कमलाको कमाल
प्यूठान : टेलिभिजनको लाइभ दोहोरी कार्यक्रमबाट उदाएकी धादिङकी कमला घिमिरेलाई अहिले स्टेज कार्यक्रममा प्रस्तुति दिन भ्याइनभ्याइ छ। ११ वर्षकै उमेरमा यति धेरै दर्शकले पछ्याउने कमला नेपालमा सम्भवतः पहिलो कलाकार हुन्। लाइभ दोहोरी गाएर दर्शकलाई चकित पार्न सक्ने क्षमताका कारण उनी वाहवाही भएकी हुन्।
प्रतिभा देखाउने सिलसिलामा उनी बिजुवारमा जारी स्वर्गद्वारी चौथो प्यूठान महोत्सवमा आइपुगिन्। कमला आउने खबरले प्यूठानका गाउँगाउँबाट दर्शक महोत्सवमा ओइरिए। बिहीबार आधा दर्जन कलाकारको प्रस्तुति भए पनि धेरैजसो दर्शक उनै कमलाको प्रतिभा सुन्न आतुर देखिन्थे। फागुन ८ देखि जारी महोत्सवमा सबैभन्दा धेरै दर्शक कमला आउने दिन नै ओइरिए।
‘चिया छानेको, बोलीले हँसाउन कत्ति जानेको’ उनले गाएको गीत सबैजसो दर्शकको मनमा बसेको छ। महोत्सव स्थलमा भेटिने सबैले कमलाले गाएको ‘चिया छानेको’ सुन्न आएको भन्ने भेटिन्थे। यति सानै उमेरमा हजारौं दर्शकका अगाडि नाम चलेका कलाकारसँग लाइभ दोहोरी गाउन सक्ने ‘विलक्षण’ क्षमताकी कमला प्यूठानीको मनमा बसिन्। स्टेजमा प्रस्तुति राख्दा उनलाई कैद नगर्ने कमै हुन्थे।
‘जिन्दगी गर्ने खाने, मर्ने जाने हो, किन लिन्छौ पिरलो’, उनले गाएको यो गीत पनि धेरैले मन पराए। लोकगायक कृष्ण रेउलेसँग कमलाले लाइभ दोहोरी गाइन्, ‘चिया छानेको’ भाकामा। गायक रेउलेसँग पनि कमजोर भइनन्। छिनभरमै फर्काइहाल्नुपर्ने दोहोरीमा उनी मीठामीठा शब्दले टुक्का जुराउँथिन्। टेलिभिजन कार्यक्रममा मात्र होइन; उनी हजारौं, लाखौं दर्शकका माझमा पनि लाइभ दोहोरी गाउन सक्ने भएकी छन्।
कला क्षेत्रमै समय बिताउँदा कतै उनको पढाइ त बिग्रने होइन ? भन्नेमा धेरै दर्शकले चिन्ता व्यक्त गर्थे। तर कमलाले गायक कृष्ण रेउलेसँगको दोहोरीमा आफूले पढाइसँगै प्रतिभा अगाडि बढाएको बताउँथिन्। गीतकै टुक्कामा रेउलेले भने, ‘गाउँदै हिँड्छे स्कुल नि जान्न, जिरो आउँछ यसपालि परीक्षामा माक्स आउन्न, चिया छानेको बोलीले हँसाउन कत्ति जानेको।’ प्रतिउत्तरमा उनले भनिन्, ‘दोहोरी गाउँदै पढ्न नि भ्याइदिन्छु, विज्ञानमा नि मैले नाइन्टी फाइप ल्याइदिन्छु, चिया छानेको बोलीले हँसाउन कत्ति जानेको।’
बुवा कल्याणप्रसाद घिमिरे र आफूले पढ्ने विद्यालयका शिक्षकको सहारामा उनी प्यूठान आइकी हुन्। सल्यान, पाल्पा हुँदै कमला प्रस्तुति देखाउन प्यूठान आइपुगेकी हुन्।