मैले पहिल्यै ट्रयाक चेञ्ज गर्न खोजेको थिएँ : मन्त्री तुम्बाहाङ्फे (भिडियाे)
विराटनगर : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष टिकिरहने बताएकी छिन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने बताएकी हुन्।
‘यो धेरै वर्षदेखि गडेर बसेको हो, म खुलेर भन्छु, हामी पितृसत्ता हटाउने स्थानसम्म पुगेकै रहेनछौं’ उनले भनिन् ‘यसका लागि नेपालका हामी नेतृत्व मात्र नभई नागरिकमा चेतनाको विकास आवस्यक छ। पितृसत्ता संस्थापक रुपमा विकास भएकाले यसको प्रभाव महिलामा मात्रै नभई पुरुष र सिंगो समाजमा परेको छ।’
त्यस्तै उनले सामान्य नागरिकले समेत न्यायको महसुस र न्यायालयसम्म सजिलै पुग्ने वातावरण बनाउनु अब आफ्नो मुख्य भूमिका रहेन बताइन्। न्यायमा मात्र नभइ सबै क्षेत्रमा समान पहुँच सबैको पुग्ने वातावरण बनाउनु अहिलेको आवस्यकता रहेको उनको भनाइ छ।
नेतृत्वले पदच्यूत गरेको होइन
उपसभामुखबाट सभामुख हुन नसकि पदबाट राजीनामा दिनुलाई पाटीले पदच्यूत गरेको भनेर बुझ्न नहुने मन्त्री तुम्बाहाङ्फेको भनाइ छ। यही विषयलाई आधार बनाउँदै उनले महिला नेतृत्व अस्वीकार गर्ने पुरुषप्रधान समाजका कारण आफू सभामुख हुनबाट वञ्चित हुनेपरेको बताए पनि अहिले आफूले संविधानत राजीनामा दिएको प्रतिक्रिया दिइन्। ‘मैले राजीनामा दिनुलाई पाटीले पदच्यूत गरेको भनेर बुझ्नुभएन,’ उनले भनिन् ‘सत्तापक्षले मेरो सभामुख पद लिन्छु मेरो उम्मेदवारी यो हो भनेपछि संविधानत मैले राजीनामा दिएको हुँ।’
उनले आफूलाई पार्टीले अन्याय गरेको महसुस नभएको बताइन्। ‘मैले पहिले पनि ‘ट्याक चेञ्ज’ गरेर काम गर्छु भनेको थिएँ, मेरो बाटो परिवर्तन भयो अब म यो स्थानबाट समाज परिवर्तन गर्छु नागरिकको सेवा गर्छु।’