कैलालीका स्थानीय तहको बजेट : ६ महिनामा १५ प्रतिशत मात्रै खर्च
धनगढी : कैलालीका स्थानीय तहको पूँजीगत खर्च न्यून देखिएको छ । ६ महिनामा झण्डै १५ प्रतिशत बराबर मात्रै खर्च भएको हो । चालू आर्थिक वर्ष २०७६÷०७७ को ६ महिनामा १४ दशमलव ७८ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका अनुसार चालू भन्दा पुँजीगत बजेट झण्डै तेब्बरले कम खर्च भएको छ ।
जिल्लाका १३ वटा स्थानीय तहको कूल पूँजीगत बजेट ४ अर्ब ३८ करोड ७६ हजार मा ६४ करोड ७४ लाख ८८ हजार (१४ दशमलव ७८ प्रतिशत) खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी मदनराज पाण्डेयले जानकारी दिए ।
पूँजीगत बजेटमा १३ स्थानीय तहमा सबैभन्दा कम जोशीपुर गाउँपालिकाले खर्च गरेको छ भने बढी गौरीगंगा नगरपालिकाले गरेको हो । जोशीपुरको १४ करोड २० लाख १२ हजार बजेटमा ६७ लाख ८२ हजार (४ दशमलव ७८ प्रतिशत) रुपैयाँ खर्च गरेको छ । गौरीगंगा नगरपालिकाको ३५ करोड २४ लाख बजेटमा ७ करोड ९७ लाख ९० हजार (२२ दशमलव ६४) रुपैयाँ खर्च भएको छ ।
जिल्लाको एक मात्र उपमहानगर धनगढीले पूँजीगत खर्चको एक भाग पनि खर्च गर्न सकेको छैन । धनगढी उपमहानगरपालिकाको ८६ करोड ७० लाख ५५ हजार बजेटमा १२ करोड ३६ लाख २ हजार (१४ दशमलव २६ प्रतिशत ) रुपैयाँ मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यलय कैलालीले जानकारी दिएको छ ।
यसैगरी अर्को नगरपालिका गोदावरीको ४५ करोड ४ लाख ११ हजार बजेटमा ९ करोड ७२ लाख २९ हजार (२१ दशमलव ५९ प्रतिशत) रुपैयाँ खर्च गरेको छ । गोदावरी सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकेको स्थानीय तह हो।
घोडाघोडी नगरपालिकाको ३४ करोड ७१ लाख ९४ हजार पूँजीगत बजेटमा ६ करोड ८४ लाख ८३ हजार (१९ दशमलव ७२ प्रतिशत) रुपैयाँ खर्च भएको छ । जिल्लाको पूर्वे क्षेत्रमा पर्ने टीकापुर नगरपालिकाको ३२ करोड २४ लाख ७ हजार बजेटमा २ करोड ५७ लाख ८१ हजार (८ प्रतिशत) रुपैयाँ मात्र खर्च भएको देखिएको छ ।
त्यस्तैगरी भजनी नगरपालिकाको २५ करोड ९४ लाख ५० हजार बजेटमा ४ करोड ३८ लाख ९० हजार (१६ दशमलव ९२ प्रतिशत) रुपैयाँ खर्च भएको हो । लम्की-चुहा नगरपालिकाको ५५ करोड ६२ लाख ६१ हजार बजेटमा ८ करोड ६९ लाख ९० हजार (१४ दशमलव ५१ प्रतिशत) रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीको तथ्यांकमा उल्लेख गरिएको छ । कैलारी गाउँपालिकाको २० करोड ७८ लाख ३६ हजार पुँजिगत बजेटमा १८ करोड ९५ लाख ९ हजार (९ दशमलव १२ प्रतिशत) रुपैयाँ खर्च भएको देखिएको छ । बर्दगोरिया गाउपालिकाको १५ करोड २७ लाख ४२ हजार बजेटमा २ करोड २० लाख २६ हजार (१४ दशमलव ४२ प्रतिशत) रुपैयाँ खर्च भएको छ ।
जिल्लाको पहाडी स्थानीयतह चुरे गाउँपालिकाको १८ करोड ९३ लाख ४१ हजार बजेटमा ३ करोड ३५ लाख ६५ हजार (१७ दशमलव ७३ प्रतिशत) रुपैयाँ र मोहन्याल गाउँपालिकाको १९ करोड ७३ लाख ८४ हजार बजेटमा २ करोड ४४ लाख २४ हजार (१२ दशमलव ३७ प्रतिशत) रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जिल्लाका १३ वटै स्थानीय तहको चालु र पुँजीगत बजेट ९ अर्ब ४२ करोड ४ लाख ९६ हजार हो ।
अघिल्लो आर्थिक बर्षको भन्दा पनि कम खर्च भएको देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी महनराज पाण्डेयले बताए । 'अघिल्लो आर्थिक बर्षको ६ महिनामा २० प्रतिशत बढी खर्च गरिएको देखिएको छ,' उनले भने । 'यस वर्ष एकदम न्यून देखिएको छ ।'
स्थानीय तहको प्रतिनिधिले भने पूर्वाधार निर्माणका कार्य समापनपछि मात्र भुक्तानी हुने भएकाले पूँजीगत खर्च कम देखिएको बताएका छन् । 'विकास निर्माणका कार्य तीब्र रुपमा भइरहेका छन् । विकास योजनाको अन्तिम भुक्तानी नएकाले धेरै नदेखिएको हो,' धनगढी उपमहानगरपालिकाको मयर नृपबहादुर वडले भने।