प्रार्थना सभा खुला ठाउँमा
भाइबहिनी हो ! तिमीहरू घाममा कत्तिको खेल्छौ ? हाम्रो स्वास्थ्यका लागि घाम निकै आवश्यक छ। विद्यालयमा प्रार्थना सभा नगराइने वा त्यसमा उपस्थित हुन नसक्दा र कक्षाकोठामै धेरै बसिरहँदा शरीरमा विभिन्न रोगले च्याप्न सक्छ।
हाम्रो शरीर तन्दुरुस्त राख्न आवश्यक पर्ने तत्त्वहरू पाउन घाममा बस्नु र खेल्नु आवश्यक छ। भिटामिन डीको सबैभन्दा राम्रो स्रोत सूर्यको किरण हो। घामबाट हामीले भिटामिन डी पाउँछौं।
विदेशतिर मानिस समुद्रको तीरमा गएर बस्छन्। त्यहाँ उनीहरू सूर्यको प्रकाश ग्रहण गर्छन्। यसलाई सूर्य स्नान (सन बाथ) भनिन्छ। यसरी उनीहरूले शरीरमा भिटामिन डीको परिपूर्ति गर्छन्।
हाम्रो देशमा पनि बिहान नुहाएपछि सूर्यलाई नमस्कार गर्ने र अघ्र्य दिने गर्थे। यसबाट भिटामिन डी पाउँथे। बदलिँदो जीवनशैलीका कारण घाममा नहिँड्ने व्यक्तिमा लगातार भिटामिन डीको कमी हुन थालेको छ। सहरीकरण बढेपछि खुला ठाउँ कम हुन थाल्यो। मानिसको शरीरमा प्रत्यक्ष रूपमा सूर्यको किरण पर्न छाड्यो। यसबाट भिटामिन डी शरीरमा आवश्यक मात्रामा पुग्न सकेन। थोरै ठाउँमा मानिसले घर बनाउन थाले। खुला ठाउँ अभाव हुन थाले। कतिपय बालबालिका बस वा मोटर चढेर विद्यालय पुग्छन्। विद्यालयबाट फर्कंदा पनि त्यसैगरी फर्कन्छन्। उनीहरूको शरीरमा सूर्यको किरण पर्दैन। विद्यालयमा प्रार्थना र खेलकुद पनि हलमै हुन थालेका छन्। त्यस्ता विद्यार्थीमा भिटामिन डीको अत्यधिक अभाव हुनु स्वाभाविकै हो।
अहिले सहरमा अग्ला घर बन्न थालेका छन्। जसले गर्दा घाम लाग्ने ठाउँ छैन। विद्यार्थीलाई विद्यालय जाँदा यिनै ठूला घरको गल्लीबाट घाम नलाग्ने ठाउँ हुँदै जानुपर्छ। घरमै बस्दा पनि वरिपरिका घरबाट देखिन्छ भनेर झ्यालमा पर्दा लगाउनु पर्ने अवस्था छ। अहिलेका विद्यार्थी छतमा घाम ताप्नुभन्दा मोबाइल चलाएर कोठामा बस्न रमाउने कारणले पनि शरीरमा भिटामीन डी कमीजस्ता रोग लाग्ने सम्भावना बढेको विश्व निकेतन स्कुलका प्रिन्सिपल हेरम्ब कँडेलले बताए। त्यसैगरी विद्यालय बनाउँदा वा घरको खोजी गर्दा पनि बिहानको प्रार्थना सभा गर्न पुग्ने फराकिलो ठाउँलाई ध्यानमा राखेर खोज्नुपर्ने उनको धारणा छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मानव शरीरमा यसको निश्चित मापदण्ड तोकेको छ। १० युनिटसम्मलाई कुपोषण, १० देखि ३० युनिटसम्मलाई अपर्याप्त र ३० देखि १०० युनिटसम्मलाई पर्याप्त मानिन्छ। नेपालका किशोरकिशोरीमा यो विश्व स्वास्थ्य संगठनले तोकेको मात्राभन्दा कम पाइएको छ।
न्युरो एवं फिजियोथेरापी विशेषज्ञ नोर्बु शेर्पा भन्छन्, ‘भिटामिन डीको कमी भएर आउने बिरामी लगातार बढ्दैछन्। काठमाडौंजस्ता ठूला सहरमा यो ठूलो समस्याका रूपमा देखा पर्दैछ।’ आफूकहाँ आउने बालबालिका एवं किशोरकिशोरीमा पनि भिटामिन डीको कमी प्रशस्त देखिएको उनले बताए। त्यस्ता बालबालिकाले ढाड दुख्ने, जोर्नी दुख्ने, कम्मर दुख्ने समस्या भएको भन्दै गुनासो गर्ने गरेका उनले सुनाए। उनी आफू सानो छँदा प्रशस्त खुला ठाउँ रहेको र त्यहाँ खेल्दा भिटामिन डी पाइने स्मरण गर्छन्। तर अचेल खुला ठाउँको अभावले गर्दा बालबालिकाले यो अवसर नपाउने कारणले रोग पनि बढ्दै गएको उनले बताए।
सहरी क्षेत्रका अधिकांश बालबालिकामा भिटामिन डीको कमी देखिन थालेको छ। यसले गर्दा विभिन्न समस्या देखा पर्न थालेका छन्। सूर्योदयदेखि दुई घण्टासम्मको सूर्यको किरण भिटामिन डीको लागि सर्वोत्तम मानिन्छ।
भिटामिन डीको अभावमा जतिखेर पनि थकाइ लाग्ने हुन्छ। त्यस्ता मानिसमा तन्दुरुस्ती हुँदैन। उनीहरू जतिखेर पनि थाकेका जस्ता देखिन्छन्। उनीहरूमा कुनै उत्साह हुँदैन। त्यस्ता बालबालिकाले नयाँ कुरा सिक्न सक्दैनन्।
उनीहरूमा छिटै थाक्ने, जोर्नी दुख्ने, गोडा सुन्निने, मांसपेशीमा कमजोरी देखिने हुन थाल्छ।
डीको कमीले शरीरमा क्याल्सियमको पूर्ति हुन गाह्रो पर्छ। यसबाट हड्डीको विकास पूर्ण रूपमा हुन सक्दैन। मांसपेशी र हड्डी कमजोर हुन्छन् भने हड्डी टुक्रिने डर हुन्छ।
भिटामिन डीले शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउन थप सहयोग गर्छ। भिटामिन डीको कमीबाट श्वास र दम रोगमा शरीरको प्रतिरोधक क्षमता पनि कमजोर हुन्छ। उनीहरूलाई सामान्य रुघाखोकीले दुःख दिन थाल्छ।
शरीरमा यसको अभावमा कपाल झर्ने र डिप्रेसन हुने डर हुन्छ। उच्च रक्तचापको खतरा रहन्छ।
भावी पुस्तामा यस्ता समस्या देखा पर्न थालेको भन्दै विभिन्न देशले आ–आफ्नो तयारी गर्न थालेका छन्। हाम्रो छिमेकी देश भारतले पनि भिटामिन डीको कमीले ठूलो समस्या लिएको भन्दै नयाँ व्यवस्था लागू गरेको छ। भिटामिन डीको अभावमा रोगी पुस्ता तयार भएको र यस्तो पुस्ता भविष्यका लागि चिन्ताजनक हुने भन्दै केन्द्र सरकारले देशभर प्रार्थना खुला ठाउँमा गराउन सुझाव दिएको छ। भारतीय विद्यार्थीमा भिटामिन डीको कमी देखिएको र यसबाट हुने रिकेट्सजस्ता रोगबाट बच्न यस्तो नियम लागू गरिएको सरकारले जनाएको छ।
भारतमा गत जुलाई १ देखि उक्त नियम सबै विद्यालयले लागू गरेका छन्। भारतको उत्तर प्रदेशका सबै विद्यालयमा बिहानको प्रार्थना, गतिविधि खुला ठाउँमा गराउन थालिएको छ। विद्यार्थीलाई निरोगी बनाउनु विद्यालयको कर्तव्य भएको भन्दै प्रार्थना र कार्यक्रम खुला ठाउँमा गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
राज्यकी आधारभूत शिक्षाकी निर्देशक ललिता प्रदीपले भनिन्, ‘स्कुलका बिहानका सबै प्रार्थना सभा र गतिविधि खुला आकाश भएका ठाउँमा गर्नुपर्छ। गाउँमा यो सुविधा भए पनि शहरी र नगरोन्मुख क्षेत्रमा यो नियम पालना गर्नैपर्छ। यसअन्तर्गत खेल कार्यक्रम खुला ठाउँमा आयोजना गर्नुपर्छ।’
सरकारी विद्यालयमा खाली कक्षा भएका बेला बाहिरी गतिविधिका साथै जागरुकता कार्यक्रम गर्न आग्रह गरिएको छ। नेपालमा पनि खेलकुदका बाहिरी गतिविधिमा विद्यार्थीलाई प्रोत्साहित गर्ने र प्रार्थना सभा खुला ठाउँमा गर्ने व्यवस्था विद्यालयले गराएमा विद्यार्थीलाई भिटामिन डीको कमीबाट हुने रोगबाट जोगाउन सकिने देखिन्छ।
विद्यालयमा तरकारी फलफूल खेती
भारतको उत्तर प्रदेशका सबै सरकारी विद्यालयमा बगैंचा बनाउन थालिएको छ।
बगैंचामा विद्यालयमा आवश्यक तरकारी र फलफूल खेती गरिन थालेको छ। सरकारी विद्यालयमा ८ कक्षासम्म खुवाइने खानामा ती तरकारी प्रयोग गर्नैपर्ने सुझाव दिएको छ। दैनिक त्यस्तो तरकारी खुवाउन थालिएको छ। विद्यार्थीले आफैं उत्पादन गरेको तरकारी खाँदा आत्मीयपन हुने बताइएको छ। पर्याप्त जग्गा नभएका विद्यालयमा कौसी, कन्टेनर र थैलामा फलफूल र तरकारी उब्जाइन थालेको छ। आवश्यक सहयोग शिक्षकले पनि गर्न थालेका छन्। त्यसका लागि सरकारले केही रकम सहयोग गर्नेछ। विद्यार्थीमा फलफूल र अन्य रूख रोप्न प्रोत्साहन मिल्नुका साथै कृषिप्रति सम्मान जगाउन सहयोग पुग्ने भन्दै सरकारले यसलाई प्राथमिकता दिएको छ।