सयौं सन्दर्भ
नारीका विविध जटिलता र असामान्य यथार्थहरूलाई नै बढी जोड दिइएका यी कथाले आजका नारीले नारीजीवनप्रति हेर्ने विश्वदृष्टिलाई प्रस्तुत गरेका छन्।
उमा सुवेदी समकालीन नेपाली आख्यानमा क्रियाशील स्रष्टा हुन्। ‘तोदा’ र ‘इति श्री’ उपन्यास हुँदै ‘सयौं पुतली’ कथासंग्रह गरी तीन आख्यान कृति निकालिसकेकी उनी पछिल्लो समय आख्यान लेखनमा आफ्नो पृथक् पहिचानका साथ सक्रिय छिन्। साहित्यका अन्य विधा हुँदै कथा लेखनमा उत्रिएकी उनको ‘सयौं पुतली’ पहिलो कथासंग्रह हो। यस कृतिका सत्रवटा कथामा उनले बाहिरी आँखाले हेर्दा सामान्यजस्ता देखिने तर असंगत र विद्रूप किसिमका गम्भीर यथार्थलाई उधिन्ने प्रयास गरेकी छन्। आफूले भोगेको समय र समाजका विविध विसंगतिहरूलाई लेखनको विषय बनाउन रुचाउने सुवेदीले यस संग्रहका कथाका माध्यमबाट सीमान्तीकृतहरूको आवाजलाई नै विशेष स्थान दिएकी छन्।
प्रस्तुत संग्रहका कथाहरू सामाजिक यथार्थमा नै केन्द्रित भएर लेखिए पनि ती परम्परित लेखनशैली र सोचभन्दा फरक देखिन्छन्। प्रस्तुत संग्रहका कथामा विशेष गरी विभिन्न किसिमबाट नारी पात्रका अन्तश्चेतना र अन्तर्पीडाको प्रस्तुतिलाई नै बढी जोड दिइएको छ। कथामा विविध चरित्र भएका नारी पात्र छन् र तिनकै जीवनसँग गाँसिएर आएका पुरुष पात्रहरू पनि छन्। यसरी आएका पुरुष पात्रहरू त्यति उदार र विवेकी देखिँदैनन्। समाजमा भएका जम्मै पुरुष पात्र असल र विवेकी हुने हो भने नारी पात्रहरू यसरी प्रताडित हुनुपर्ने थिएन भन्ने आशय यी कथाहरूले व्यक्त गरेका छन्। कथाकारले कथाका माध्यमबाट मानिसका विभिन्न किसिमका कमजोरी, विसंगत पक्ष र संवेदनहीनतालाई उजागर पार्ने प्रयास गरेकी छन्।
‘सयौं पुतली’ कृतिका कथाले आजको नेपाली समाज र समयको चित्र उतारेका छन्। समयको चित्र देख्न चेतना चाहिन्छ। त्यही चेतनाले देखेको यथार्थको विद्रूपतालाई आलोचकीय रूपबाट यी कथामा देखाइएको छ। प्रस्तुत संग्रहका अधिकांश कथामा नारी जीवनकै जटिलता र दुर्दान्त भोगाइहरूलाई नै कथानक बनाइएका छन्। यीमध्ये ‘उर्दी’ र ‘ढाड’ शीर्षकका दुई कथा नारी चेतना प्रस्तुत गरिएका सबल कथा हुन्। प्रेमका नाममा र विवाहका नाममा पुरुषप्रति सम्पूर्ण रूपमा समर्पित हुनुपर्ने, उसले चाहेको जस्तै बन्नुपर्ने, उसका तिरस्कार र मनोमानीलाई पनि विवश भएर सहनुपर्ने जस्ता बाध्यताको पर्खाललाई यी कथाका नारी पात्रहरूले भत्काएका छन् र पराधीनता र परा िश्रततालाई अस्वीकार गरेका छन्। यी कथाले आजको बदलिँदो समाज र नारीचेतनालाई प्रस्तुत गरेका छन्।
‘बेलुन’, ‘हँसिया’जस्ता कथामा पुरुषको विकृत मानसिकता र क्रूर व्यवहारको चित्रण गरिएको छ। नारी हिंसाको चरम रूपलाई प्रस्तुत गरिएका यी कथामा पुरुषप्रतिको विश्वासमा संकट आएको र उनीहरूमा मानवीय संवेदना हराउँदै गएको सन्दर्भलाई देखाइएको छ। यसैगरी ‘सयौं पुतली’, ‘माया दिदी’जस्ता कथाले सम्झौता र विवशतामा जिउन बाध्य नारीहरूको दयनीय अवस्थालाई प्रतिनिधित्व गरेको छ। यस्ता कथाहरूले युगौंदेखि स्वतन्त्रता र पहिचानबिना पराधीन भई दासतामा बाँचिरहेका नारीको जीवन भोगाइलाई देखाउँदै यस्तो अवस्थाबाट मुक्त हुनुपर्ने भाव व्यक्त गरिएको छ। यसका साथै केही कथामा नारीका कमीकमजोरी र उनीहरूका दुर्बल पक्षलाई पनि देखाइएको छ।
यसैगरी कथामा अन्य सन्दर्भहरू पनि आएका छन्। वैदेशिक रोजगारी र यसले आजको नेपाली समाजमा पारेको सकारात्मक तथा नकारात्मक प्रभाव, गरिबीका कारण दयनीय जीवन बिताउन बाध्य भुइँमान्छेहरूका वेदना, विभेद र अन्यायमा परेका पात्रहरूको कथा, दण्डहीनताका कारण देशमा बढ्दै गएको हत्या, हिंसा र बलात्कारको घटनाप्रति राज्यको उदासीनता, आजको राजनीतिक क्षेत्रमा देखिएका विकृत पक्षहरूको सन्दर्भ जस्ता धेरै विषयले कथामा प्रवेश पाएका छन्। केही कथामा दाम्पत्य जीवनमा आउने उतारचढाव र यसका कारणहरूलाई पनि फरक किसिमबाट प्रस्तुत गरिएको छ।
लेखकलाई जुन कुराले भित्रैदेखि छुन्छ, त्यसप्रति समभाव उत्पन्न हुन्छ र जुन कुरामा भुक्तभोगी र जानकार हुन्छ उसले तिनै विषयलाई नै आधार बनाएर लेख्छ। कथाकार सुवेदीले पनि आफूलाई छोएर गएको आफ्नो समयका यस्तै विषय र सन्दर्भहरूलाई आधार बनाएर कथा लेखेकी छन्। मानवीयताको पक्षमा संवेदनशील भएर लेखिएका यी कथाहरूमा विभिन्न विम्ब र प्रतीकका माध्यमबाट मानिसको जटिल बन्दै गएको जीवनशैली र आजको समाजको चित्र उतार्ने प्रयास गरिएको छ। केही कथामा सामान्यजस्ता लाग्ने घटनालाई पनि विषयवस्तु बनाइएका छन् तर ती घटना वा दृश्यहरूलाई आममानिस र समाजले जसरी सामान्य रूपमा लिएका छन् वास्तवमा ती सामान्य नभएर गम्भीर मुद्दा हुन् र विकृति र विसंगतिका स्रोत हुन् भन्ने सन्देश ती कथाहरूमा दिइएका छन्। परिवेशगत विविधता नभए पनि अन्तर्वस्तुगत विविधताले संग्रहका कथालाई रोचक बनाएका छन्।
नारी र पुरुषका बीचको सम्बन्धका विविध आयामका साथै यी सम्बन्धमा हुने आकर्षण र विकर्षणका घटनालाई पनि कथामा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। खासगरी दाम्पत्य जीवनमा आउने तिक्तता र दुर्घटनालाई देखाई केही कथामा यसका मनोवैज्ञानिक कारणहरूको संकेत गरिएको छ भने असामान्य पात्रको मनोविज्ञानलाई पनि केही कथामा प्रस्तुत गरिएको छ। वर्तमान नेपाली समाजमा घटेका विभिन्न घटना र जीवनसँग ठोक्किन आएका विभिन्न पात्रलाई सूक्ष्म रूपमा अवलोकन गरी लेखिएका यी कथाका आधारमा कथाकार उमा सुवेदी एक संवेदनशील र प्रभावशाली कथाकार हुन् भन्ने कुरा स्पष्ट हुन्छ।
प्रस्तुत संग्रहका अधिकांश कथाले समसामयिक विषयवस्तुलाई प्रस्तुत गरेका छन्। नेपालको पूर्वी तराईको परिवेशको विम्ब आउने यी कथाहरू विषय र शैलीका दृष्टिले सबै उत्तिकै सबल र शक्तिशाली भने देखिँदैनन्। केही कथा अपेक्षाकृत लामो देखिन्छन् भने एकाध कथाले विषयवस्तुको परिपाकको अपेक्षा गर्छन्। यी कथाहरू वास्तवमा कथा मात्र नभएर आजको सचेत नारीले समाजमा घटेका घटना तथा देखिएका विषम परिस्थितिहरूलाई कुन रूपमा लिएका छन् र कसरी बुझेका छन् भन्ने कुराको दस्तावेज पनि हो। पितृसत्तात्मक सामन्ती सोच नै सभ्य र समतामूलक समाजको व्यवधान भएको उदाहरण प्रस्तुत गर्दै समाज बदल्नुभन्दा पनि समाजका मान्छेहरूको सोच बदल्नु जरुरी भएको निष्कर्ष यी कथाहरूले निकालेका छन्। समग्रमा विषयको प्रस्तुति र लेखन शैलीमा समेत केही नयाँपन दिन खोजिएको यस संग्रहका कथा सरल, रोचक र प्रभावी छन्। विषयको विविधता हुँदाहँुदै पनि नारीका जीवनका विविध किसिमका जटिलता र असामान्य यथार्थहरूलाई नै बढी जोड दिइएका यी कथाले आजका नारीले नारीजीवनप्रति हेर्ने विश्वदृष्टिलाई प्रस्तुत गरेका छन्।