‘म झुक्दै नझुक्ने नेपालको छोरो’

‘म झुक्दै नझुक्ने नेपालको छोरो’

धनगढी

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो,

पखेरुमा जन्मे, टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो।

गोपाल योञ्जनको यो कर्णप्रिय गीत बजिरहँदा, धनगढीको खुलामञ्चमा आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सवको माहोलमा एक पटक सन्नाटा छायो। नेपालीको वीरताको गौरव गाथाले ओतप्रोत यो गीत सुनिरहँदा महोत्सवको खचाखच भरिएको पण्डालमा धेरै युवाहरूको आङ जिरिङजिरिङ भइरहेको थियो।

पृष्ठभूमिमा गोपाल योञ्जनको यो कर्णप्रिय गीत बजिरहेको थियो भने विश्व नेपाली साहित्य महोत्सवको मञ्चमा नेकपाका नेता भीम रावल र अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापा बसिरहेका थिए। सम्पादक थापा नेता रावलसँगको ‘म झुक्दै नझुक्ने नेपालको छोरो’ शीर्षकको अन्तरसंवादको कार्यक्रम थिए।

लेखनका अब्बल रहेका सम्पादक थापा र वाककलामा अब्बल मानिने भीम रावलको तालमेल मिल्छ कि मिल्दैन भन्ने खुल्दुली सबैका मनमा थियो। तर कार्यक्रमको ओजले पण्डालभरिका मानिसहरू तालीमाथि ताली पड्काइरहेका थिए।

पछिल्लो समय भीम रावल, सत्तापक्षका प्रतिपक्षी जस्तै देखिएका छन्। होलिवाइनदेखि लिएर एमसीसीका बारेमा उनको चर्चा चुलिँदो छ। अझ शनिबार मात्रै धनगढी विमानस्थलमा भीआईपी कक्षको प्रयोग गर्न नपाएकोमा उनको बेग्लै असन्तुष्टि थियो।

थापाले, रावलसँगको संवाद यसै वाक्यबाट गरे। तर रावलले भने ‘प्रतिपक्ष’ होइन, म जनताको प्रतिरक्षा गरिरहेको छु। कसैले प्रतिरक्षकलाई प्रतिपक्ष बिर्सेर भनिदियो होला।’ साहित्यिक मञ्चमा थापाले राजनीतिक घोचपेच गरिरहे।

रावलले आफ्नो कवितामार्फत साक्षात्कारको सुरुआत गरेका थिए। उनलाई एमसीसीका बारेमा उठेका कुराका बारेमा थापाले सोधे। रावल एमसीसीबारे नेकपाले गठन गरेको कार्यदलका सदस्य पनि हुन्।

रावलले भने ‘अमेरिकी राष्ट्रपति भन्छन् म पहिलो देश बनिरहुँ, भारतका प्रधानमन्त्रीले भन्छन् मेरा भारत महान्, चीनका राष्ट्रपतिले भन्छन् म चिनियाँ सपना पूरा गर्छु, तर नेपालले मेरो नेपाल महान्, म नेपाली सपना पूरा गर्छु किन भन्न पाइँदैन, म त्यसै कुराबाट प्रेरित छु।’

उनले कुनै पनि देशलाई अनुदान वा ऋण दिँदा त्यहाँ कुनै स्वार्थ लागू हुन नपाउने बताए। नेता रावलले नेपालमा अब विद्युत्को रेल चलाउनुपर्ने बताए। उनले अर्काको देशको डिजेल र पेट्रोल ल्याएर वातावरण दूषित पार्न नहुने बताए।

सोमबार रवि लामिछानेले विजयकुमार पाण्डेसँग गरेको साक्षात्कार पनि रोचक भएको थियो। ‘टेलिभिजनको क्रेज : हिजो आज र भोलि’ विषयमा गरिएको साक्षात्कारमा परम्परागत टेलिभिजनदेखि अहिलेको स्मार्टफोनले विस्थापन गरिरहेको क्रेजसम्मका कुरा उठेका थिए।

महानायक राजेश हमालसँग नयनराज पाण्डेले गरेको साक्षात्कार पनि रोचित भएको थियो। ‘जीवन : पर्दाभित्र पर्दाबाहिर’ शीर्षकमा हमालले दुवै फरकफरक रहेको बताएका थिए।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सव फागुन १४ देखि गुञ्जायमान छ। सोमबार विश्व साहित्य महोत्सवको छैटौं दिन हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको कार्यक्रम मंगलबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.