सीमामा कोरोना जाँच गरिने
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस जाँचका लागि सहायताकक्ष राखिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त सहायताकक्ष स्थापना गरेका हुन्।
झुलाघाट नाकाबाट भित्रिनेहरूको स्वास्थ्य परीक्षणका लागि सहायताकक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए। ‘भारतबाट स्वदेश फर्कने नेपालीमा कोरोनाको संक्रमण परीक्षण गर्न सीमामा सहायताकक्ष स्थापना गरेका हौं,’ उनले भने, ‘भारतबाट फर्किने सबैको सहायताकक्षमा स्वास्थ्य परीक्षण हुन्छ।’
नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायताकक्षमा २ जना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए। उनले भने, ‘कोरोना भाइरसको संक्रमणबारे सचेतना फैलाउन र भारतबाट आउनेको स्वास्थ्य परीक्षणका लागि हामीले सहायताकक्ष सञ्चालन गरेका हौं।’ भारतबाट फर्किनेहरूको इन्फ्रारेड थर्मामिटरले ज्वरो नाप्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। ‘सहायताकक्षमा ज्वरो मापनका साथै २ साता अघिसम्म चीन गए नगएको र रुघाखोकी लागे नलागेको सोधपुछ हुन्छ,’ उनले भने, ‘अत्यधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिए जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको छ।’
सहायताकक्षले भारतबाट फर्कनेहरूलाई पनि सजिलो हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले दाबी गरे। उनले भने, ‘कोही शंकास्पद बिरामी भए पत्ता लाग्छ। अन्यलाई म स्वस्थ्य छु भनेर थाहा पनि हुन्छ। कक्षले भारतबाट फर्कने नागरिकलाई सजिलो हुने हाम्रो विश्वास छ।’