दुई लाख लाइसेन्स वितरण

दुई लाख लाइसेन्स वितरण

काठमाडौं : यातायात व्यवस्था विभागले करिब दुई लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) प्रिन्ट गरी वितरण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको सय दिन पूरा भएपछि मन्त्री वसन्तकुमार नेम्वाङले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

यो अवधिमा सुदूरपिश्चम तथा कर्णाली प्रदेशभित्रका सबै सेवाग्राहीलाई लाइसेन्स वितरण गरी ब्यागलग नराखिएको उनले बताए। यातायात व्यवस्था विभागका अनुसार मुलुकभर करिब ६ लाखका लाइसेन्स ब्यागलगमा छन्। तीनलाई पनि क्रमिक रूपमा घटाउँदै लैजाने योजना अनुसार सार्वजनिक विदाको दिनमा दुई सत्र र अन्य दिनमा तीन सत्रमा लाइसेन्स छपाई भइरहेको छ। मास प्रिन्टरबाट दैनिक ४ देखि ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भइरहेको छ।

मन्त्री नेम्वाङले काठमाडौं उपत्यकालाई खाल्डा–खुल्डी र धुलोरहित बनाउने योजनामा उल्लेखनीय सफलता मिलेको दाबी गरेको छ। उनले मन्त्रालयको बागडोर सम्हालेदेखि उपत्यकाका २३ हजार ३०० वर्गमिटर (९५००) खाल्डा–खुल्डी पुर्न सफल भएको बताए।

उक्त अवधिमा उपत्यकाभित्र करिब २७ किमि सडकमा कालोपत्रे कार्य (आवधिक मर्मतसमेत) सम्पन्न भएको छ। ‘१०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोको कारण उल्लेखनीय मात्रामा कालोपत्रेको कार्य हुन नसके पनि प्राप्त भएको प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ’, उनले भने। चालु आवमा उपत्यकामा थप ८५ किमि सडक कालोपत्रे गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ।

कोटेश्वर–जडीबुटी सडक खण्डको ट्राफिक चापलाई व्यवस्थापन गर्न अल्पकालीन समाधानको रूपमा हालको सडकलाई चौडा गर्न लागिएको उनले उल्लेख गरे। थप सडक लेन निर्माण गर्ने निर्णय भएसँगै दक्षिणतर्फको जग्गा प्राप्ति भइसकेको र उत्तरतर्फको जग्गा अधिग्रहण प्रक्रिया चालु रहेको जानकारी दिए।

कोटेश्वर–कलंकी सडक खण्डअन्तर्गत ग्वार्को चोक, सातदोबाटो र नख्खु चोकमा फ्लाई ओभर निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका निम्ति परामर्शदाता कम्पनी छनोटको काम भइरहेको छ।

उनको प्रगति विवरणमा सूर्यविनायक धुलिखेल सडक विस्तार गर्न र कोटेश्वर जडीबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रूपमा समाधान गर्न फ्लाई ओभर वा अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको उल्लेख छ। चक्रपथ विस्तारको दोस्रो खण्डको रूपमा कलंकी–महराजगन्ज खण्डको साइट क्लियरको काम भइरहेको छ। चक्रपथकै तीनकुने–एयरपोर्ट–तिलगंगा खण्डलाई ८ लेनमा सरकारले नै विस्तार गर्ने गरी डीपीआर तयार गरिएको उनले बताए।

राष्ट्रिय गौरवका आयोजनामा समेटिएकामध्य पहाडी राजमार्गमा १८ किमि कालोपत्रे र ६ वटा पुल निर्माण भएको छ। हुलाकी सडक योजनामा ४८ किमि कालोपत्रे र ५ वटा पुल निर्माण भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.