कर्णालीमा ठेकेदारको लापरवाही : स्वास्थ्यका ९६ भवन अलपत्र

कर्णालीमा ठेकेदारको लापरवाही : स्वास्थ्यका ९६ भवन अलपत्र

सुर्खेत :  दैलेखको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको भवन १७ वर्षदेखि अधुरै छ। २०५९ असोजमा निर्माण थालिएको उक्त भवन ठेकेदारको लापरवाहीका कारण अलपत्र छ। किसान कन्स्ट्रक्सनले ७० लाख लागतमा भवन निर्माणको जिम्मा लिएको थियो। काम सम्पन्न नगरे पनि निर्माण कम्पनीले पूरै भुक्तानी लिएको छ। निर्माणाधीन भवनभित्र झार उम्रिएको छ। भवनका झ्यालढोका फुटेका छन्।

जाजरकोटको जुनीचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र छ। फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले एक वर्षभित्र काम सक्ने गरी २०६९ मा निर्माणको जिम्मा लिएको थियो। ठेकेदार काम अलपत्र छाडेर सम्पर्कविहीन छ। सुरक्षित प्रसूति सेवा अभावमा त्यहाँका कतिपय गर्भवतीले अकालमा ज्यान गुमाएका छन्।

‘निर्माण व्यवसायीलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले कारबाही गर्न सकेका छैनन्’, स्थानीय राजबहादुर शाहीले भने, ‘एउटा व्यक्तिले काम नगर्दा सबै नागरिकले दुःख पाइरहेका छन्। कामचोर ठेकेदारलाई सरकारले किन कारबाही गर्न सक्दैन ? ’ १ करोड ५० लाख लागतमा निर्माण हुने भवनको काम १० प्रतिशत मात्रै भएको छ।

०००

कर्णाली प्रदेशमा ठेकेदारको लापरवाहीले झन्डै ९६ वटा स्वास्थ्य संस्था भवन अलपत्र छन्। यी सबै भवन सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाइ सुर्खेत र जुम्लाबाट ठेक्का भएका हुन्। ताकेता गर्दा पनि ठेकेदारले काम नगरेपछि सुर्खेतको कटकुवा स्वास्थ्य चौकी र जाजरकोटको दल्ली स्वास्थ्य चौकी भवनको ठेक्का रद्द गरी पुनः टेन्डर गरियो।

घटाघट प्रक्रियाबाट सस्तोमा ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिले कर्णाली प्रदेशमा स्वास्थ्य संस्था भवन निर्माण अधुरै रहेको हो। नियामक निकायको लापरवाहीले पनि कर्णालीमा ठेकेदारको मनपरी छ। अधिकांश ठेकेदारले पेश्की बुझेर भवनको काम अलपत्र छाडेका छन्। तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण नगर्ने कतिपय ठेकेदार सम्पर्कविहीन रहेको सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाइ सुर्खेतका सूचना अधिकारी देवेश्वर गिरीले बताए।

उनका अनुसार ठेकेदारको लापरवाही र मौसम प्रतिकूलताका कारण स्वास्थ्य संस्था भवन निर्माण अधुरै छ। ‘घटेर धेरै ठेक्का लिने प्रवृत्तिले ठेकेदार घाटामा जाँदा योजना अलपत्र छाड्छन्’, इन्जिनियर गोकर्ण थापाले भने, ‘दक्ष जनशक्ति अभाव र भौगोलिक विकटताका कारण समयमै सबै योजना हेर्न नसक्दा ठेकेदारले पनि स्टिमेटअनुसार काम गर्दैनन्।’

अलपत्र स्वास्थ्य संस्था भवनमध्ये सबैभन्दा धेरै सुर्खेतमा छन्। भवन समयमै नबन्दा अन्य बिरामीभन्दा गर्भवती तथा सुत्केरी बढी समस्यामा छन्। घरनजिकै स्वास्थ्य संस्थामा भवन अभावकै कारण आवश्यक औषधि, उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको छैन। यसले गर्दा आकस्मिक उद्धार गर्नुपर्ने बिरामीसँगै गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.