालियो, सरकार दमनको नीतिमा उत्रियो, अब आन्दोलन नयाँ उचाइमा जान्छ,' थारुवान थरुहट राष्ट्रिय मोर्चाका केन्द्रिय सल्लाहकार भानुराम थारुले भने।

अहिलेको थारु आन्दोलनमा पूर्वसंविधानसभा सदस्य कृष्ण कुमार चौधरी, भानुराम थारु, थारु कल्याणकारिणी सभासहितका नेताहरुको सहभागिता छ। 

अनिश्‍चितकालिन आमरण अनसन

लक्ष्मण थारुले आन्दोलनको सुरुवातमै रेशम चौधरी र कैलाली कारागारमा रहेका ११ जना टीकापुरका जेलबन्दीको रिहाइको माग गर्दै धनगढीमा आमरण अनसन सुरु गरेका छन् । उनले, टीकापुरको घटनामा पक्राउ परेका सबै थारुको निसर्त रिहाइको माग गर्दै कडा आन्दोलन रोजेका हुन् ।

आइतबार उनको आमरण अनसनको चौथो दिन हो। सेती प्रादेशीक अस्पतालका डाक्टर निराजन शर्माले उनको स्वास्थ्य कमजोर हुँदै गएको बताएका छन् । 'उनको शरीरमा पानीको मात्रा कम देखिएको छ, उनको ब्लडप्रेसर पनि तल-माथि भइरहेको छ,' डाक्टर निराजनले भने ।

उनले, थारुलाई प्रादेशीक अस्पतालमा भर्ना हुन आग्रह गरिएको बताए । 'तीन दिनदेखि अन्न पानी केही नखाएकाले स्वास्थ्य अवस्था कमजोर भएको छ, अस्पताल भर्ना हुन भनेका छौँ, तर उनले मानिरहेका छैनन्,' डाक्टर निराजनले भने ।

क्याम्पस चोकमा दिनदिनै प्रदर्शन

थारु समुदायले धनगढीको क्याम्पस चोकमा लक्ष्मण थारुका लागि अनसनस्थल बनाएका छन् भने त्यहाँ दिनभरी प्रदर्शन, नाराबाजी र कोणसभा भइरहेका छन्। शनिबार उनीहरुले अनसनस्थलमै तीन घण्टा चक्‍काजाम गरे भने दिनभरी कोणसभाको आयोजना गरे । 

अनसनस्थलमा रातभरी थारु भाषाका गीत, धुमार गाउने र बाजागाजा बजाइने गरिएको छ । 'सरकारले आन्दोलनको सम्बोधन गरेन भने हामी यो भन्दा पनि कडा आन्दोलनमा जान्छौं,' अनसन बसेका लक्ष्मण थारुले भने । उनले सरकारले आफ्ना माग सम्बोधन नगर्दासम्म आफ्नो आमरण अनसन जारी रहने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.