व्याख्या बुध ग्रहको

व्याख्या बुध ग्रहको

भाइबहिनी हो, तिमीहरूले ब्रह्माण्ड वा सौर्यमण्डलमा रहेका विभिन्न ग्रहहरूका बारेमा पढ्दै सुन्दै आएका छौं। तर, के तिमीहरूले कुनै पनि ग्रहको बारेमा गहिरो अध्ययन गरेका छौं ? आज तिमीहरूलाई यस लेखमार्फत हामीले यसको पहिचान, नाम, बनावट आदिबारे जानकारी गराउन खोजेका छौं।

बुध ग्रहको पहिचान र नाम

बुध ग्रहको बारेमा सबैभन्दा पहिले टिमोचरिस नाम गरेका एक ग्रिक खगोलविद्ले ईशापूर्व २०० मा खुलासा गरेका थिए। त्यतिबेला यसलाई ग्रह नभनी एउटा तारा मात्र मानिन्थ्यो। यसले सूर्यको मात्र नभई पृथ्वीको परिक्रमा पनि गर्छ भन्ने मानिन्थ्यो। तर, सन् १५४३ मा गणितज्ञ वा खगोलविद् कोपर्निसले आफूले डिजाइन गरेको सौर्यमण्डलको नमुना सबैसामु राखे। उक्त नमुनामा सूर्य सौर्यमण्डलको बीचमा थियो र बुधलगायत अन्य ग्रहहरू सूर्यको परिक्रमा गरेको देखाए। त्यसैक्रममा इटालीका भौतिक वैज्ञानिक ग्यालिलियोले दुर्बिनको माध्यमले हेरेर कोपर्निकसको त्यो नमुना सही भएको पुष्टि गरे।

२०औं शताब्दीको मध्यसम्म आइपुग्दा पनि बुध ग्रह स्पष्टसँग देखिएको थिएन। तर, १९६० को दशकमा खगोलविद्हरूले ‘रेडियो सिग्नल’ को सहयोगबाट यस ग्रहको बारेमा बढी जानकारी प्राप्त गरे। उक्त जानकारीबाट पृथ्वीको ५९ दिन, बुध ग्रहको एकदिन बराबर हुन्छ भन्ने पनि पत्ता लगाए। बुध ग्रहले सूर्यको परिक्रमा गर्न पृथ्वीको ८८ दिन बराबरको समय लगाउँछ। अर्थात् बुध ग्रहको एक वर्ष बराबर पृथ्वीको ८८ दिन हुन्छ। जुन सौर्यमण्डलमा भएका अन्य सबै ग्रहको भन्दा कम समय हो।

यो ग्रहको नाम रोमन देउता ‘मर्करी’ को नामबाट राखिएको बताइन्छ। जुन रोमन देउताका सन्देशवाहक वा दूत पनि मानिन्छ।

यसको बनावट कस्तो छ ?

बुध ग्रह पृथ्वीको जस्तै एक ‘टेरेस्टियल तथा चट्टानी’ ग्रह हो। यसको औसत व्यास चार हजार आठ सय ८० किलोमिटर छ। यो ग्रह सौर्यमण्डलका कैयौं ग्रह वा चन्द्रमा भन्दा छोटो छ। यो ग्रह ७० प्रतिशत धातु (मेटल) बाट बनेको छ भने ३० प्रतिशत सिलिकेटबाट बनेको छ। यसको घनत्व ५.४३ ग्राम प्रति घनसेन्टिमिटर छ।

भू–वैज्ञानिकहरूका अनुसार बुध ग्रहको सतह पृथ्वीको चन्द्रमासँग मेल खान्छ। चन्द्रमाको जस्तै यो ग्रहको पनि प्राचीनकालमा भएको विस्फोट हुँदाका ‘क्रेटर’ (खाल्डो) अझै पनि देखिन्छ। त्यस्ता खाल्डामध्येको सबैभन्दा ठुलो ‘क्लोरिस क्रेटर’ हो। जसको व्यास मात्रै एक हजार पाँच सय ५० किलोमिटर छ। यो क्रेटरको वरिपरि दुई किलोमिटर अग्ला चट्टान जमेका छन्। यो ग्रहको तापक्रम असामान्य तरिकाले घट्ने बढ्ने काम भइरहन्छ। दिउँसो यसको तापक्रम चार सय ३० डिग्री सेल्सियससम्म पुग्छ भने राति माइनस एक सय ७० डिग्रीसम्म पुग्ने गर्छ।

यो ग्रहमा प्राकृतिक स्याटेलाइट छैन। यो ग्रहमा आजसम्म दुई वटा अन्तरिक्ष यान मात्र पठाइएको छ। जसमध्ये पहिलो हो, ‘म्यारिनर १०’। जसलाई सन् १९७४ देखि १९७५ सम्म यो ग्रहको तीन पटक परिक्रमा गरेको थियो। त्यसैगरी दोस्रो हो, ‘म्यासेन्जर’। यसलाई सन् २००४ मा लन्च गरिएको थियो। यसले बुध ग्रहको परिक्रमा सन् २०११ देखि २०१५ को बीचमा धेरै पटक गरेको थियो। ३० अप्रिल २०१५ मा यसलाई उक्त ग्रहको सतहमा ध्वस्त गरियो।

‘मर्निङ’ वा ‘इभिनिङ’ स्टार

यो ग्रहलाई सूर्य उदाउनुभन्दा पहिले र सूर्य अस्ताउने बित्तिक्कै खुला आकाशमा बुध ग्रहलाई नाङ्गो आँखाले देख्न सकिने हुनाले यसलाई ‘मर्निङ’ वा ‘इभिनिङ’ स्टार भनेर पनि चिनिन्छ। जसरी पृथ्वी र चन्द्रमाको सम्बन्ध हुन्छ, ठिक त्यस्तै सम्बन्ध सूर्य र बुध ग्रहको हुन्छ। अर्थात् बुध ग्रहको एकापट्टिको भाग जहिले पनि सूर्यतिर नै फर्केको हुन्छ। यो ग्रह र सूर्यबीचको औसत दूरी पाँच करोड ७६ लाख किलोमिटर छ। यो पृथ्वीभन्दा २६ गुणा सानो ग्रह हो। यो पृथ्वीभन्दा सात करोड ७० लाख किलोमिटरको दूरीमा रहेको छ।०००
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.