उच्च सतर्कता : उत्तरी सीमामा कडाइ

उच्च सतर्कता : उत्तरी सीमामा कडाइ

विराटनगर : नोभेल कोरोना (कोभिड १९) को संक्रमण रोक्न प्रदेश १ का चीनसँग जोडिएका जिल्लामा सीमा वारपारमा रोक लगाइएको छ। यसअघि चीनले एकतर्फी कडाइ गरे पनि सोमबारबाट संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले चीन आवतजावतमा कडाइ गरेको हो।

प्रदेश १ मा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु चीनसँग सिमाना जोडिएको जिल्ला पर्छ। यी जिल्लाका उत्तरी नाका भएर आउजाउ कम भए पनि ओलाङचुङगोला र किमाथांका नाकाबाट भने चिनियाँ नागरिक प्रवेश हुने र नेपाली चीन जाने गरेका छन्।

कोरोनाको संक्रमण फैलन नदिन यसअघिका दिनभन्दा अब पूरै कडाइ गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा प्रदेश १ मा आएको टोलीसँगको छलफलपछि यस नाकालाई अझै कडाइ गर्न प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निर्देशन दिएको छ।

उत्तरमा चीनसँग सीमा जोडिएका जिल्लामा आवतजावतमा रोक लगाउनुको साथै अन्य भारतसँग सीमा जोडिएको नाकामा उच्च सतर्कता थालिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले बताए। उनले भने, ‘यो काम आजैबाट सुरु हुन्छ।’

संघीय प्रतिनिधिमण्डल प्रदेश राजधानी विराटनगरमा आएर सरकारी अस्पतालमा गरिएको तयारीबारे समेत सोमबार जानकारी लिइएको छ। सो टोलीले सम्भावित संक्रमण र तयारीबारे प्रदेश सरकारको सामाजिक विकासमन्त्री जीवन घिमिरे र मन्त्रालयका प्रतिनिधिसँग छलफल पनि गरेको छ। ‘हामीले प्रदेश सरकारका मन्त्री र कर्मचारीसहित स्वास्थ्यकर्मीसँग पनि छलफल गरेका छौं,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलले भने, ‘प्रदेश सरकारले सतर्कता अपनाउन सचेतनामूलक कार्यक्रममा समेत आयोजना गर्ने तयारी गरेको रहेछ।’

टोलीले नमुनाका रूपमा प्रदेश १ मा व्यक्तिगत सुरक्षाका सामग्री ५ थान र इन्फ्रारेड थर्ममिटर पनि लिएर आएको जनाएको छ।

दुई अस्पतालमा आइसोलेसन बेड

प्रदेश १ सरकारले विराटनगरको कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा केरोनाको उपचारको तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए।

यसअघि प्रदेशका ६ वटा अस्पतालमा आइसोलेसन बेड छुट्याइएको थियो। ‘पहिले ६ वटा भने पनि अहिले दुइटालाई तयारीमा राखे पुग्ने देखियो, आवश्यक परे थप्दै जानेछाँै,’ मेहताले भने, ‘कोसी अस्पतालमा १३ वटा बेड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यकताअनुसार वार्ड तयारी अवस्थामा राखिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.