दोस्रो रामेछाप महोत्सव : कलाकारले ताने दर्शक

दोस्रो रामेछाप महोत्सव : कलाकारले ताने दर्शक

काठमाडौं : मन्थलीमा जारी दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवमा करिब साढे २३ हजारले अवलोकन गरेका छन्। नेपाल भ्रमण वर्ष २०२० र जिल्लाको व्यापार, व्यवसायलाई लक्षित गरी आयोजना गरिएको महोत्सवको आज अन्तिम दिन भएकाले दर्शक बढ्ने रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए।  

महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउनुका साथै जिल्लाभित्रका विभिन्न कृषि उपज, साना उद्योगीद्धारा उत्पादित वस्तु प्रदर्शनमा सहयोग पुगेको रामेछाप उद्योग वाणिज्य संघका सचिव उदासले बताए। 

महोत्सवको मुख्य आकर्षणको रुपमा हस्तकलाका सामग्री प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारबाट बृहत सांस्कृतिक कार्यक्रम रहेको कार्यक्रम संयोजक एवंम् सामाजिक सशक्तिकरण नेपालका अध्यक्ष सोनुकुमार रोकाले जानकारी दिए। ७० भन्दा बढी स्टलमा रामेछापलगायत अन्य क्षेत्रमा उत्पादन भएका विभिन्न सामग्री राखिएको उनले बताए।

महोत्सवमा कृषि उपज र स्थानीय उत्पादनका स्टल भने कम देखिएको दर्शकले बताएका छन्। रामेछापमा यो मौसममा स्थानीय उत्पादन अभाव भएकाले स्टल कम भएको रोका स्विकार्छन्। ‘रामेछापमा यो सिजनमा उत्पादन हुने कृषि सामाग्री राखिएको छ’ उनले भने ‘अहिलेको अनुभवलाई समेटेर आगामी दिनमा जिल्लामा धेरै कृषि उत्पादन हुने समयमा पारेर महोत्सव गर्दा राम्रो हुने देखियो।’ उनले घरेलु उद्योग र कृषि ज्ञान केन्द्रले सोचेजति स्टल नल्याइँदिदा पनि महोत्सवमा कृषिजन्य सामाग्री कम देखिएको बताए। 

कलाकारले ताने दर्शक

हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई आकर्षक बनाएको छ। अन्य समयमा भन्दा सांस्कृतिक कार्यक्रमको समयमा भने दर्शकको संख्या उल्लेख्य देखिन्छ। बजारबाट नजिकै रहेकाले कार्यालय समय सकिएपछि साँझबाट महोत्सवस्थलमा दर्शक भीड बढ्दै जाने गरेको छ।

विशेषगरी सांस्कृतिक कार्यक्रममा दुर्गेश थापा, ज्योति मगर, रोज मोक्तान, रामकुमार नेपाली, प्रताप दास, प्रिति आले, राजनराज शिवाकोटी, राजा राजेन्द्र पोखरेललगायत राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिएको कार्यक्रम संयोजक रोकाले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । ‘टिकट काटेर शुक्रबारसम्म करिब साढे २३ हजार दर्शकले अवलोकन गरे’उनले भने, ‘उद्घाटनको दिन टिकटको व्यवस्था थिएन। अन्य दिनपनि रातिसम्म कार्यक्रम भएकाले भीडमा विभिन्न स्थानबाट महोत्सवमा प्रवेश गरी करिब ४० हजारले अवलोकन गरिसकेका छन्।’

तामाकोसी नदीमा र्‍याफ्टिङ 

दोस्रो रामेछाप महोत्सवको अवसरमा तामाकोसी नदीमा शनिबारबाट र्‍याफ्टिङ सञ्चालन भएको छ। पर्यटकीय क्षेत्रको विकास र प्रर्बद्धनका लागि तामाकोशी नदीमा र्‍याफ्टीङले सुरु गरिएको हो। किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले लिखुतामाकोसीको हलेदेदेखि मन्थली विमानस्थलसम्म सेवा सञ्चालन गरेको हो। र्‍याफ्टिङमा जिल्ला भित्र तथा बाहिरका धेरैले मनोरञ्जन लिए।

महोत्सवको अवसरमा र्‍याफ्टिङमा रमाउनका लागि राजनीतिक दलका संघ संस्था एवंम पर्यटकहरु समूह-समूह बनाएर रमाउन पुगेका हुन्। र्‍याफ्टिङ गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएकोमा उक्त शुल्क भने परिमार्जन गर्नेपर्ने उनीहरुको भनाइ छ। स्थानीय विमल पौडेलले पर्यटन प्रवर्द्धन गर्न तामाकोसीमा संचालित र्‍याफ्टिङले सबैको ध्यान खिचेको बताए। ‘र्‍याफ्टिङ सबैभन्दा रमाइलो लाग्यो, हाल तोकिएको शुल्क महङ्गो भएकाले घटाउनु गर्नुपर्छ।’ उनले भने, ‘मन्थलीमा गर्मी अत्याधिक हुने भएकाले नियमित संचालन भए पर्यटनको संख्यामा बृद्धि हुन्छ।’

महोत्सवमा जिल्लाका पर्यटकीय गन्तव्यको प्रबर्द्धनको विषय भने ओझेलमा परेको छ। पर्यटन प्रबर्द्धन गर्न हेलिकप्टरबाट मन्थली-शैलुङ उडान गर्ने कार्यक्रम तय भएपनि मौसम अनुकुल नभएपछि प्रभावकारी बन्न सकेन। महोत्सवमा जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार प्रसार पनि प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।

‘कृषि, पर्यटन प्रवर्द्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’भन्ने मूल नाराका साथ फागुन ६ गतेदेखि महोत्सव संचालन भएको हो। महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख आतिथ्यतामा समापन हुनेछ।

रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह-आयोजक रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.