वर्षाले आलुखेती प्रभावित
डडेल्धुरा : बेमौसमी आलुखेतीबाट मनग्गे आम्दानी गर्ने डडेल्धुराका कृषक यस वर्ष भने चिन्तित बनेका छन्। लगातारको पानी र चिसोका कारण अहिलेसम्म आलुखेती लगाइएको छैन। परम्परागत हिउँदेबाली छोडेर कृषक आलुखेती गर्दै आएका थिए। तर, यो वर्ष लागातार झरिका कारण आलु नै लगाउन पाएका छैनन्।
गत वर्ष जिल्लामा दुई सय १० क्विन्टल आलुको मूल बिउ वितरण गर्दा नगर क्षेत्रका कृषकले १६ सय क्विन्टल आलु उत्पादन गरेका थिए। यस वर्ष भने फागुन दुई साता बितिसक्दा पनि आलु रोप्न नपाएको शैलेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष खडकबहादुर बोहराले बताए। माघ अन्तिम सातादेखि अहिलेसम्म आलु लगाइसक्थे तर मौसमले गर्दा ढिलो भइ उत्पादनसमेत कमी आउन सक्ने अध्यक्ष बोहराले बताए।
आलुखेतीमा लागेका अमरगढी ७ पोखरा आसपासका दुई सय ४० घरधुरीका कृषकले अहिलेसम्म आलुका लागि छोडेका जमिन खाली छ। गरा तयार छन्। वर्षा नरोकिँदा बिउ लगाउन पाएका छैनन्। पानीसँगै बिउराख्दा कुहिँएर जान्छ, दाना पनि राम्रो नहुने अमरगढीका कृषि प्राविधिक रमेश भण्डारीले बताए।
सिजनमा आलु उत्पादन गर्न नसक्दा मूल्य पनि खासै नपाइने चिन्ता कृषकमा छ। अहिले लगाएको आलु वैशाख÷जेठमा तयार हुन्छ।
बेमौसमे तरकारीखेतीबाट लाभ पनि धेरै उठाउन सकिने जनाउँदै कृषक प्रिया कठायतले भनिन्, ‘हिउँदे वर्षातका कारण आलुखेती गर्न पाएका छैनौं तर पनि लगाउन खेत तयार पारेका छौं।’ मौसम अनुकूल हुनेबित्तिकै लगाउँछौं।
डडेल्धुरा जिल्लामा शरदकालीन, हिउँदे र वर्षे बालीका रूपमा आलुखेती गरिन्छ। जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती गरिने भए पनि यस वर्ष भने कृषकले बिउ खरिद गरेका भए पनि लगाउन नपाएको कृषि ज्ञान केन्द्रले जनायो। कात्तिक÷मंसिरमा हिउँसँगै चिसोका कारण खेत बाँझै रह्यो अहिले पनि आलु लगाउने सिजनसम्म पानी पर्दा समस्या देखिएको कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताए।
डडेल्धुरामा प्रधानमन्त्री आलु सुपरजोन परियोजना र विभिन्न स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार ६ सय हेक्टरमा आलुखेती भइरहेको जनाएका छन्। यस आर्थिक वर्षमा थप ५ सय हेक्टर जमिनमा आलुखेती गर्ने तयारी रहेका बेला मौसम प्रतिकूलका कारण समस्या देखिए पनि उपाय खोजी लक्ष्य पूरा गर्न परेका परियोजना प्रमुख खेमराज जोशीले बताए।
प्रतिक्रिया दिनुहोस !