नारी र लगाम

नारी र लगाम

डा. अम्बिका अर्याल

हिजो बाल्यकालमा विवाह बन्धनमा बाँधिएर घरायसी झमेलामा रुमलिएकी हजुरआमा र आज अक्षर चिनेर विभिन्न सभा–समारोहमा भाग लिन पुगेकी नातिनीको तुलना गरेर समाज नारी अधिकारले फड्को मारेको कुरा गरिरहन्छ।


एक्काइसौँ शताब्दीमा आएर पनि मानवताका परिभाषाभित्रै रुमलिएका समान प्राणीका अस्तित्वलाई नियाल्ने आँखा फरक छन्। ती आँखामा पारदर्शी चस्मा अनुभूतिले मात्र होइन समय, परिवेश, अवसर, अधिकार, कानुनी व्यवस्था एवं संस्कारका लगाममा कसिएको छ। स्वतन्त्र रूपमा जीवन जिउनु सबैको मौलिक हक भनिरहँदा पखेटा काटिएका पक्षीहरू हावामा फडफडाउन नपाउँदै पछारिएको दृश्य देखेर पनि नदेखेको झैँ गर्ने परिपाटी जीवित छ।

सभ्यताको इतिहासमा समान दर्जामा रहेका मानवीय अस्तित्व जीवनपर्यन्त भिन्न मूल्यमा वर्गीकृत हुँदै जाँदा त्यसको हाँगाबिँगालाई छाँट्नेभन्दा फस्टाउन मद्दत पुर्‍याउने हातहरू पुजिएका छन्। त्यसैले नारीका लागि जति नै स्वतन्त्रताको गीत गाइए पनि त्यसमा ताल मिलाएर नाच्न सक्ने अवस्था अझै सिर्जना भइनसकेको अनुभूति आजका नारीमा छ। 

हजुरआमाको जीवन र नातिनीको जीवनमा निकै भिन्नता नदेखिएको होइन। हिजो बाल्यकालमा विवाह बन्धनमा बाँधिएर घरायसी झमेलामा रुमलिएकी हजुरआमा र आज अक्षर चिनेर विभिन्न सभा र समारोहमा भाग लिन पुगेकी नातिनीको तुलना गरेर समाज नारी अधिकारले फड्को मारेको कुरा गरिरहन्छ। तर, हजुरआमाको जीवनमा भएका समस्या आज रूप मात्रै बदलेर उभिएका छन्। एकसरो धोती फेर्न, केटाकेटीका पेट भर्न, लोग्नेलाई विदेशमा पढ्न पठाएर खर्च भर्न तथा अन्नपातको जोहो गर्न पर्दाका हजुरआमाका संघर्ष पनि संघर्ष नै थिए।

आजका नारीले आफूलाई पूर्ण मानव बनाउनका लागि गरेको संघर्ष त्योभन्दा कम छैन। कामकाजी नारीहरूका समस्याका पर्खाल नाघिनसक्नुका छन्। बिहान बेलुकीको समय घरधन्दा, भान्सा, परिवारको हेरविचार, बालबच्चाको स्याहारसुसार आदि जिम्मेवारीमा पूर्णकालीन जागिरेझैँ खटेर लाग्नुपर्ने, घरका जिम्मेवारी पूरा गरिसकेपछि कामकाजमा पुरुषसरह नै सक्रिय रूपमा होमिनुपर्ने आजका नारीका संघर्षलाई कसरी लिने ? यसर्थ नारीका संघर्ष एक्काइसौँ शताब्दीका समयमा ह्वात्तै घटेको निष्कर्ष धेरैको रहे पनि मलाई भने विविध भेष बदलेर अकासिएझैँ लाग्छ। 

समाजले निर्माण गरेको संस्कृति नै नारी स्वतन्त्रताको पहिलो लगाम भइरहेको छ। लगामलाई जति धेरै खिच्न सक्यो, त्यति लगाम समाउनेवाला रमाउन सक्छ। चाहे, त्यो लगामधारी जुनसुकै वर्ग, जाति, धर्म, पेशा अवलम्बन गर्ने किन नहोस्। आखिर त्यो लगाम बनाउनेले आफ्नो भलाइलाई पहिलो शर्तमा राखेको हुन्छ। विभिन्न धर्ममा नारीमाथि लगाइएका विभेदका लगामले सिर्जना गरेको परिस्थितिसँग जुध्न नारीलाई सहज कहाँ छ र ? मूल्य, मान्यता, संस्कार, पाप–धर्मसँग जोडिएका अनेक कुरीतिका लगामलाई व्यावहारिक रूपमै तोड्नका लागि आजका नारीले गर्नुपरेको संघर्ष अतुलनीय छ। जतिसुकै सुधारिएको संविधान आए पनि दिदीबहिनीलाई अंश दिन सक्ने गरी दरिलो मुटु कमै दाजुभाइलाई प्राप्त भएको छ। मठमन्दिरमा नारीहरूलाई पुजारीका रूपमा सकार्न सक्ने सोच कहिले पलाउने हो ?

महिनावारीबिना सृष्टि सम्भव नहुने जान्दाजान्दै कतिञ्जेल दूरदूरमा कष्टप्रद जीवन बिताउनुपर्ने हो ? छाउगोठमा बलात्कृत भएर कति नारीले मर्न पर्ने हो ? शृंगारलाई नारीको गहना नभएर लगामका रूपमा बुझाउने शिक्षा कहिले लागू गरिने हो ? भ्रमपूर्ण जीवनबाट वास्तविकतामा जिउन सक्ने नागरिकका हैसियतमा अपनत्व खोज्दै कहिले नारीहरू जाग्ने हो ? दुई चार जनाले बोलिदिँदैमा घरघरमा अधिकारका कोसेली बोकेर कसले नारीहरूलाई पुर्‍याउने जिम्मा लिने हो ? यस्ता अनगिन्ती प्रश्न अनुत्तरित छन्। यसकै खोजीमा आजका नारी संघर्षमा जुटिरहँदा कसरी लैंगिक समानता र स्वतन्त्रताको अनुभूतिले हाँस्न सकिएको छ र ? 

कानुनी दायरा अनेक बने पनि त्यसलाई फुकुवा गर्ने तौरतरिकाका रूपहरू लगामझैँ कसिँदै गइरहेका छन्। एसिड आक्रमण गरेर कुरूप पारेपछि पुरुषत्वको विजय मनाउनेदेखि लिएर सामूहिक रूपमा अप्राकृतिक अत्याचार गरेर गुमनाम बनाउने पुरुषत्व बोकेका व्वाँसाहरू डुक्रिँदै हिँड्ने आजको समाजमा नारीको जीवन दिनानुदिन कठैबरा बन्दै गइरहेको छ। आफैँले जन्माएका सन्तान मात्र होइन, आफैँलाई जन्म दिने आमासमेत परिवारभित्रै लुटिने समाचारहरू सधँै पढ्नुपर्दा आजका नारीका मनमा कस्तो हुरी मडारिँदो हो ?

नारीमाथि अत्याचार गर्ने अमानवीय व्यवहारका पुरुषहरूको पौरुष विनाश गर्ने योजनामा जुटेका महिला अधिकारकर्मीमाथि नै बढ्दै गएको हिंसात्मक व्यवहारका लागि कसले लड्ने ? एउटा पुरुषलाई गाली गर्नु सबैलाई मुछ्नु हो भन्ने कुविचार बोकेका व्यक्तिले भड्काएको सामाजिक ‘दंगा’लाई टुलुटुलु हेर्ने शासन व्यवस्थाको विरोधमा को उत्रने ? हिजो अनेक किसिमले अपराधी ठहरिएका मानिसहरू दूधले नुहाउँदै छरछिमेकमा हिँडिरहँदा चेलीबेटीलाई घरभित्रै कहिलेसम्म लुकाउने ? यी विभिन्न समस्यासँग जुध्नु आजका नारीको कठिन चुनौती बनेको छ। 

यद्यपि, आजका नारी आवाजविहीन छैनन्। आफूमाथि भएको विभेद, हिंसा, दुव्र्यवहार छुट्याउन सक्ने पनि भएका छन्। कसैले आफूलाई अनैतिक व्यवहार गर्दै छ भन्ने जानीजानी चुपचाप सहेर बस्ने स्वभाव हराउँदै गएको छ। प्रतिफल जे होस् तर नारी मुकाबिलामा उत्रेका छन्। समाज, संस्कार, परिवार आदि जेसुकैले आफूमाथि लगाएको लगामका विरुद्धमा मौन स्वीकृति जनाएर जीवनभर आज्ञापालक, सहनशील, लज्जालु नारीका विशेषणले सिंगारिँदै जीवन जिउने नारीको संख्या घटेको छ।

मानव अस्तित्व के हो ? नारी र पुरुषका अधिकार समान किन छैनन् ? हरेक क्षेत्रमा नारीमाथि लगाइएका लगामहरूमा नारीले नै समर्थन गर्नुको कारण के हो ? त्यस्ता नारीमा भएका पितृसत्तात्मक प्रवृत्तिलाई बदल्न आजका नारीले कसरी संघर्ष गर्नुपर्दछ ? आफ्नो र पराईको नातागत विभेदमा सन्तानहरूमा किन विभेद हुने गरेको छ ? शैक्षिक, आर्थिक हैसियत कमजोर भएका नारीका सोचमा कसरी दमनात्मक राजनीति बढिरहेको छ ? आदि विविध विषयमा शिक्षित नारीहरू सचेत बन्दै छन्।

अशिक्षित तथा निम्न वर्गका नारीका समस्या भने अहिलेसम्म उही हालतमा छन्। यसर्थ नारी भएर जन्मन पाउँदा आफैँमा गर्व गर्न मन लाग्ने परिस्थितिको सिर्जनाका लागि विभेदका लगामलाई च्यात्न नारीले गर्नुपर्ने संघर्ष अझ बाँकी नै छ। नारीहरूको स्वतन्त्र र समृद्ध जीवनले मात्र हरेक परिवार, समाज र देशको समृद्धि सम्भव छ भन्ने भावनालाई हरेक पुरुषले आत्मसात् गर्नु जरुरी छ। नारीको संघर्ष पुरुषसँगको लडाइँमा केन्द्रित भइरहेको छ भन्ने गलत मानसिकताबाट गुज्रिएका पुरुषकै असहयोगले संघर्षका चुनौतीसँग नारीले लड्नु परिरहेको छ। यसर्थ नारीको आजको संघर्ष पितृसत्तासँग हो भन्ने चुरो बुझेर लैंगिक विभेदका लगामलाई च्यात्न पुरुषहरूले पूर्ण रूपमा सहयोग नगरेसम्म नारी हुनुको गर्व महसुस हुनेछैन भन्नु एक्काइसौँ शताब्दीका नारीहरूको प्रतिनिधि मानसिकता हो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.