आमाले सिस्नु टिपेर पढाउनु भयो

आमाले सिस्नु टिपेर पढाउनु भयो

मेरो जन्म २०१५ सालमा खोटाङ जिल्लाको खार्पा भन्ने ठाउँमा भएको हो। घरबाट झन्डै एक घण्टाको पैदल दूरीमा रहेको घ्याम्पाखर्कको भाषा पाठशालाबाट मेरो प्रारम्भिक पढाइ सुरु भयो। बुवा नेपाली कांग्रेसको राजनीतिमा आबद्ध हुनुहुन्थ्यो। घरमा निकै कम समय मात्र बस्नुहुन्थ्यो। कहिले भारततिर निर्वासनमा त कहिले अन्यत्र जानुपर्ने बाध्यता उहाँको थियो।

घरको आर्थिक अवस्था राम्रो थिएन। आमा पशुपालन गर्नुहुन्थ्यो। सिस्नु टिपेर जीविका चलाउनुहुन्थ्यो। तैपनि इमानमा निकै अडिग हुनुहुन्थ्यो। कसैसँग माग्न जानु हुँदैन्थ्यो। दुःख गरेर भए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावना उहाँमा थियो। मलाई क, ख सिकाउने श्रेय पनि आमालाई नै जान्छ। आमाले नै स्कुलसम्म पुर्‍याउने गर्नुहुन्थ्यो।

घरबाट जाँदा बाटो ओरालो थियो। एक घण्टामा स्कुल पुगिन्थ्यो। फर्कंदा भने उकालो पर्ने भएकाले अझै धेरै समय लाग्थ्यो। घ्याम्पाखर्कमा पढेको केही समयपछि बुइँपा भन्ने ठाउँमा चम्पावती हाइस्कुल खुल्यो। जुन मेरो गाउँनजिकै थियो। त्यहाँबाट मैले पाँचदेखि आठ कक्षासम्मको पढाइ पूरा गरें गाउँ नजिकै अर्को विद्यालय नभएकोले त्यहाँ पढेको थिएँ। त्यति बेलादेखि नै बुवा पनि नियमित रूपमा घरमा बस्न थाल्नुभयो। विद्यालय स्थापनाको लागि उहाँले पनि पहल गर्नुभएको थियो।

बुवा गाउँमा बस्न थाल्नुमा पनि रमाइलो प्रसंग छ। उहाँको नाम चन्द्रमणि हो। त्यतिखेर प्रशासनले उहाँलाई अराष्ट्रिय तŒव भन्दै पक्राउ पुर्जी जारी गरेको थियो। तर पक्राउ पुर्जी लिएर आउँदा प्रहरीले उहाँको नामको अगाडिको अक्षर च को सट्टा भ लेखेर भन्द्रमणि पोखरेलको नाममा पक्राउ पुर्जी लिएर आएको थियो। तर भन्द्रमणि पोखरेल भन्ने व्यक्ति उक्त गाउँमा नभएको भन्दै प्रशासनका कर्मचारी फर्केर गएपछि उहाँ जोगिनुभएको थियो।

२०२९ सालमा मेरो गाउँ खार्पामै शारदा माध्यमिक विद्यालयको नामले अर्को विद्यालय खुल्यो। म पनि कक्षा ९ को पढाइको लागि सोही स्कुलमा भर्ना भए। त्यतिखेर पदम पोखरेल (पूर्वगृहसचिव) प्रधानाध्यापक हुनुहुन्थ्यो। यो स्कुलमा आउँदासम्म मेरो नाम गिरिराज पोखरेल थियो। बाको नाम चन्द्रमणि पोखरेल भएका कारण त्यही बेलादेखि प्रधानाध्यापकले मेरो नाममा पनि ‘मणि थपेर गिरिराजमणि पोखरेल बनाइदिनुभयो। र म गिरिराज पोखरेलबाट गिरिराजमणि पोखरेल बने।

त्यो स्कुलबाट मैले ९ र १० कक्षाको पढाइ पूरा गरेँ। कक्षा ९ को पढाइमा मैले गणित ऐच्छिक विषयको रूपमा लिएको थिएँ। तर पढाउने शिक्षक थिएनन्। जेनतेन कक्षा १० सम्म पढें। एसएलसी परीक्षा तयारीको लागि भने बाले ओखलढुंगा लैजानु भयो। त्यहाँ तीन महिना जति पढेपछि एसएलसी परीक्षा दिन फेरि खोटाङको दिक्तेल फर्कें। म कक्षामा पढाइमा दोस्रो हुन्थें। त्यतिखेर एसएलसीमा मैले पढेको स्कुलबाट अक्कलबहादुर मगरले मात्र प्रथम श्रेणाीमा एसएलसी उत्तीर्ण गरेका थिए। अन्य भने दोस्रो र तेस्रो श्रेणीमा मात्र उत्तीर्ण भए।

एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाको लागि व्यवस्थापन संकायमा भर्ना भए। स्कुल पढ्दा ताकाको मेरो केही अनुभव अहिले पनि ताजै छ। म ५, ६ कक्षामा पढ्दा कविता खुब लेख्थेँ। कविता लेखनमा प्रथम भएकै कारण सिसाकलम र कपी पुरस्कार पाएको थिएँ। त्यतिखेर भक्त भन्ने शिक्षक हुनुहुन्थ्यो। उहाँले नै मलाई पुरस्कार दिनु भएको थियो। यसले पढाइ र कविता लेखनमा समेत निकै हौसला थपिदिएको थियो।

स्कुल नै पढ्दा मेरो अहिलेका चर्चित जनवादी गायक रामेश, मञ्जुल, निनु चापागाईं लगायतसँग पनि सम्पर्क बढ्यो। उहाँहरूले चलाउनुभएको राल्फा आन्दोलनसँग पनि म विस्तारै नजिकै हुँदै गए। चम्पावती स्कुलमा पढ्दै गर्दा मैले एउटा चर्चित कविता लेखेको थिएँ, ‘चम्पा एउटा आमा बनेर चे ग्वे भराजस्तो छोरा जन्माउँछिन्।’ त्यतिखेर यो निकै क्रान्तिकारी कविता बनेको थियो। यसले ममाथि विस्तारै राजनीतिक चेत पनि बढायो। बुवा कांग्रेस राजनीतिमा लागे पनि म भने कविता लेखनकै माध्यमबाट कम्युनिस्ट राजनीतिमा लागेको थिएँ। म अहिले मन्त्री पदमा हुनुको मुख्य    श्रेय पनि त्यतिखेरको कविता लेखनलाई नै जान्छ।

स्कुलमै हुँदा म भलिबल पनि खेल्थें। होचो भएका कारण मलाई साथीहरूले रेज गर्न दिन्थे। स्कुल पढ्दै गर्दा नाटक पनि लेख्थेँ। मैले लेखेको नाटक स्कुलको कार्यक्रममा मञ्चन पनि हुन्थ्यो। समग्रमा भन्नुपर्दा मेरो बाल्यकाल दुःख गरेर नै बित्यो। पढाइसँगै घरमा काम पनि गर्नुपथ्र्यो। घरमा बेलुका भैंसी दुहुनुपर्ने र बिहान पाञ्चायन पूजा गर्नुपर्ने मेरो दैनिकी थियो। यति काम गरेपछि मात्रै म स्कुल जान पाउँथे। मेरो बाल्यकाल अहिलेको स्कुले विद्यार्थीको जीवनीसँग तुलना गर्दा धेरै भिन्नता रहेको म पाउँछु।

मेरो पालामा ज्ञानको स्रोत भनेको शिक्षक र पुस्तक मात्रै थियो। अहिले सूचना प्रविधिको विस्तारका कारण विद्यार्थीले हरेक कुरा इन्टरनेटबाट पाउन सक्ने भएका छन्। त्यसैले म विद्यार्थीलाई सुझाव पनि दिन चाहन्छु, सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नुस्।

अहिलेका विद्यार्थीलाई मेरो अर्को पनि सुझाव छ, भाषाको नाममा नेपाली भाषालाई नबिर्सनुस्। अंग्रेजी सिक्नुस् तर नेपाली भाषालाई बिर्सनु हुँदैन भन्ने मेरो मान्यता छ। कक्षा पढाउने शिक्षकहरूलाई पनि मेरो अनुरोध छ,‘तपार्इंहरू शिक्षक होइन विद्यार्थीलाई सहजीकरण मात्र गरिदिनुहोस्। हिजोको जस्तो कण्ठ गराएर, घोकाएर पढाउने बानी छोडिदिनुस्।’ बरु शिक्षकले विद्यार्थीको अभिभावकसँग सम्पर्क बढाउनुपर्छ। शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्रै विद्यालय शिक्षाको सुधार गर्न सकिन्छ भन्ने मेरो बुझाइ छ।

(शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलसँग सूर्यप्रसाद पाण्डेले गरेको कुराकानी)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.