गहुँमा सिन्दुरे रोगको प्रकोप
बैतडी : बैतडीका गहुँबालीमा पहेंलो सिन्दुरे रोग देखा परेको छ। रोगका कारण गहुँबाली नष्ट हुँदा किसान चिन्तित बनेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा पहेंलो सिन्दुरे रोग देखापरेको किसानले बताएका छन्।
दोगडाकेदार गाउँपालिका-२ को घमालीमा गहुँमा पहेंलो सिन्दुरे रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले बताए। उनले भने, ‘पहेंलो सिन्दुरे रोगका कारण किसानको गहुँबाली सखाप पारेको छ। बेँसी क्षेत्रमा गहुँबालीमा यो रोगको प्रकोप बढी देखा परेको छ।’
दोगडाकेदार गाउँपालिका २ मा मात्रै करिब ६ हेक्टर जमिनमा लगाएको गहुँबालीमा पहेंलो सिन्दुरे रोगको प्रकोप देखापरेको प्राविधिक भट्टले बताए।
गहुँबाली पहेंलो सिन्दुरे रोगले सखाप पारेको किसान वीरबहादुर कार्कीले जानकारी दिए। खेतमा लगाएको सबै गहुँबालीमा पहेंलो सिन्दुरे रोगको प्रकोप देखा परेको उनले बताए। बारीमा लगाएको सबै गहुँबाली पहेलो भएको छ। गहुँमा बाला लाग्ने बेलामा रोगले सखाप पारेको छ।
यस्तै पाटन नगरपालिका ६ मा पनि गहुँबालीमा पहेंलो सिन्दुरे रोगको प्रकोप देखापरेको पाटन नगरपालिकाका कृषि शाखाका प्रमुख महेश अवस्थीले बताए। गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबाली नष्ट भइरहेको उनले बताए। उनले भने, ‘गहुँ उत्पादनका लागि पकेट क्षेत्र मानिएकै ठाउँमा पहेंलो सिन्दुरे रोगले गहुँबाली सखाप पारेको छ। रोगका कारण बाला लाग्ने बेलामै नै गहुँबाली पहेंलो भएको छ।’
६ हेक्टरभन्दा बढी जमीनमा लगाएको गहुँबालीमा पहेंलो सिन्दुरे रोगको प्रकोप देखा परेको उनले बताए। उनले भने, ‘थोरै मात्रामा भए बिषादी छर्केर रोगको प्रकोप कम सकिन्थ्यो। तर धेरै प्रकोप बढी सकेकाले रोग नियन्त्रण गर्न मुस्किल भएको छ। यसले गहुँबाली नराम्ररी क्षति पुर्याएको छ।’ ढुसीका कारण गहुँबालीमा यो रोग देखा पर्ने गरेको छ। गहुँबालीमा पहेंलो सिन्दुरे रोगको प्रकोप देखा परेकाले यो वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। यो वर्ष लगातारको वर्षाले पनि गहुँबालीमा विभिन्न रोग देखा परेको उनले बताए।