अस्पतालमा बच्चा जन्माए ५ हजार भत्ता
ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच र प्रसूति गराउनेलाई प्रसूति भत्ता दिन थालेको छ। नियमित स्वास्थ्य जाँच गराइ स्वास्थ्य संस्थामै प्रसूति गराउनेलाई पाँच हजार रुपैयाँ भत्ता दिन थालेको हो।
गाउँपालिकाभित्रका गर्भवतीले चारपटक गर्भ जाँच गराइ प्रसूति पनि स्वास्थ्य संस्थामै भएमा त्यस्तो रकम पाउने गाउँपालिकाका उपाध्यक्ष सविता राईले बताइन्। सरकारले पनि नियमित गर्भ जाँच गराई स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई यातायात तथा पोषण खर्च उपलब्ध गराउँदै आएको छ। त्यस्तो सुविधा न्यून भएकाले पाँच हजार दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ जाँच तथा सुत्केरी गराएका ३२ जनालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ दिएर कोशेली भेट गरिएको उपाध्यक्ष राईले बताइन्। बजेट निकासा ढिला हुँदा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ल्याइएको सुत्केरी भेट कार्यक्रम बल्ल कार्यन्वयनमा आएको उनको भनाइ छ।
‘कोसेली भेटको उद्देश्य गर्भ जाँच र स्वास्थ्य संस्था मै सुत्केरी गराउनलाई प्रोत्साह गर्र्नु भए पनि विगतमा प्रदान गरेको एक हजार रकम थोरै भएकोले यसलाई बढाएर ५ हजार पुर्याइएको हो’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले भने।
गाउँपालिकाले २०७६÷०७७ मा स्वास्थ्यतर्फको बजेट सुत्केरी कोसेली भेट शीर्षकमा ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। आमा र बच्चाको सुरक्षाका लागि रकम बढाइएको हो। बढाइएको प्रोत्साहन रकमले माृतशिशु मृत्युदरमा कमी आउने स्थानीय शिक्षक दिपकबहादुर राईले बताए।