सन्तानलाई आमा चिनाउने सशक्त फिल्म
काठमाडौं : एउटी नारीलाई सन्तानको चाहना छ तर उनको सन्तान भइरहेको छैन। अर्की आमा बुढेसकालमा छोराछोरीसँगै बस्ने, रमाउने रहर छ, तर उनको छोरा अमेरिकातिरै भास्सिएको छ। कागज, वकिल र घरको ऋणकै वरिपरि अल्मलिएको छ। बावुको मृत्यु हुँदा पनि ऊ घर आउँदैन। तेस्री आमाले घर परिवार छाडेर अन्तरजातीय विवाह गरेकी छ। धन कमाउने आसमा श्रीमान् खाडीतिर छ। यिनै तीन आमा वरिपरि घुमेछ चलचित्र ‘आमा’।
दीपेन्द्र के खनालको लेखन निर्देशन र छायांकन रहेको चलचित्र आमा यतिबेला प्रदर्शनमा छ। फिल्मको निर्माण शर्मिला पाण्डेले लिएकी छन्। दर्शकको माया र बटुल्न सफल आमाले चौतर्फी तारिफ बटुलेको छ। फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला, देशभक्त खनाल, लक्ष्मी भुसाल, अशान्त शर्मालगायतका कलाकारको उत्कृष्ट अभिनय छ।
झमझम पानी परेको रातमा भर्याङबाट लडेर घाइते हुन्छन् देशभक्त। उनलाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याउँदै गरेको कारुणिक दृश्यबाट फिल्म सुरु हुन्छ। पूरै फिल्म जुरुक्कै बोक्ने आमाको भूमिकामा छिन् मिथिला शर्मा। सहरमा श्रीमान्सँग बस्दै आएकी उनकी छोरी आरतीको भूमिकामा छिन् सुरक्षा।
फिल्मले हामीले बाँचिरहेको समाजको चित्रण गरेको छ। निजी अस्पतालले उपचारको नाममा कसरी बिरामी र आफन्त ठग्छन् भन्ने यथार्थ देख्दा फिल्म हेरेको नभएर आफैंले समस्या भोगिरहेको आभास हुन्छ।
एकातिर डाक्टरको रुखो व्यवहार, औषधि पसलेको नमिठो वचन, अस्पतालका कर्मचारीको अशिष्ट बोली, पैसामा चल्ने डाक्टर, प्रशासकीय हाकिमको निर्दयी व्यवहार देख्दा फिल्म हेर्दै गरेका दर्शकको मन कटक्क खान्छ।
वैदेशिक रोजगारी आजको तीतो यथार्थ हो। गाउँदेखि सहरसम्म हरेक घरमा कोही न कोही वैदेशिक रोजगारीमा देशबाहिर छन्। उनीहरूकै भरमा चल्छ नेपालमा बस्ने परिवारको दैनिकी। देशको अर्थतन्त्रको ठूलो हिस्सा बोक्छ विदेशबाट आउने रेमिट्यान्सले। रेमिन्ट्यान्स पछाडि लुकेको पीडा फिल्मले सर्लक्क उतारेको छ।
विदेशमा हुनेहरू प्रत्यक्ष फिल्ममा देखिएका छैनन् पृष्ठभूमिमा उनीहरूको आवाज मात्र सुनिन्छ। घर आउन नपाएको पीडा देखिन्छ। छोरा जन्माएकी श्रीमती स्याहार्न नपाएको गुनासो भेटिन्छ त बुवाको शरीरमा दागबत्ती दिन नपाएको पश्चाताप सुनिन्छ। विदेशबाट आफन्तलाई पटकपटक फोन गरिरहने पात्र बोल्दाबोल्दै भक्कानिन्छ। यसले दर्शकलाई विदेशको कहर बुझाउँछ।
युवा विदेशपछि बूढाबूढी मात्रै बाँकी रहेको समाजको कथा हो आमा। सहरको महँगो अस्पतालमा बिरामी भर्ना गरेर सञ्चो हुने आसमा पर्खिरहेका आफन्तको कहानी हो आमा।
समाजमा जरो गाडेर बसेको पितृसत्तात्मक मनोविज्ञानलाई निर्देशक खनालले मिथिला शर्मामार्फत उजागर गरेका छन्। छोरीको सहयोग भइरहँदा पनि उनी पटकपटक छोरा खोजी रहन्छिन्। आफ्नो घरका समस्या थाँती राखेर बुवाको उपचारमा दिनरात खटिइरहेकी छिन् आरती। श्रीमान् र परिवारले सन्तानको चाहना राखिरहेका हुन्छन् तर उसको सन्तान भएको छैन। यसमाथि बुवाको सम्पूर्ण जिम्मेवारी उसको टाउकोमा छ। विदेशमा रहेको दाजुले उपचारका लागि केही रकम सहयोग गर्छन् तर आउन सक्दैनन्। पैसाको अभावमा अस्पतालको शवगृहमा सडिरहेको लास उठाउन उसले हरसम्भव प्रयास गरेकी छ। उसको अभिनयमा दर्शकले छोरीको माया, जिम्मेवारी र शक्ति बुझ्न सक्छन्। आमाबुवालाई दागबत्ती दिने, किरिया गर्नेलगायतका हरेक जिम्मेवारी पूरा गर्न छोरीहरू सक्षम छन् भन्ने सन्देश दिन्छ फिल्मले।
फिल्मको धेरैजसो दृश्य पानी परिरहेको समयमा खिचिएको छ। पानीमा भिज्दै औषधि पसलतिर दौडिरहेको, रेनकोट ओटेर अस्पताल र घर गर्दै गरेका दृश्य जीवन्त लाग्छ। हलभित्र पस्दै फिल्मभन्दा पनि कहीँ कतै सत्यकथा हेरेजस्तो अनुभव हुन्छ। फिल्मले कारुणिक संवेदनालाई मज्जाले पस्किएको छ। सुरक्षासँगै सुत्केरी अवस्थामा रहेकी आमाको भूमिका निर्वाह गरेकी सरिताको अभिनय अब्बल लाग्छ।
आफ्नो जिम्मेवारी र आमाबुवासँगको सम्बन्धबारे हरेक दर्शकलाई सोच्न बाध्य बनाउँछ फिल्मले। कामको सिलसिलामा आमाबुवासँगको अपनत्व कतै छुटिरहेको हुन सक्छ, चाहँदाचाहँदै उहाँहरूलाई सुन्न र बुझ्न समय नपाइरहेका हुन्छौं हामी। फिल्म हेर्दै गर्दा हरेकले पटकपटक आमाबुवालाई सम्झन्छ। उहाँहरूप्रति आफूले गरेको व्यवहार सम्झाउँछ। यो फिल्मको सशक्त पक्ष हो। दर्शकको ध्यान भड्किन नदिनु खनालको निर्देशकीय खुबी हो। फिल्मले सबै वर्गका दर्शकलाई समेट्छ। समग्रमा एउटा छुटाउन नहुने फिल्म बनेको छ ‘आमा’।