अनुगमनमा लापरबाही
विराटनगर : कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्दै जाँदा यसबाट जोगिन लगाइने मास्क र स्यानिटाइजर अभाव भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय विराटनगरका प्रमुख हिमालय बरालको संयोजकत्वमा सोमबार अनुगमन टोली बजारमा निस्कियो। तर, अनुगमन टोलीका संयोजक बरालले नै मास्क र स्यानिटाइजर भेट्दा आफैं खरिद गर्न थाले। उनको यो कार्यका कारण अनुगमन प्रभावकारी बन्न सकेन भने मास्क र स्यानिटाइजरको कालोबजारी गर्नेलाई पनि बल पुग्यो।
संयोजक बरालसहित औषधि व्यवस्था कार्यालय विराटनगरका सञ्जीव शर्मा कँडेल, गुणस्तर तथा नापतौल कार्यालयका प्रमोद यादव, उपभोक्ता हित संरक्षण मञ्च, पब्लिक फोरम, विराटनगर महानगरपालिका र उद्योग वाणिज्य कार्यालयका प्रतिनिधिसम्मिलित अनुगमन टोलीले एकै स्थानमा १ घण्टा बढी समय बिताउँदा अन्य पसलका सटर बन्द भएका थिए।
जब टोली विराटनगर-३ स्थित सर्जिकल सामान तथा औषधिको थोक बिक्रेता श्री सुर्गी इम्पेक्समा पुग्यो बजारमा अभाव मास्क एक बट्टा रहेको थाहा पाउनासाथ अनुगमन संयोजक तथा निरीक्षण अधिकृतसमेत रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय विराटनगर कार्यालय प्रमुख बराल अनुगमन छाडेर माक्स र स्यानिटाइजर खरिदमा लागे।
उनले ईम्पेक्स सञ्चालकलाई २५ वटा मास्क र दुई वटा स्यानिटाइजर आफूलाई दिन आग्रह गरे। ईम्पेक्सका सञ्चालक राजेशकुमार अग्रवालले खुद्रामा मास्क बेच्न नमिल्ने र भ्याट बिलनै काट्नुपर्ने बताएपछि उनले कार्यालयको नाममा इम्पेक्समा भेटिएको २५ मास्क र दुईवटा स्यानिटाइजरको बिल बनाएर कार्यालयमा पठाउन भने।
अनुगमन संयोजक औषधिको अवस्था अनुगमन छाडेर व्यापारीले लुकाएको मास्क खरिदमा लाग्दा महानगरका प्रतिनिधिले तपाईंनै खरिदमा लाग्ने भन्दै व्यङय गरेका थिए। २ रुपैयाँ गोटा मास्क र १३० रुपैयाँ गोटा स्यानिटाइजर खरिद गरेका कार्यालय प्रमुख बरालले सञ्चारकर्मीसँग भने, ‘यो सूचना नेपाल भर मात्रै होइन कोरोनाको संक्रमण फैलिएको देशमा पनि पुगोस, विराटनगरमा २ रुपैयाँमै मास्क र तोकिएकै मूल्यमा स्यानिटाइजर पाइन्छ।’
बिक्रेताले मास्क र स्यानिटाइजर सस्तो मूल्यमा संयोजक बराललाई दिएपछि अनुगमनको खातामा ‘बजारमा उपलब्ध भएका सर्जिकल सामान सरल रुपमा उपलब्ध गराउने, मास्क न्यून रुपमा भएको पाईयो’ भन्ने उल्लेख गर्दै निस्किए।
उनले यसो भने पनि विराटनगरका फार्मेसीमा मास्क भेटिँदैन भने स्यानिटाइजरको पनि अभाव छ। केही व्यापारीले ५÷१० रुपैयाँमा पाइने मास्क ४० देखि ५० रुपैयाँ सम्ममा बिक्री गरेको सेवाग्राहीको गुनासो छ। आफूलाई पुग्ने मास्क-स्यानिटाइजर खरिद गरेका अनुगमन संयोजक बरालले बजारमा हल्ला भएजस्तो कालोबजारी नरहेको प्रतिक्रिया दिए।
अनुगमनमा निस्कनु अघिनै फामेर्सी बन्द
जिल्ला प्रशासन कार्यालयमा छलफलपछि संयोजक बराल नेतृत्वमा कोसी अस्पताल परिसरका फार्मेसी दिउँसो १ बजेबाट अनुगमन गर्ने तयारी थियो। तर, अनुगमनमा टोली ननिस्कँदै फार्मेसी र थोक बिक्रेताले सटर बन्द गरेका थिए।
अनुगमन टोलीले २ बजेबाट मात्रै अनुगमन गरेको थियो। एक दर्जन सहभागी अनुगमन टोली सबै एकै स्थानमा अनुगमन गर्ने भन्दै थुप्रिँदा कुनै फामेर्सी सञ्चालक कर्मचारीलाई छाडेर फार्मेमी जिम्मा दिएका थिए भने केही सटर बन्द गरी अन्यत्र गएका थिए।