‘धुलो’ मा रिक्सावालाको पीडा
काठमाडौं : ‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म फागुन १६ बाट प्रदर्शनमा आउँदैछ। राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तविक जीवनशैली, सपना, संघर्ष र अवस्थाका विषयमा निर्माण गरिएको ‘धुलो’मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतको अभिनय छ। फिल्ममा नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवालाई विशेष भूमिकामा प्रस्तुत गरिएको छ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाबाट प्रेरित भएको बताए। उनले लामो समयको सञ्चार र फिल्मकर्मको अनुभव ‘धुलो’मा लगाएको बताए। अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभई यथार्थ जीवनकथामा बुनिएको बताए। अभिनेत्री सिर्जना सुब्बाले दर्शकले फिल्ममा आफूलाई महसुस गर्ने दाबी गरिन्।
निर्माता संघका अध्यक्ष अधिकारीले आफूले केही समयअघि नै ‘धुलो’ हेरिसकेको बताउँदै फिल्म राम्रो विषयवस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको सुनाए। उनले यो फिल्मले कलात्मक पाटो सजीव ढंगले प्रस्तुत गरेकाले सबैलाई एकपटक हेर्न अनुरोध गरे।
कार्यक्रममा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, ‘धुलो’का गीतकार केशव मि श्र, गायक युवराज चौलागाईं, प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सीके वाग्लेले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।
दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन्। केशव मि श्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रविन आचार्यले खिचेका हुन्। अर्जुन जीसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।