फोहोर फ्याक्न स्थानीयको रोक
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले वडा नम्बर १ र २ सिमाना (पक्लिहवा क्षेत्र) मा फ्याक्दै आएको फोहोरमा स्थानीयहरुले रोकेपछि समस्या भएको छ। १३ वटा वडा रहेको सो नगरपालिकाबाट दैनिक ३० टन फोहोर निस्किन्छ।
नगरपालिकाले डण्डा नदी किनारमा वर्षौदेखि प्रविधि प्रयोग नै नगरी जम्मा गर्दै आएको फोहोर गन्याउन थालेपछि स्थानीयहरुले फोहोर फ्याक्नमा रोक लगाएका हुन्। नगरपालिकाले फ्याकेको फोहोर नष्ट समेत नगर्दा स्थानीय पीडित भएका छन्। वर्षौ देखि नदीकिनारमा फोहोर जम्मा गर्दा नदीको पानी प्रदुषित हुनुका साथै स्थानीय, जलचर प्राणीहरु समेत प्रभावित भएका छन्।
बुधवार संकलन गरिएको फोहोर स्थानीयहरुले फ्याक्न नदिएपछि नगरपालिका कार्यालय परिसरमै राखिएको नगरपालिका कार्यालयको सरसफाई शाखाका प्रमुख केशव पौडेलले बताए।
स्थानीयहरुले फोहोरले फ्याक्न अनुरोध गर्दै आए पनि नगरपालिकाले कुनै सुनुवाई नगर्दा बाध्यताले फोहोर फ्याक्नबाट रोक्नु परेको स्थानीयहरुको भनाई छ। बुधबार नगरबाट ८/१० वटा ट्याक्टरमा संकलन गरिएको फोहोर फ्याक्ने लैजाँदा स्थानीयहरुले ती ट्याक्टरहरु फर्काएका छन्।
नगरपालिकाले वैकल्पिक उपायका लागि ओमसतिया गाउँपालिकामा फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्न खोजेपनि विभिन्न विवादका कारण प्रसोधन केन्द्रस्थापना हुनबाट रोकिएको छ।
सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशाकिय अधिकृत तुल्सीराम मरासिनीले वडा नम्बर एक र दुईका वडाअध्यक्षहरु छलफल गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए।