विज्ञान केन्द्र :  सिकाइसँगै मनोरञ्जन

विज्ञान केन्द्र :  सिकाइसँगै मनोरञ्जन

पोखरा : तारामण्डल र विज्ञान केन्द्रमा पुग्दा विभिन्न ठाउँबाट घुम्न पुगेका बालबालिका रमाइरहेको भेटिए। कोही खेल्दै थिए, कोही अवलोकनमा व्यस्त। केही त्यहाँँ देखिएका विभिन्न वस्तु नियाल्दै थिए। फोटो खिचाउने, आफ्ना जिज्ञासा मेटाउन खोज्नेहरू समेत त्यहाँ देखिए।

पोखरा काजी पोखरीकी आस्मा बरुवाल साथीहरूसँग त्यहाँँ पुगेकी थिइन्। उनलाई मिरर हाउस बढी मन पर्‍यो। दोस्रो पटक यहाँ आएकी अञ्जिता पौडेलले धेरै कुरा सिक्न अनि खेल्न पाइने भएकोले यहाँ आएको बताइन्। यसअघि स्कुलमार्फत यहाँ पुग्दा धीत मरुञ्जेल घुम्न, हेर्न नपाएकोले पुनः परिवारको साथमा उनी आएकी हुन्।

यहाँ विद्यार्थी सिक्नको लागि आउँछन्। स्कुलहरू पालोपालो गरेर आउने र विद्यार्थीका खुल्दुली मेटाएर लैजाने गर्छन्। पोखरा बाहिरबाट घुम्न आएकाहरूको रोजाइमा समेत यो पर्न थालेको छ।

सोलमन तामाङले तारामण्डल अवलोकन गर्न पाउँदा खुसी लागेको बताए। सञ्चिता अर्याल नयाँ कुरा जान्ने अवसर पाएको भन्दै खुसी थिइन्। आफ्ना बाबु नानीसहित त्यहाँँ पुगेकी सुमन गुरुङ उनीहरूले केही कुरा सिक्नुका साथै खेल्दै रमाउन पाएकोमा प्रफुल्ल थिइन्।

पोखरा तारामण्डल र विज्ञान केन्द्र पोखरा महानगरपालिका वडा नं. १६ मा अवस्थित छ। यो सञ्चालनमा आएको दुई वर्षभन्दा बढी भयो। शिक्षामा रिसर्च पर्सन बनेर २५ वर्ष काम गरेका मोहदत्त पोखरेलले यसलाई सञ्चालनमा ल्याएका हुन्। यहाँ सिकाइसँगै मनोरञ्जन लिने अवसर पाइन्छ। त्यसैकारण केही सिक्ने, अनि खेल्दै रमाउने उद्देश्यका साथ मन्टेश्वरी पढ्नेदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थी त्यहाँ पुग्छन्। कलेजमा अध्ययनरत विद्यार्थी, विज्ञानमा रुचि राख्ने, घुम्न मन पराउनेहरूसमेत यहाँ पुग्ने गरेका छन्।

पोखरा लामाचौरचोकबाट ६ मिनेट, बाटुलेचौरबाट ४ मिनेट र चमेरे गुफाबाट २ मिनेटको दूरीमा रहेको यो केन्द्र हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन आउँछन्। ‘यहाँ आउने एउटै एज गुप्रका छैनन्, विद्यार्थी तथा शिक्षक समस्या लिएर समेत आउने गरेका छन्’ सञ्चालक पोखरेलले भने।

पोखरा तारामण्डल खगेलविद्सम्बन्धी ज्ञान बढाउने र रातको आकाशको दृश्यावलोकन गराउने उद्देश्यका साथ स्थापना भएको हो। यस्तो प्रकारको नेपालमा पहिलो भएको दाबी सञ्चालक गर्छन्। यहाँ प्रयोग भएको माथिल्लो उपकरणको सहायताले पृथ्वीको कुनै पनि ठाउँ र समयको आकाशको तारामण्डल हेर्न सकिन्छ। ब्रम्हाण्ड भित्र गएजस्तो महसुस गराउने यो तारामण्डलको अद्भुत अनुभूति गर्न पाइन्छ। ब्रम्हाण्डको गहिराइमा भर्चुअल यात्रा गरी त्यहाँ भएका मनमोहक दृश्यावलोकन गरी नवीनतम ज्ञान पाउने अवसर प्राप्त गर्दा विद्यार्थी उत्साहित हुन्छन्। जहाँ समय, आकाश, र आकारको नयाँ अर्थ बुझ्न पाइन्छ। खगोलका सम्पूर्ण विद्यार्थी तथा खगोलमा रुचि भएका पारखीहरू यहाँ पुगेर ज्ञान सिक्दै रमाउँछन्। ९० जना विद्यार्थीसम्मलाई एकैचोटी तारामण्डलको अवलोकन गराउन सकिन्छ।

यहाँ मिनी विज्ञान केन्द्र छ। यसभित्र विविध प्रकारका उपकरण, सामान र औजारहरू प्रतियोगात्मक र प्रदर्शनात्मक रहेका छन्। विज्ञानमा इच्छा भएका र स्कुलमा भन्दा ज्यादा खोज्न र जान्न चाहने विद्यार्थीको लागि यो उपयुक्त ठाउँ बन्दैछ। यस्ता उपकरणसँग प्रत्यक्ष सम्मिलित भई धेरै वैज्ञानिक सिद्धान्त र रहस्यहरूमार्फत विद्यार्थीको सोच्ने तथा नयाँ कुरा पत्ता लगाउने क्षमता अभिवृद्धि हुने सञ्चालकको विश्वास छ। कोही पनि व्यक्ति यहाँ भएका वैज्ञानिक तथ्य, जानकारी र सिद्धान्तहरूबाट सजिलै प्रभावित हुन सक्छन्।

विज्ञान पार्कभित्र रहेको रिफ्लेक्टर टेलिस्कोपको सहायताले सौर्यमण्डल, ताराहरू र ग्यालेक्सी सजिलै हेर्न सकिन्छ। हाम्रो ग्रहभन्दा धेरै टाढाका तारा, तारापुञ्ज र ग्रहहरू कस्ता होलान्, कति दूरीमा छन्, दूरबिनको देख्न सक्छौ, पूर्णिमाको चन्द्रमा, सूर्यमा भएका ज्वालाका दुर्लभ र अनुपम दृश्य हेर्नसमेत यहाँबाट पाइन्छ।

१४ रोपनी क्षेत्रफलमा रहेको यो विज्ञान केन्द्रमा सुन्दरबगैंचा र बालबालिकाको लागि खेलकुदका सामग्री राखिएका छन्। जसले उनीहरूको शारीरिक तथा बौद्धिक विकासमा टेवा पुर्‍याउँछ। बालबालिकालाई मात्र नभई अभिभावक पनि सहरको प्रदूषणबाट टाढा यस सुन्दर बगैंचामा शयर गरी आनन्दको समय बिताउन सक्छन्। बगैंचाको साथमै रहेको सफा र सङ्लो स्विमिङ पुलमा गर्मी मौसममा दैनिक पौडीका मज्जा लिएर शरीर र मस्तिष्क तन्दुरुस्त राख्न पाइन्छ। यहाँ मोटु, पत्लु, सिघंम, विभिन्न जनावरको आकृति, माउन्टेन, पञ्चमुखी हनुमान, डाइनोसर, वाटर फाउन्टेन, गार्डेन, पिङ तर्फसमेत बालबालिका आकर्षित बन्ने गरेका छन्।

पार्क भित्र रहेको सिसा महलभित्र गएर अचम्मित हुनु पाइन्छ। आफैं हराउन पाइन्छ, यसभित्र आफूलाई सयौं दर्पणहरूबाट हेर्न पाउँदाको अनुभूति रमाइलो हुन्छ। उडेको फोटो लिने, खेलेर रमाउँदै सिसा महलमा अनौठो र मज्जाको अनुभव लिन पाइन्छ।

विभिन्न देशमा गएर सिकेको, देखेको कुरालाई समावेश गरेर यो सञ्चालनमा ल्याइएको सञ्चालकले बताए। यसलाई थप विस्तार गर्ने उनीहरूको योजना छ। विद्यार्थीसँगै शिक्षकलाई समेत नयाँ ज्ञान थप्न र विभिन्न समस्याको समाधान गर्न यो केन्द्र उपयोगी बन्न थालेको छ। कम्तीमा एक घण्टा तथा बढीमा दिनभरि नै यहाँ पुग्दै जिज्ञासा मेटाउँदै बालबालिका रमाउन सक्छन्।

अब यहाँ रहेको मिनि साइन्स सेन्टरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सञ्चालकको तयारी छ। प्लानेरियल खगोलबाहेकका विज्ञानका अन्य विषयलाई समेट्ने लक्ष्य गरिएको सञ्चालकले बताए। पार्कलाई बालमैत्रीको साथै अन्तर्राष्ट्रिय स्तरको बनाउने उनीहरूको तयारी छ। यहाँ बालबालिकाको लागि २७ फिट अग्लो र एक सय मिटर लामो जिप फ्लायरसमेत राखिएको छ। 

राजाराम पौडेल


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.