निजी स्कुल छाडेर सरकारीतिर

निजी स्कुल छाडेर सरकारीतिर

भोजपुर : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइँदैन। अभिभावकहरू केही भए पनि बालबालिका अंग्रेजी जानोस्, सिकोस्, बोलोस् भन्ने चाहन्छन्। अंग्रेजी माध्यम र पाठ्यक्रमअनुरूप सीप सिकाइ अभावले बर्सेनि सरकारी विद्यालयको शैक्षिक गुणस्तर पनि खस्किँदो छ। जसले अभिभावक र विद्यार्थीलाई वितृष्णा जगाएको छ। पछिल्ला वर्षयता अंकभारले सरकारीभन्दा राम्रै नतिजा ल्याउन् भनेर महँगो खर्चेर बालबालिकालाई बोर्डिङ स्कुलमा पठाउने प्रचलनजस्तै बनेको छ।

सदरमुकामलगायत बजार क्षेत्रमा नाम चलेका बोर्डिङ स्कुलतिर मोह बढेको छ। यस्तै क्रममा भोजपुरको एक सरकारी विद्यालयमा भने ठीक उल्टो छ। भोजपुर नगरपालिका–७ स्थित जनसेवा आधारभूत विद्यालयमा भने बोर्डिङ स्कुल छाडेर भर्ना हुने विद्यार्थीको संख्या बढ्न थालेको छ।

जिल्ला नमुना सरकारी विद्यालय मानिएको यहाँ बोर्डिङ स्कुलसरह पठनपाठन हुन्छ। शैक्षिक नतिजा राम्रो ल्याउन सफल भएकाले पनि विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो। अंगे्रजी माध्यमबाट पठनपाठन र शैक्षिक गुणस्तरले अन्य सरकारी र बोर्डिङ स्कुलभन्दा अब्बल विद्यालय बनेको छ। अन्य सामुदायिक विद्यालयको तुलनामा अब्बल यस विद्यालयमा चालु शैक्षिक सत्रमै ५२ भन्दा बढी विद्यार्थी बोर्डिङ स्कुलबाट भर्ना हुन आएको विद्यालयले जनाएको छ।

सरकारीमै बोर्डिङका सबैजसो किसिमका पाठ्यपुस्तक, पाठ्यसामग्री र सिकाइ उपलब्धि पाएपछि बालबालिका पठाएको अभिभावक सुनाउँछन्। ‘बोर्डिङजस्तै अंग्रेजी पढाइ हुन्छ, नतिजा पनि राम्रै रहेछ, बोर्डिङ स्कुलको महँगो खर्च पनि जोगियो,’ स्थानीय तुलसी पौडेलले भने, ‘सबै सरकारीमा यस्तो सुविधा भए मजस्ता न्यूनस्तरकाले पनि सहजै छोराछोरीलाई अंग्रेजी पढाउन सक्थे, नानीहरू पनि अब्बल बन्थे’ विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थी माथिल्लो कक्षामा पनि राम्रो नतिजा ल्याउने गरेको विद्यालयको तथ्यांक छ।

विद्यालयको पठनपाठन, अनुशासन, विद्यालयको अर्को आकर्षण भनेको शिक्षकको नियमितता, शिक्षक विद्यार्थीको कक्षागत उपलब्धिमा ध्यान दिनु, विद्यार्थीको नियमितता, प्रभावकारी सिकाइ उपलब्धि र शिक्षक सिकाइमा मिहिनेतसाथ पठनपाठन राम्रो हुन थालेपछि विद्यार्थी आकर्षण बढेको हो। पढाइको गुणस्तर खस्किनु र विद्यार्थी संख्या कमीले धेरै विद्यालय मर्ज तथा खारेज गरिए। निजीमा आकर्षण बढे पनि न्यूनस्तरका सर्वसाधारणलाई पढाइ खर्च धान्न पनि समस्या छ। ती सर्वसाधारणलाई यो विद्यालयले भने राहत दिएको उनीहरू सुनाउँछन्।

विद्यालयको अर्को पक्ष भन्नु यहाँ विद्यार्थीलाई असल आचरण पनि सिकाइन्छ। शिक्षकहरू अनुशासनका साथै अन्य सीप सिकाइका सिर्जनात्मक क्रियाकलापमा उनीहरूलाई पथप्रदर्शन गराउँछन्। जसले विद्यालयको आकर्षण पनि थपेको छ। आर्थिक अवस्थाले कमजोर विद्यार्थी मात्र नभई विद्यालयमा अन्य वर्गका विद्यार्थी पनि आउन थालेका छन्। सरकारी विद्यालयमा भएर बोर्डिङको पढाइ, सरकारी सेवासुविधा, छात्रवृत्ति, छात्रावासले झन् आकर्षण बढाएको शिक्षिका श्रेष्ठले बताइन्। भनिन्, ‘हरेक समुदायबाट आएका विद्यार्थीलाई सानै कक्षादेखि सभ्य र अनुशासित हुन प्रेरित गर्छौं, शिक्षक, विद्यार्थी र सिकाइमा समयनिष्ठा कायम गराउनु विद्यालयको नियम हो।’

सामुदायिक विद्यालयका शिक्षकको योग्यता र क्षमता राम्रो भए पनि शिक्षकले विद्यार्थीलाई पढाउनभन्दा राजनीति र अन्य काममा मात्रै ध्यान दिने प्रवृत्तिले शैक्षिक गुणस्तर ओरालो लागेको प्रधानाध्यापक थीरबहादुर श्रेष्ठले बताए। उनका अनुसार सरकारी विद्यालयमा तालिमप्राप्त, अनुभवी र दक्ष शिक्षक भए पनि प्राप्त ज्ञान र सीपलाई शिक्षकले कक्षाकोठामा प्रयोग नगर्दा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर घटेको हो।

जिल्लामा ३ सय ४१ आधारभूत र ६९ माध्यमिक गरी ४ सय १० सामुदायिक विद्यालय छन्। ती सामुदायिकमा ६१ हजार २ सय ४० विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ। विद्यालयप्रति अभिभावकको चासो नहुनु, विषयगत शिक्षकको दरबन्दी नहुनु, शिक्षक विद्यार्थीको कक्षागत शैक्षिक उपलब्धिप्रति उत्तरदायी नबन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको जानकारहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.