मनाङ सेमिफाइनलमा
पोखरा : पाँच पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा झापा–११ लाई १–० गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो।
पोखरा रंगशालामा भएको क्वार्टरफाइनलमा अञ्जन विष्टको एक मात्र गोलको मद्दतमा मनाङले अन्तिम चारमा स्थान बनायो।
खेलको ७५औं मिनेटमा उजन उपरकोटीबाट पाएको बललाई सदुपयोग गर्दै अञ्जनले डीबक्स भित्रबाट प्रहार गरेको बलले विपक्षी पोस्टको जाली चुमेको थियो।
यसअघि खेलको २१औं मिनेटमा मनाङका विमल रानाले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिएको थियो। निशान लामाको पासमा उनले बललाई विपक्षी पोस्टमा प्रहार गर्ने प्रयास गरेका थए। यसैगरी खेलको अन्तिम समयमा मनाङका जीवन गुरुङले प्रहार गरेको बलले पनि सही दिशा लिन सकेन।
झापाका खेलाडीले पनि पाएका केही राम्रो अवसर सदुपयोग गर्न सकेनन्। खेलको इन्जुरी समयमा हेमन्त थापामगरले उपलब्ध गराइदिएको पासमा श्याम मुरमुको हेडलाई मनाङका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए। खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ दी म्याच बने।
खेलपछि झापा–११ का प्रशिक्षक मिलन गुरुङले आफ्ना तीन खेलाडी घाइते हुँदा पनि मनाङसँग प्रतिस्पर्धात्मक खेल खेलेको बताए।
मनाङका प्रशिक्षक फुजा टोपेले आफ्ना खेलाडी धरानबाट पोखरा थालेकाले पनि जितका लागि संघर्ष गर्नुपरेको बताए। मनाङ सेमिफाइनलमा पुग्ने दोस्रो टोली हो। यसअघि आयोजक सहरालाई हराउँदै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ। मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन्।