२५ मेगावाटको सोलार प्लान्ट वैशाखभित्रै
काठमाडौं : नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जानकारी दिएको छ। यसमध्ये १० मेगावाट यही चैतभित्र र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिनेछ। बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ।
विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ। विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका ३ ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान भइरहेको छ। एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ। एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ।
देवीघाट विद्युत्गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडान गर्न ६६-३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपाने र बज्रभूषण चौधरीलगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायत विषयमा छलफल गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए। त्यतिबेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायत कारण ढिलाइ भएको जानकारी दिइएको छ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो। सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै ५ वर्षसम्म गर्ने छ। कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ। कम्पनीले प्लान्टबाट वार्षिक तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेन्टेड इनर्जी) आपूर्ति गर्नुपर्नेछ।
सुरुमा जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो। तर, परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाइ र रेट वृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन। अहिले एनइए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ।
प्लान्ट सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ। काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ। प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ‘ए’ मध्यमस्र्याङदी,मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत् केन्द्र विद्युत्को माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्नेछ। यसले पिक समयको विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ।