रंगबिनाको होली
बैतडी : विगतका फागु पर्वमा बैतडीका गाउँगाउँमा ढोलक बजेको आवाज सुनिन्थ्यो भने होली खेलेको आवाजले गाउँघर गुञ्जायमान हुन्थ्यो। विभिन्न क्लब, समूह र विद्यालयहरुले गाउँगाउँमा पुगेर होली खेल्ने गर्दथे। फागु पर्वमा गुञ्जायमान गाउँघर यो वर्ष भने सुनसान छन्। कोरोना भाइरसको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले होली नखेल्न निर्देशन दिएकाले गाउँघर सुनसान भएका हुन्।
‘अरु वर्ष विद्यालयहरुले, क्लबहरुले, विभिन्न आमा समूहहरुले होलीको आयोजना गर्दथे। तर यो वर्ष गाउँघरमा होलीको रौनक आएन्। फागु पर्व आएको केही थाहा नै भएन्।’ सुर्नया स्थानीय देवसिंह महराले भने, ‘रंग छ्यापेर एक अर्कासँग रमाइलो गर्दै गाउँघरमा खेलिने होलीको सम्झना गर्दै यो वर्ष होली पर्व सकिएको छ।’ गाउँघरमा होली नखेलेकाले यो वर्ष होली पर्व रौनक नभएको दोगडाकेदारका गणेशसिंह बिष्टले बताए।
सुर्नया ५ का उद्धव बिष्टले कोरोना भाइरसको जोखिम हुन सक्छ भन्ने कुरा विभिन्न सञ्चार माध्यमबाट सुनेकाले यो वर्ष होली पर्व बिना रंग नै सकिएको बताए।
त्यस्तै होली तथा फागु पर्वको अवसरमा बैतडी सुर्नया गाउँपालिका-३ स्थित धरमघरमा मेला लागेको छ। प्रत्येक वर्ष सो ठाउँमा फागु पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ। स्थानीयहरुले होली नखेलेपनि धरमघरको मेलामा भने सहभागिता जनाएका छन्।