समृद्धिका आधार प्रकृतिका उपहार
हरेक वर्षजस्तै मार्च ३ (२० फागुन) मा संसारभरि विश्व वन्यजन्तु दिवस मनाइँदै छ। यो पवित्र दिवसलाई कसरी साकार पार्ने सबैको चिन्ता हुनुपर्छ। अस्ट्रेलियाले इतिहासमा नदेखेको अकल्पनीय र कहालिलाग्दो डढेलोको सामना गर्दा करोडौंको संख्यामा जैविक विविधताको भण्डार भस्म भएको देख्नुपर्यो। डढेलो अझै पनि जारी छ। अमेजन फायरको क्षति अकल्पनीय रह्यो। मध्य अफ्रिका, क्यालिफोर्निया, रूसले पनि डढेलोको सामना गर्दा ठूलो संख्यामा जीवजन्तु र तिनको वासस्थान गुमाउनुपर्यो।
प्रकृति र अबोध वन्यजन्तु बोल्दैनन्। उनीहरूको इशारा हामी थोरै मात्र बुझ्न सक्छौं र धेरै नबुझेको नक्कल गरेर टारिदिन्छौं। तर ती विश्वका ठूलाठूला डढेलाहरू मानव नियन्त्रण क्षमता बाहिरका अकल्पनीय खतरा र जोखिमपूर्ण थिए। तिनले धेरै वन्यजन्तुसँगै मानव र फायर फाइटरको समेत ज्यान लिए। तर सम्बन्धित सरकारले जलवायु परिवर्तन र प्राकृतिक कारण भनेर फेस सेभिङ गरिरहेका छन्।
वन्यजन्तु दिवसको सँघारमा नेपाल पनि धर्मसंकटमा छ। प्राकृतिक सौन्दर्य र जैविक विविधताको धनी भनेर पहिचान र सम्मान पाएको देश, शून्य सिकार उपलब्धि लगातार हासिल गरेर विश्व संरक्षण समुदायबाट कदर, सम्मान र पुरस्कार पाएको देश, मौलिक र विश्वसनीय संरक्षण मोडल तथा उच्च संरक्षण छवि भएको सुन्दर मुलुकलाई चुनौतीले गाँजेको देखिन्छ। संसारले हजार दुर्बिन लगाएर लेजर लाइटजस्तो फोकस गरेर हेरेको मुलुकमा वन्यजन्तुका पीडा, गुनासो र माग चाङका चाङ छन्।
सबैभन्दा पहिले नेपालको जेठो विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज विविध समस्याबाट गुज्रिरहेको छ। गत वर्ष बाघको संख्या १२० बाट घटेर ९३ मा झर्नु, डेढ वर्षमा ४३ र १८, ६१ वटा गैंडा मृत अवस्थामा फेला पर्नु, नदीमा दर्जनौं दुर्लभ गोहीहरू मृत अवस्थामा भेटिनु त्यो निकुञ्ज संकटग्रस्त अवस्थामा छ भन्ने बलिया प्रमाण हुन्। २७ वटा बाघ घट्नु भनेको सयौंको संख्यामा उसको आहार प्रजाति घटेको प्रमाण हो। गैंडाको मृत्युले वासस्थानको गम्भीर समस्या जाहेर गर्छ। गोहीको मृत्युले नदीनाला सुरक्षित छैनन् र वन्यजन्तुका लागि पानीसमेत प्रदूषणयुक्त र रोगजन्य भइसकेको छ भन्ने संकेत दिन्छ।
तर हामी जुधेर मृत्यु, दुर्घटना, वृद्ध, अज्ञात भनेर प्राकृतिक कारणको दाबी पेस गरिरहेका छौं। गैंडाका खाग र खुर फेला पर्यो भनेर चोरी–सिकारी होइन भनी सन्तोष लिइरहेका छौं।
राजधानीमा मनाउने विश्व संरक्षण दिवसले इतिहासको सफल गाथाको चर्चा गरेर होइन, कोमामा भएका वन्यजन्तुलाई तत्काल राहत दिने संकल्प र कार्ययोजना अघि सारेर दिवसको मर्म र भावनालाई साकार पार्न जरुरी छ।
एउटा गैंडा ठूलो धनाढ्यको होटलको सेफ्टी ट्यांकीमा खसेर मृत्यु भयो। खोइ वन्यजन्तुमैत्री पूर्वाधार, जवाफदेहिता र कारबाही ? दुइटा गैंडाको पेटमा अत्यधिक विषादीको डिपोजिट फेला पर्यो। कसरी किन कहाँबाट कसले ? खोइ छानबिन अनुसन्धान र पहिचान ? दुइटा गैंडाको करेन्ट लागेर मृत्यु भयो। खोइ अभियुक्तको खोजी र कारबाही ? गोहीहरू माझीका जालमा परेर मरिरहेका छन्। खोइ अनुगमन र नियन्त्रण ? यी घटना चरम चोरी–सिकारको अक्षम्य अपराध हुन्। वन्यजन्तुलाई लखेट्ने, दुःख दिनेजस्ता कामलाई समेत चोरी–सिकारीको परिभाषा र तरिकामा राखिएको छ भने यहाँ ठाउँको ठाउँ ठहरै मार्नेसम्मको काम भइसक्यो।
शदीयौंदेखि पूर्वजहरूले पालनपोषण, रक्षा सम्मान गरेर हाम्रो पुस्तालाई हस्तान्तरण गरेका यी सुन्दर दुर्लभ वन्यजन्तु अब के हामी पाल्न हेर्न र भावी सन्ततिलाई हस्तान्तरण गर्न नसक्ने अवस्थामा पुगेकै हौं त ? यो पेचिलो प्रश्नले प्रकृति र संरक्षणपे्रमी नेपाली जनताका मनमा गहिरो घाउ लागेको छ। नेपालको प्रतीक मानिएको, नेपालीको मुटुभित्र सुरक्षित भई सजिएको, कहिले नोटमा कहिले टिकट र लोगोमा अंकित भएर सम्मान पाएको गैंडालाई कति चित्त दुखेको होला ? राष्ट्रिय वाचा र संकल्प पूरा गराएर मुलुकको संरक्षण छवि उकास्न दुई वर्षभित्र दोब्बर हुने महर्वाकांक्षा र हर्ष पालेर बसेको पाटेबाघ २७ वटा घट्दा उनीहरूको चित्त कति दुख्यो होला ? पानीले नदेखिने आँसु गोहीले कति बगाए होलान् ? जंगलबाहिर पक्राउ परेका बाघ र चितुवाका वस्त्ररूपी छालालाई नुनचुक लगाएर काढ्दा तिनलाई कति दुख्यो होला ?
यथार्थको स्वीकारोक्ति
शून्य चोरी–सिकारी उपलब्धि ब्रेक भएको छ। निकुञ्जको व्यवस्थापन पक्ष खस्केर घाँसे मैदान, पानी, घोल, शान्तिसुरक्षा, बाटाघाटो, अनुगमन, नियमन सूचना सञ्जालमा कमी आएको छ। अध्ययन–अनुसन्धानको पक्ष शिथिल भएको छ। नदीको पानी प्रदूषणयुक्त र रोगजन्य छ। सूचना प्रविधिको व्यापकीकरण र प्रभावकारिताबाट फाइदा लिन सकिएको छैन। बरु त्यसले ‘बुट्स अन द ग्राउन्ड’ द्विविधा र अन्योलग्रस्त बनाएर अलमलमा पारेको छ। केन्द्रीय अनुगमन, नियमन, दण्ड–पुरस्कार, नीति र नियन्त्रण हुन छाडेको छ। केन्द्रको उदासीनता र संरक्षणविरोधी नारा र भाषणले फ्रन्टलाइन संरक्षकहरूको हौसला र मनोबललाई माइनस गरिदिएको छ। संरक्षण साझेदार संघसंस्थाहरू राजनीतिक छायाँ र हस्तक्षेपको सिकार भएर अन्योलग्रस्त छन्। तेस्रो संरक्षण खम्बा तथा स्थानीय जनताका घर–आँगनमा सिकारीहरू रेक्की गरिरहेका छन् र जनताका काँधमा बन्दुक राखेर पड्काउने तयारीमा छन्। प्रकृति र संरक्षणपे्रमी सञ्चारकर्मी मूकदर्शक भएर क्षति हेर्न विवश छन्।
समाधानको बाटो
वन्यजन्तु क्षतिको गुदी कारण सम्बन्धित निकुञ्ज प्रशासक, सुरक्षा निकाय र विज्ञहरूले पत्ता लगाउने हो। प्रकृतिको नियम सरल रेखाबाट हिँड्ने भएकाले टालटुल, ढाकछोप र बांगोटिंगो होइन, सत्यतथ्य कारण पत्तो लगाई त्यसको समाधानार्थ ‘चुस्त र असरदार व्यवस्थापन एवं संरक्षण प्रणाली’ को रोडम्याप बनाएर त्यसको सफल कार्यान्वयन गर्नुपर्यो। आवश्यक परे चितवन राष्ट्रिय निकुञ्जलाई संकटकाल घोषणा गरेर पहिलाको जस्तो अथवा त्योभन्दा सुन्दर र सम्पन्न अवस्थामा फर्काउनु पर्यो। इच्छाशक्ति भए त्यो मिसन असम्भव छैन। हाम्रा अबोध दुर्लभ सुन्दर वन्यजन्तुलाई जबर्जस्ती पालेर हामीलाई इज्जत र धर्म प्राप्त हुँदैन। बरु तिनीहरूलाई शान्त, स्वस्थ, खुसी र सुखी बनाएर राख्नु र विश्वलाई देखाउनु हाम्रो कर्म र धर्म हुन्छ। यसका लागि मासिएको सुराकी सञ्जाल ब्युँताउनुपर्छ। चोरी–सिकारी नियन्त्रण एकाइलाई पुनर्ताजगी र सक्रिय बनाउनुपर्छ। पुरानो बृहत् संरक्षण समूह निर्माण र टिमवर्कलाई निरन्तरता दिनुपर्छ।
ऊर्जाको स्रोत
वन्यजन्तु संरक्षणको प्रमुख जिम्मेवारी फिल्डस्थित तैनाथ फ्रन्टलाइन स्टाफ (निकुञ्ज कर्मचारी र प्रोटेक्सन युनिट) को हो। कोर एरिया र भित्री घेराको जिम्मा उनीहरूले लिएपछि बाहिरी घेराको जिम्मा मध्यवर्ती क्षेत्र, सूचना सञ्जाल, समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण एकाइ तथा विभिन्न संरक्षण युवा सञ्जालले सहयोगार्थ लिइदिने हो। ती सबैका ऊर्जाका स्रोत केन्द्रीय संगठन र नेतृत्वको हुन आउँछ। केन्द्रमा कार्यकारी अधिकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निहित हुन्छ। फिल्डलाई तताउने, अनुगमन गर्ने, नियमन र निर्देशन गर्ने प्रत्यक्ष दायित्व महानिर्देशकको हुन्छ। उहाँको तालुक मन्त्रालयका मन्त्री र सचिवको भिजनसहितको सक्रियता र निर्देशनले फिल्डलाई झन् चुस्त बनाउन सक्छ। राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष प्रधानमन्त्रीको चासो र चिन्ताले फिल्डलाई झन् व्यापक ऊर्जा दिन सक्छ। फिल्डको हौसला र मनोबलको अर्को स्रोत राष्ट्राध्यक्ष हो। द्वन्द्वपश्चात् कहालिलाग्दो वन्यजन्तुको क्षति पुर्तालको निमित्त शीघ्र संरक्षण कार्य गर्न रक्षामन्त्रीको सक्रियता र संयोजनले शून्य सिकारको जग बसाउन मद्दत गरेको थियो। त्यो नजिर अहिले कामयाबी हुने थियो।
जवाफदेहिताको खा“चो
निकुञ्जभित्र खोइ के भयो; कसरी भयो; कसले गर्यो भनेर फेस सेभिङ गर्न पाइँदैन। अहिले चितवनका वन्यजन्तु व्यापक दबाब र तनावमा छन्। धेरै कोमामा गइसकेका छन्। तत्काल राहतको आवश्यकता छ। राहत भनेको खानपिनको व्यवस्था र शान्तिसुरक्षा हो। प्रकृतिले हामीलाई दिने पनि शतप्रतिशत हो। हामीले प्रकृतिलाई पनि सय प्रतिशत इफोर्टस दिनैपर्छ। गैंडा मार्ने काम तत्काल बन्द हुनैपर्छ। घा“स, पानीको व्यवस्थापन तुरुन्त हुनैपर्छ। घटेका २७ बाघ तुरुन्त पुर्ताल हुनुपर्छ। ३० देखि ५० प्रतिशत आम्दानी प्राप्त गर्ने मध्यवर्ती क्षेत्रका समुदायले बाहिरी सुरक्षा घेरामा कुनै प्वाल पर्न दिनु हु“दैन। ‘गर नत्र मर’(डु अर डाई) भनेर जिम्मेवार फ्रन्टलाइन निकाय खटेर परिणाम देखाउनुपर्छ।
दोस्रो संरक्षण निकाय नेपाली सेनाको भूमिका
शदीयौंदेखि संरक्षण योगदान र त्याग गर्दै आएको नेपाली सेनाले संकटग्रस्त निकुञ्जको व्यवस्थापन कार्यमा प्राविधिक सहयोग, श्रमदान र इक्विपमेन्ट सहयोग गरेर घा“से मैदान र पानी व्यवस्थापनमा योगदान गर्न सक्छ। सुरक्षा दृष्टिकोणले सेनाको यो सहयोग अपेक्षित छ। निर्माण कार्य पूरा भई स्रोतसाधन र जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको एनिमल अस्पताल सञ्चालन गर्न सेनाले आफ्नो पशु चिकित्सा निर्देशनालयको स्रोतसाधन र जनशक्ति सहयोग गर्न सक्छ। एउटा एनिमल एम्बुलेन्स सहयोग गर्ने अवसर पनि सेनाले अरूलाई दिनु हु“दैन। डाट टिम, उद्धार टिम, राहत टिम निर्माण गरेर सेनाले अस्पताललाई नमुना बनाउन मद्दत गर्न सक्छ। राप्ती, नारायणी नदी सरसफाइका काममा सेनाको योगदानले सकारात्मक परिवर्तन ल्याउन सक्छ। बाघ र गैंडाविज्ञहरूको तत्कालीन राष्ट्रिय सम्मेलन बोलाएर राय संकलन गर्न सेनाको निर्देशनालयले पहलकदमी लिन उपयुक्त हुनेछ। प्राचीन र परम्परागत संरक्षण मोडलमा पुनरावलोकन गरी असरदार र प्रभावकारी संरक्षण मोडलको परीक्षण प्रयोग गरेर आशातीत परिणाम निकाल्न नेपाली सेनाको नेतृत्व, अगुवाइ अथवा संयोजन कामयावी हुन सक्छ।
निचोड
प्राकृतिक सौन्दर्य र जैविक विविधताको धनी देश नेपालले वन्यजन्तु संरक्षणमा कुनै कमी आउन दिनु हु“दैन। साथै समृद्धिको आधार प्रकृति र प्रकृतिका उपहार मात्र हुन सक्छन् भन्ने सत्यलाई छिटो मनन र आत्मसात गर्न जरुरी छ। राजधानीमा मनाउने विश्व संरक्षण दिवसले इतिहासको सफल गाथाको चर्चा गरेर होइन, कोमामा भएका वन्यजन्तुलाई तत्काल राहत दिने संकल्प र कार्ययोजना अघि सारेर दिवसको मर्म र भावनालाई साकार पार्न जरुरी छ।
-कार्की प्रकृति संरक्षण अभियन्ता हुन्।