डडेल्धुराको सीमावर्ती नाकामा हेल्थडेस्क
डडेल्धुरा : भारतसँग सीमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिकाका सीमाक्षेत्रमा कोरोना भाइरस कोभीड-१९ संक्रमण जाँच गर्न तथा स्वास्थ्य निगरानीका लागि हेल्थ डेस्क राखिएको छ ।
सीमाक्षेत्र नाकामा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र स्थानीय सरकार स्वास्थ्य विभाग तथा सुरक्षाकर्मीले निगरानी समेत बढाएको छ ।
सुदूरपश्चिम क्षेत्र नजिक रहेको भारतको लखनउमा पनि कोरोनाको संक्रमण बढेको खबर बाहिर आएसँगै सिमाक्षेत्रमा कडाइका साथ निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
कोरोना भाइरसबाट बच्न र जोगिनका लागि डडेलधुरामा रहेका नाकाहरुमा कोभीड-१९ को संक्रमण रोक्न हेल्थ डेस्क स्थापना गरिएको हो ।
भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको परशुरामनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए ।
नगरपालिकाको वडा नं ६ तातापानी र वडा नं ५ परिगाउँ नाकामा हेल्थ डेस्कको स्थापना गरेको हो।
हेल्थ डेस्कमा २/२जना स्वास्थ्यकर्मी तथा आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइएको समेत अधिकृत पनेरुले जानकारी दिए । यसैबीच परशुराम नगरपालिकाको खेल मैदान परशुराम रंग मैदानमा आइसोलेसन वार्ड समेत स्थापना गरिएको छ ।
यदि कोही कोरोनाको संकास्पद बिरामी फेला परे उनीहरुका लागि ४देखि ५ शैयाको आइसोलेसन वार्ड स्थापना गरिएको हो ।आवश्यकताअनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्वाथ्यकर्मी परिचालन तथा आइसोलेसन वार्ड आवश्यकताअनुसार थप गर्न सकिने अधिकृत पनेरुले जानकारि दिए ।
हाल तातापानीर परशुराम नाकाबाट दैनिक २ सय जना आहोरदोहोर गर्ने गर्दछन् ।यसअघि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत फागुन २२ गते हेल्थ डेस्क स्थापन गर्न स्थानीय तहलाई पत्राचार गरेको भएपनि स्थापना हुन सकेको थिएन ।
छिमेकी मुलुक भारतमा ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मृत्यु भने कसैको पनि भएको छैन ।विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ ।
यसकारण पनि सीमाक्षेत्रमा हेल्थ डेस्क राखिएको स्वास्थ्यकर्मी बताउँछन् । परशुराम नाकाबाट भएर आउने सर्वसाधारणको स्वास्थ्य चेकजाँच गर्नका लागि हेल्प डेस्क राखिएको भए पनि पहाडी क्षेत्र प्रवेश गर्ने भागेश्वर गाउँपालिकाका छोटी भन्सार र अन्यखुला क्षेत्रकाबारेमा भने चाँडै व्यवस्था हुने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !