सेयर बजार : ६ दिनमा ३ खर्ब गुम्यो
काठमाडौं : नेपाली सेयर बजारले पछिल्लो ६ दिनमा झण्डै ३ खर्ब रुपैयाँ सम्पत्ति गुमायो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बजार पुँजीकरण मंगलबार १७ खर्ब २३ अर्बमा झरेको छ। यो ६ दिनअघि नेप्से एक वर्षकै उचाइमा पुग्दाको अवस्थाभन्दा झण्डै ३ खर्ब रुपैयाँ कम हो।
अघिल्ला विश्व आर्थिक मन्दीको समय उकालो लाग्ने गरेको पुरानो प्रवृत्ति उल्टिँदै यसपटक भने अन्तरराष्ट्रिय बजारको प्रभाव नेपालमा पनि परेको छ। (नेप्से परिसूचक मंगलबार ६.०२ प्रतिशत अर्थात् ८६.३९ अंक घटेर १३ सय ४९ दशमलव ३१ अंकमा झरेको छ।
गत सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३० प्रतिशतभदा धेरै घटेपछि विश्वभरका प्रमुख ठूला सेयर बजार भारी मात्रामा ओरालो लागेको थियो। त्यसैकारण कतिपयले यस दिनलाई कालो सोमबार (ब्ल्याक मूनडे) भनेका थियो। मंगलबारको व्यापारमा अधिकांश अन्तरराष्ट्रिय बजारले ‘बाउन्स ब्याक’ गरेको छ। भुइँमा भकुण्डो फाल्दा थोरै भए पनि उफ्रिन्छ भन्ने सिद्धान्तका आधारमा वित्तीय बजार पनि धेरै घटेपछि एकपटक थोरै भए पनि बढ्छ भन्ने विश्वास गरिन्छ। त्यसैलाई ‘बाउन्स ब्याक’ भनिएको हो।
पछिल्लो एक महिनाको व्यापारमा नेप्से परिसूचकको रेखाचित्रले ‘हेड एन्ड सोल्डर’ आकृति तयार पारेको छ। मानव शरीरको शीर र दुई कुमजस्तै आकृति बन्दा बजार घट्दो प्रवृत्तिमा पुगेको विश्लेषण गरिन्छ। यस्तो आकृतिले आउँदा दिनमा नेप्से अझ ओरालो लाग्ने संकेत गर्छ। अहिलेको अवस्थामा नेप्से कम्तीमा १२ सय ७६ अंकसम्म झर्नसक्ने रेखाचित्र विश्लेषणले देखाएको छ। एक वर्षयताको व्यापारमा नेप्से ११ सय अंकभन्दा तल गएको छैन।
पछिल्लो एक दशकमा नेपाली सेयर बजार दोस्रोपटक ६ प्रतिशतभन्दा बढी अन्तरले घटेको छ। मंगलबार सबै समूहगत परिसूचक ओरालो लागेका छन्। जीवन बिमा कम्पनीको समूहगत परिसूचक ९ प्रतिशतभन्दा धेरै घटेको छ। व्यापार, बैंक, होटेल र निर्जीवन बिमा समूहका परिसूचक पनि ५ प्रतिशतभन्दा धेरै अन्तरले खस्किएका छन्। मंगलवार सस्ता र तुलनात्मक रूपले कमशल सेयर बढी सस्तिएका छन्।
सेयर बजार यसरी ओरालो लाग्दा नेपाली मुद्राको अवमूल्यन् भने त्यत्तिकै तीव्र भएको छ। पछिल्लो १० दिनमा जापनी येन नेपाली रुपैयाँको तुलनामा ९ प्रतिशतभन्दा धेरै महँगिएको छ। संसारकै सर्वाधिकर सुरक्षित मानिने मुद्रा येनमा विश्वभरका लगानीकर्ता झुमिएका छन्। अमेरिकी डलर अन्तरराष्ट्रिय बजारमा सस्तिए पनि नेपालीका लागि भने १० दिनमै ३ रुपैयाँ ४ पैसा महँगिएको छ। स्विट्जरल्यान्डको मुद्रा फ्र्याङ्क झण्डै ७ प्रतिशत महँगिएको छ भने डेनिस क्रोन, युरो र स्वीडिश क्रोनर पनि ६ प्रतिशतभन्दा धेरै महँगिएका छन्। उता, सुनको भाउले भने मंगलबार पुनः नयाँ कीर्तिमान बनाएको छ। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ।
नेपाली अर्थतन्त्रको प्राण अडेको खाडीको तेलभण्डारले मूल्य युद्धको सामना गर्नुपर्ने भएपछि नेपाली अर्थतन्त्र जटिल मोडमा पुगेको सरकारी अधिकारीले बताएका छन्। यसले आउँदा दिनमा नेपाली वित्तीय प्रणाली पनि पर्याप्त पुँजी अभावमा समस्यामा पर्नसक्ने जोखिम बढेको छ। यसअघि सरकारले विद्यमान कोरोना संक्रमणबाट नेपाली वित्तीय बजारलाई ठूलो असर नपर्ने बताउँदै आएको थियो। खाडी क्षेत्रमा रोजगारी कटौती भएमा नेपालको आयात भुक्तानी क्षेमतामात्र होइन, वित्तीय प्रणाली नै धरासायी हुन सक्ने जोखिम बढेपछि यसपटक सेयर लगानीकर्ता पनि बजारबाट पैसा निकाल्ने रणनीतिमा उभिन थालेको ब्रोकरले बताएका छन्।