तेल निर्यातमा व्यापारीको तानातान

तेल निर्यातमा व्यापारीको तानातान

विराटनगर : नेपालबाट पाम तेलको आयातमा प्रतिबन्ध फुकुवा गरेको केही दिनमै भारतले पुनः कोटा तोक्दै लाइसेन्स रोकिदिएको छ। जसको सोझो असर तेल निर्यात गर्ने तयारीमा रहेका विराटनगरका तेल उद्योगी व्यापारीमा परेको छ।

गत पुस २३ गते भारत सरकारले सूचना प्रकाशित गर्दै पाम तेलको आयातमा प्रतिबन्ध लगाएको थियो। नेपाल सरकारका उद्योग–वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगड र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकालगायत केही प्रतिष्ठित उद्योगीको संयुक्त पहलमा माघ तेस्रो हप्तामा कोटा निर्धारण गर्दै भारतले तेल आयात सुरु गरेको थियो।

तर, विराटनगरमा रहेका तेल उद्योगले तेल उत्पादन गरी तेल निकासी गर्न नपाउँदै वीरगञ्जका उद्योगीले एकै पटक साढे तीन लाख मेट्रिक टन पाम तेलको आपूर्तिका लागि लाइसेन्स लिएपछि भारतको विदेश व्यापार महानिर्देशनालयले (डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड–डीजीएफटी)ले नेपालका अन्य व्यवसायीलाई लाइसेन्स दिन बन्द गरेको छ। तेल निर्यात गर्ने विषयमा भारतसँग भएको छलफलमा नेपालले वार्षिक साढे ३ देखि ४ लाख मेट्रिक टन पाम तेल भारत पैठारी गर्न सकिन्छ भनेर कन्भिन्स गरेको थियो। सोही अनुसार भारतले कोटा निर्धाण गरेको हो।

वीरगन्जका उद्योगीको अति महत्वाकांक्षाका कारण डीजीएफटीले लाइसेन्स जारी गर्न बन्द गरेको आरोप विराटनगरका उद्योगीको छ। ‘भारतसँग निश्चित कोटामा सहमति भएको थियो, खुल्नासाथ वीरगञ्जका व्यापारीले सबै ओगटेछन्’, विराटनगरको क्वालिटी रिफाइनरी उद्योगका सञ्चालक विपिन काबराले भने, ‘कोटा पुगेपछि भारतले कोटा लाइसेन्स रोकेको हो।’ उनका अनुसार अहिले यसले गर्दा निर्यात गर्ने उद्योगीलाई मात्रै नभई भारतबाट आयात गर्नेलाई पनि समस्या बनाइदिएको छ।

वीरगञ्जका एकै उद्योगीले सवा लाख मेट्रिक टनसम्म पाम तेल आपूर्तिको कोटा लिएका कारण अन्य उद्योगी समस्यामा परेको मोरङ व्यापार संघका अध्यक्ष एवं बाबा भेजिटेबल एन्ड रिफाइनरी उद्योगका निर्देशक प्रकाश मुन्दडाले बताए। ‘कोटा एकै व्यापारीदेखि एकै स्थानका व्यवसायीले मात्रै लिँदा अन्य उद्योगी समस्यामा परेको हो’, निर्देशक मुन्दडाले भने, ‘मिलेर लिएको भए सबैलाई बिक्री गर्न सहज हुने थियो।’ बंगलादेशका उद्योगीले भने सबै मिलेर ३७ हजार मेट्रिक टन पाम तेल निर्यात गर्ने कोटा लिएछन्। नेपालका उद्योगीमा समन्वय र सहकार्य नहुँदा समस्या भएको विराटनगरका उद्योगी गुनासो गर्छन्।

नेपालका उद्योगीले २ वर्षयता साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा भारततर्फ पाम तेल निकासी गर्दै आएका छन्। भारतले नेपालबाट गएको पाम तेलमा १२ प्रतिशत जीएसटी मात्र लिएको छ। खाने तेलमा पाम तेल सबैभन्दा सस्तो मानिन्छ। विराटनगरको खुद्रा बजारमा पाम तेलको मूल्य प्रतिलिटर १ सय १० देखि १ सय २० रुपैयाँ पर्छ। पाम तेल सबैभन्दा बढी होटलमा प्रयोग गरिन्छ।

विराटनगरदेखि केएल दुगड समूहले गत आर्थिक वर्षको मध्यदेखि स्वस्तिक आयल इन्डस्ट्रिजबाट पाम तेलको निकासी सुरु गरेको थियो भने त्यसपछि मुन्दडा ग्रुपको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, घनश्याम काबराको क्वालिटी रिफाइनरी र शारडा–राठी समूहको पशुपति खाद्य तेल उद्योगले पाम तेलको निकासी गर्दै आएको छ। चालु आर्थिक वर्षको ५ महिनामा विराटनगर नाकाबाट साढे ४ अर्ब र वीरगञ्ज नाकाबाट साढे ६ अर्ब बराबरको पाम तेल भारत निर्यात भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.