सदनमा फरार सांसदको खोजी
विराटनगर : फौजदारी कसुरमा दोषी ठहर भई फरार सांसद गुलेफुन खातुनको विषय सदनमा जानकारी नगराएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। बिहीबार बसेको संसद् बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले एक जना संसद बिना जानकारी लामो समयदेखि सदनमा नआएको भन्दै सभामुखलाई प्रश्न गरे।
‘सभामुख महोदय एक जना संसद लामो समयदेखि सदनमा देखिनुहुन्न, कतै हाजिरी छैन, कसैलाई जानकारी पनि छैन, उहाँ कहाँ हुनुहुन्छ ? ’ सचेतक कार्कीले भने, ‘रेडियो, पत्रिकामा बालक हराएको सूचनाजस्तै खोजी हुन्छ कि हुँदैन ? सांसद हराएको सूचना हामीले पाउने कि नपाउने ? ’
एक जना सांसद नै सदनलाई जानकारी नदिई बेपत्ता हुँदा सदन मौन बस्नु नहुने कांग्रेसको तर्क छ। मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाकी गुलेफुन खातुनले ०७४ माघ ७ गते प्रदेश १ को प्रदेशसभा सदस्यमा निर्वाचित बनेकी थिइन्। अदालतले सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा दोषी ठहर गरेपछि उनी पुसदेखि फरार भएकी हुन्।
उच्च अदालत विराटनगरले पुस ६ गते १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनी फरार रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए।
मोरङको तत्कालीन कदमाहा गाविस–२ मा ससुरा स्वर्गीय शेख धाईका मियाँको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि मधुसूदनराज पाण्डेको कित्ता नम्बर १०६, २५५ र सीता जोशी पाण्डेको कित्ता नम्बर ११० भएको तीन बिघा १० कठ्ठा जग्गा नामसारी गर्न उनले सरकारी छाप र दस्तखत किर्ते गरेर गाविसको सिफारिस कागज बनाएकी थिइन्। ससुराको ०६३ माघ २४ मा र सासू खैरुन खातुनको ०६५ मंसिर १२ मा मृत्यु भएको थियो।
धाइकाका जेठा छोरा शेख दिलबार मियाँ र कान्छा शेख शिलबार मियाँ हुन्। ससुराको मृत्युपछि मोहियानी जग्गा जेठाजु दिलबारलाई नदिई आफ्नो एकलौटी बनाउन खातुनले पति शिलबार र अन्य दुई कर्मचारी प्रयोग गर्दै गाविसको लेटर प्याड, छाप र बिदामा रहेका सचिवको हस्ताक्षर किर्ते गरेकी थिइन्।
०७१ माघ २१ र ०७१ चैत ४ गते अलग–अलग मितिमा किर्ते सिफारिस बनाएर जग्गा आफ्नो नाममा नामसारी गर्न उनले भूमिसुधार कार्यालयमा निवेदन दिएकी थिइन्। मोहियानी एकलौटी बनाउन गरिएको किर्तेमा खातुन, उनका पति शिलबर, गाविसका खरिदार विजयकुमार कामत र पियन दीपचन्द्रकुमार मण्डलको संलग्नता देखिएको थियो।