भेडेटार डाँडाबाट जिपलाइनमा सरर...(फोटो फिचर)
भेडेटार : पर्यटकीय क्षेत्र भेडेटारमा जिपलाइनको सुरुवात भएको छ। साहासिक पर्यटकीय खेलको रुपमा रहेको जिपलाइन प्रदेश १ मा यो पहिलो हो। शनिबारबाट यसको औपचारिक उद्घाटन गर्दै सुरुवात गरिएको छ। उद्घाटन मुख्यमन्त्री शेरधनराईले गरे।
करिब ७ महिना अघिदेखि वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले यसको तीन करोड लागतमा निर्माण गरेको हो। धरान ४ स्थित भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डको रहेको प्रालिका सञ्चालक केदार थापाले बताए।
यसको सञ्चालकमा केदार थापा, यम राई, डोलिका लिम्बू र विवस भण्डारीसहितको टिम रहेको छ। यो टिमले भेडेटारमा २ वर्ष अध्ययन गरेर सबै प्रक्रिया पुरा गर्दै जिपलाइन फ्लाइङको सुरुवात गरेको सञ्चालकको भनाइ छ।
यसले धरानसहित धनकुटा र समग्र प्रदेश १ मा पर्यटक तान्नमा सहयोग पुर्याउनुको साथै साहसिक खेल पर्यटनको हबको रुपमा विकास गर्न मदत पुर्याउने जिपलाइनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले बताए।
जीपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३० देखि ४० सेकेण्डसम्म लाग्ने सञ्चालकको भनाइ छ। जिपलाइनमा चढ्न आउनेलाई क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरी तीन प्रकारको सुविधा सञ्चालकले दिएको छ। क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्छन्। कपलमा जोडीले बसेर फ्लाइङ गर्छन्। क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैयाँ शुल्क तोकिएको छ।
प्रालिका सञ्चालक थापाका अनुसार सञ्चालनका सुरुवाती चरणमा २० प्रतिशतसम्म छुट दिइएको छ। यसमा प्रयोग गरिएका सामग्री अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल कम्पनी भएकाले सुरक्षामा कुनै समस्या नहुने सञ्चालकको भनाइ छ।
जीपलाइन साहसिक खेलमा पर्ने भएकाले यसमा साहसिक पर्यटकको ५ लाखका बीमा पनि हुनेछ। यसमा प्रयोग भएको तारको क्षमता ११ हजार किलो भारको छ, भने सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय किलो भार र क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको रहेको छ। नेपालीसहित धेरै भारतीय पर्यटक पुग्ने धनकुटा र सुनसरीको सीमा क्षेत्रमा फैलिएको भेडेटार क्षेत्र तराईदेखि केहीमाथि भएकाले गर्मी छल्न र पहाडमा चडेर विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ।