पत्रकार वीरेन्द्र साहकी पत्नी भेटन घरमै पुग्यो महासंघको टोली
काठमाडौं : पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न अभियुक्त कुन्दन भनिने नरेन्द्रकुमार फौजदार पक्राउ परेपछि नेपाल पत्रकार महासंघको केन्द्रीय टोली बारा आएको छ।
उपाध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीले बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीसहितका प्रहरीलाई भेट गर्दै धन्यवाद दिएका छन्। प्रहरीसँगको भेटमा उपाध्यक्ष पोखरेलले १२ वर्षपछि पक्राउ परेका हत्यारालाई कडा कारवाही गर्न माग गरेका छन्।
महासंघको टोलीले पत्रकार साहकी पत्नी उमरावतीदेवीलाई भेट गरेको छ। जिल्ला प्रहरी कार्यालय पुग्नुअघि टोलीले कलैयास्थित घरमै पुगेर स्व. साहकी पत्नीलाई भेट गरेको हो। भेटमा महासंघ उपाध्यक्ष पोखरेलले पीडित परिवार र समग्र पत्रकारिता क्षेत्रलाई न्याय दिलाउनका महासंघ निरन्तर लागिरहेको बताए।
‘हामी तपाईसहित सबै पत्रकारलाई न्याय दिलाउन लागिरहेका छौँ। अपराधी भर्खरै पक्राउ परेको छ। कडा कारवाहीका लागि दबाब दिनेछौँ’, उमरावतीसंगको भेटमा पोखरेलले भने।
भेटमा उमरावतीदेवीले पक्राउ परेका हत्यारालाई कडा भन्दा कडा कारवाहीका लागि दवाव दिन आग्रह गरिन्। घटनापछि आफ्नो परिवार उजाडिएको भन्दै उमरावतीदेवीले अपराधीलाई कडा सजाय भएमात्रै न्याय मिल्ने बताइन्। उनले आफ्नो दुई सन्तानको उच्च शिक्षाका लागि पनि पहल गरिदिन टोलीका सदस्यसँग आग्रह गरिन्। टोलीले सन्तानको उच्च शिक्षाका लागि महासंघले पहल थाल्ने प्रतिबद्धता जनाए।
पत्रकार साहका एक छोरा र एक छोरी छन्। समाचार संकलन गर्न पिपरा बजार पुगेका साहलाई २०६४ असोज १८ गते कुन्दनसहितका व्यक्तिले अपहरण गरेका थिए। साहको शव कार्तिक २२ गते टांगियावस्तीको जंगलमा भेटिएको थियो। कुन्दनसहित पाँचजनाले साहलाई गोली हानेर हत्या गरी शव जंगलमा गाडेका थिए। घटनापछि देशभरका पत्रकार आन्दोलित बनेका थिए।
पत्रकार हत्यामा संलग्न रहेका लालबाबु चौधरी धामी र हरेराम पटेल अझै फरार छन्। यसअघि घटनामा संलग्न रहेका मेनेजर गिरी र रामएकवाल सहनी पक्राउ थिए। सहनी १० वर्षदेखि जेलमा छन् भने गिरी ११ वर्ष कैद भुक्तान गरी गत वर्ष रिहा भएका थिए।
सरकारले गत वर्ष गिरीलाई कैदमाफी दिने निर्णय गरेको थियो। एक साताअघि पक्राउ परेका फौजदारलाई भने अर्को आदेश नभएसम्म पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाराले दिएको आदेशअनुसार वीरगन्ज कारागारमा राखिएको छ।