कोविड १९ : ३ हजार ६ सयको मृत्यु
कोविड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्वभर १ लाख ५ हजार ८३६ पुगेको छ भने यसका कारण ३ हजार ५९५ व्यक्तिको मृत्यु भएको छ।
डिसेम्बरमा चीनको मध्य क्षेत्रमा यसको पुष्टि भएपछि विश्वभर चिन्ताको विषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण शनिबारसम्म एशियामा ३ हजार १६२ जनाको मृत्यु भएको छ।
त्यस्तै यूरोपमा कोविड–१९ संक्रमित संख्या ९ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ। मध्यपूर्वमा ५ हजार १५८ संक्रमित व्यक्ति रहेका छन् भने १४९ को मृत्यु भएको छ। अमेरिका र क्यानडामा २७० जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।
चीनमा नयाँ संक्रमण र मृत्युदर घट्दै
पइचिङ : सबैभन्दा पहिले कोविड–१९ को संक्रमण भएको चीनमा डिसेम्बरदेखि शनिबारसम्म ८० हजार ६९५ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ। यो अवधिमा चीनमा ३ हजार ९७ जनाको मृत्यु भएको छ। शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप संक्रमितको संख्या ४४ रहेको छ भने यही समयमा २७ जनाको मृत्यु भएको छ। चीनमा करिब २० दिन पहिले संक्रमणका कारण एकै दिनमा २ सयभन्दा बढीको मृत्यु हुने गरेको थियो।
अहिलेसम्म चीनबाहिर संक्रमितको संख्या २५ हजार १४१ रहेको छ भने ४९८ जनाको मृत्यु भएको छ। त्यस्तै शनिबार साँझ ५ बजेपछि समाचार तयार पार्दासम्म करिब १८ घण्टामा विश्वभर थप ८८९ जनामा संक्रमण पुष्टि भएको र यो समयमा १२ जनाको मृत्यु भएको बताइएको छ।
चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकमा क्रमशः दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स र जर्मनी रहेका छन्।
दक्षिण कोरियामा ७ हजार ३१३ संक्रमित रहेका छन् भने ५० जनाको मृत्यु भएको छ। इटालीमा ५ हजार ८८३ संक्रमित भएका छन् भने २३३ को मृत्यु भएको छ। इरानमा ५ हजार ८२३ जनामा संक्रमण पुष्टि भएकोमा १४५ जनाको मृत्यु भएको छ। त्यस्तै जापानमा शनिबारसम्म फ्रान्समा ९४९ संक्रमितमध्ये १६ जनाको अहिलेसम्म मृत्यु भएको छ।
जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा संक्रमण पुष्टि भएकोमा यो संख्या त्यसपछिको एक साताको अन्तरालमा ६८४ पुगेको छ भने जापानमा विदेशी पानीजहाजमा संक्रमण भेटिएका यात्रुबाहेक कुल ४३८ जनामा संक्रमण पुष्टि भएको छ।
दक्षिण कोरियामा मृत्यु संख्या नियन्त्रणमा
सोल : दक्षिण कोरियामा कोविड १९ संक्रमण विगत २४ घण्टामा थप २७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्। यससँगै दक्षिण कोरियामा संक्रमितको संख्या ७ हजार ३१३ पुगेको छ। विगत एक सातामा कोरियामा नयाँ संक्रमणदरमा निकै कमी देखिएको उल्लेख छ। यहाँ गत साताको मध्यतिर संक्रमण दर दैनिक ५ सयभन्दा बढी रहेको थियो।
यो भाइरसका कारण कसैको पनि मृत्यु नभएको दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार कोविड–१९ संक्रमणका कारण देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। विश्वव्यापी चिन्ताको विषय बनेको यो भाइरसको संक्रमणका कारण भएको मृत्यु दर ०.७ रहेको छ।
दक्षिण कोरियाको थेगु शहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र ७ हजार १०३ व्यक्तिमा संक्रमण भेटिएको छ। यो दक्षिण कोरियामा संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यिनै दुई स्थानका व्यक्ति रहेका छन्। राजधानी सोल र ग्योंगी प्रान्तमा क्रमशः १२० र १४१ जनामा संक्रमण पुष्टि भएको छ। दक्षिण कोरियाले देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ।
करिब २५ लाख जनसंख्या रहेको थेगुलाई दक्षिण कोरियामा भाइरस संक्रमणको उद्गमस्थल मानिएको छ भने सरकारले यस क्षेत्रलाई संक्रमण खतराका दृष्टिकोणले ‘विशेष क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियानमा जुटेको छ।
थेगुमा रहेको धार्मिक अल्पसंख्यक समुदाय सिन्चोन्जीबाट चर्चमा प्रार्थनाका लागि पुगेका व्यक्तिबाट यो संक्रमण फैलिएको थियो।
दक्षिण कोरियामा संक्रमितमध्ये ७९.४ प्रतिशत व्यक्तिमा सामूहिकरूपमा संक्रमण भेटिएको र यसको ६२.८ अर्थात् ४ हजार ४८२ संक्रमित व्यक्ति सिन्चोन्जी समुदायका रहेको कोरियाली स्वास्थ्य अधिकारीले बताएका छन्।
कोरियामा जनवरी ३ देखि संक्रमण परीक्षण शुरु गरिएको र मार्च ७ सम्म १ लाख ८८ हजारमा संक्रमण जाँच भएको र तीमध्ये १ लाख ६२ हजार व्यक्तिमा संक्रमण देखिएको छैन। बाँकी १९ हजारमध्ये ७ हजार ३१३ मा संक्रमण पुष्टि भएको छ भने केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ।