शान्ति मिसनमा नेपाली सेना अब्बल

शान्ति मिसनमा नेपाली सेना अब्बल

काठमाडौं : विश्व शान्तिका लागि सुरक्षा फौज पठाउने सूचीमा चौथो स्थान हासिल गरेपछि नेपालले सेक्टर कमाण्डर÷पर्यवेक्षक (उच्च तह) मा दाबी गर्ने भएको छ।

जंगी अड्डाले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा कूटनीतिक पहलकदमी अझै बलियो र प्रभावकारी बनाउँदै उच्च तहका लागि नेपाल योग्य भएको रक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए। सरकारले नेपाली सेनामा हाल रहेको संख्याको १० प्रतिशत सेनालाई विश्व शान्तिमा खटाउने निर्णयसँगै यो पहलकदमी गर्न आवश्यक रहेको सरकारी ठम्याइ छ। यसबाट नेपालको सैन्यकूटनीति थप प्रभावकारी हुने विश्वास मन्त्रालयको छ।

यसअघि नै सेनाले फ्रान्स, रसिया, ब्रसेल्स, इजिप्ट वा दक्षिण अफ्रिकामा पनि सैन्य सहचारी राख्न प्रस्ताव गरिसकेको छ। न्यूयोर्क, बासिङ्टन, दिल्ली, बेइजिङ, इस्लामावाद, लण्डन र ढाकामा सैनिक सहचारी छन्। विश्वमा पछिल्लो समय सैन्य कूटनीतिको दबदबा बढ्दै गएका बेला परराष्ट्र मन्त्रालयले मात्र नसक्ने आँकलन गर्दै रक्षाले यस्तो योजना बनाएको हो। रक्षाका अधिकारीले सैन्य सहचारी थप प्रभावकारी बनाउने विषयमा परराष्ट्रको समन्वयमा छलफल भइरहेको बताए। सेनाले सैन्य सहचारी माग गरेको निकै समय भइसकेको र यसमा छलफल भइरहेको रक्षासचिव रेश्मीराज पाण्डेले बताए।

नेपाली सेनाले विदेशी भूमिमा गरेको कार्यको प्रशंसा गर्दै त्यसलाई कूटनीतिमा पनि रूपान्तरण गर्नपर्ने सुझाव उनको छ। अन्तर्राष्ट्रिय शान्ति सेनामा सेनाले माथिल्लो पद पाउन कूटनीति र राजनीतिक लविङ नै तीव्र आवश्यक भएकाले निष्कर्ष निकालेको छ। रक्षा मन्त्रालयको निर्देशनमा परराष्ट्र र नेपाली सेनाले संयुक्त रूपमा कूटनीतिक पहल गर्ने भनिएको छ। शान्ति मिसनमा नेपाली सेनाले निकै डरलाग्दो भनिएका कार्यसमेत सहजै सम्पन्न गरिरहेकाले नेतृत्व स्तरमा पनि आवश्यक पर्ने धारणा अन्य बहुराष्ट्रिय सेनाको समेत माग छ।

‘नेपालीको नेतृत्व रहेका स्थानमा उसको कार्यशैली राम्रो, स्थानीयसँग सहज घुलमिल हुने हुनाले नेपाली नेतृत्व रुचाइएको पनि छ’, रक्षाको सुझावमा उल्लेख छ। नेपालले उच्चस्तरीय भेटघाट होस् या सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रसँग उच्चस्तरको सहभागिता समानुपातिक रूपमा हुनुपर्ने धारणा राख्दै आएको छ। पछिल्लो समय अफ्रिकी मुलुक मालीमा राखिएको बिस्फोटक पदार्थ नेपाली सेनाले हटाएपछि उसको प्रशंसा चुलिएको छ। प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १ सय ४० शान्ति सैनिक मालीमा बिस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छन्।

मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश ग्यालेन्सपोर्रेले संयुक्त राष्ट्रसंघ पदक सम्मान गर्दै नेपाली शान्ति सेनाको प्रशंसा गरेका हुन्। नेपाली सेनाको योगदानबाट मालीको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको पनि उनले बताएका थिए। ‘नेपाली शान्ति सैनिकले शान्ति स्थापनामा गरेको योगदान प्रशंसनीय छ, स्थानीयवासीले त्यसको प्रत्यक्ष अनुभूति गरिरहेका छन्’, उनले भनेका थिए।

६ दशकदेखि प्रतिनिधित्व गरेको शान्ति मिसनमा एक लाख ३० हजार नेपाली सेना सहभागी भइसकेका छन्। यति हुँदासमेत नेपालबाट फोर्स कमाण्डरको पदमा जम्मा ६ जनाले अवसर पाउनु दुःखद् भन्दै कूटनीतिक र सैन्य लविङ तीव्र पार्ने निर्णयमा सरकार पुगेको हो। पछिल्लो समय मिसन प्रमुखका रूपमा उपरथी ईश्वर हमाल सिरियाको गोलानहाइट्स जाँदैछन्। तर नेपालबाट अहिले कतै सेक्टर कमाण्डर नै छैनन्।

विश्वका एक सय २२ राष्ट्रले शान्ति मिसनमा सेना पठाउने गरेकोमा नेपाल चोथौमा आएको हो। हाल द्वन्द्वग्रस्त ११ मुलुकमा पाँच हजार ६ सय ५८ (नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५ सय ६२ सहित) नेपाली सुरक्षाकर्मी विदेशी भूमिमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। शान्ति मिसनमा सहभागी भएको ६ दशक लामो इतिहासमा ६५ जनाले ज्यान गुमाएका छन् भने ६६ जना गम्भीर घाइते भएर फर्केका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.