प्राधिकरणको राजस्व आधा घट्यो

प्राधिकरणको राजस्व आधा घट्यो

काठमाडौं : अन्तर्राष्ट्रिय उडान कटौतीसँगै नागरिक उड्ययन प्राधिकरणको राजस्व आधा घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ६५ उडान हुने गरेकामा अहिले २५ वटामात्र भइरहेका छन्।

सामान्य अवस्थामा सबै उडान हुँदा दैनिक सरदर २ करोडदेखि साढे २ करोड रुपैयाँसम्म राजस्व असुली हुने गरेकामा अहिले डेढ करोड रुपैयाँभन्दा कम असुली भइरहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। यस हिसाबले प्राधिकरणले मासिक ६० करोडदेखि ७० करोड रुपैयाँसम्म विमानस्थलबाट राजस्व उठाउँदै आइरहेको छ। वार्षिक करिब ६ अर्ब रुपैयाँ राजस्व विमानस्थलले प्राधिकरणलाई बुझाउने गर्छ।

सरकारले मार्च १० देखि अनअराइभल भिसामा अस्थायी रोक लगाएका कारण र विमान कम्पनीले पनि कोभेड १९ का कारण आफ्ना उडान रद्द गर्न थालेका छन्। पर्यटक आवागमनका साथै आन्तरिक चहलपहल पनि विमानस्थलमा कम हुँदै गइरहेको छ। अध्यागमन विभागको मार्च १६ सम्मको तथ्यांकअनुसार १८ हजार २ सय ८२ विदेशी पर्यटक नेपाल आएका छन्। अहिले ५० देखि ६० प्रतिशतले बाह्य पर्यटकको चाप घटेको छ। अन्तर्राष्ट्रिय उडान पनि ३० देखि ४० प्रतिशतमा सीमित भएको प्रवक्ता क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिए। आन्तरिक उडान पनि ३० देखि ४० प्रतिशतमा सीमित भएको छ। करिब ११ अर्ब रुपैयाँको घाटा व्यहोरिरहेको नेपाल वायुसेवा सञ्चालक संघको पछिल्लो तथ्यांक छ।

अन्तर्राष्ट्रिय २७ वटा कम्पनीसँगै नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले बाह्य देशका विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेका छन्।

नेपाल एयरलाइन्सले एयरबस ए ३२०-२०० र ए ३३०-२०० विमानबाट भारत, चीन, थाइल्यान्ड र दुबईका गरी ७ स्थानमा अन्तर्राष्ट्रिय उडान गर्ने गर्छ। तर कोभेड १९ को प्रभावका कारण यात्रुचापमा कमी आएसँगै दिल्ली, दोहा, हङकङ र बैंकक उडानमा कटौती गरेको छ। मार्च १७ देखि लागू हुने गरी मलेसिया उडान पनि रद्द गरेको छ। एयरलाइन्सले हालसम्म ४० देखि ५० प्रतिशतले व्यापार घटेको जनाएको छ।

अन्तर्राष्ट्रिय विमानबाट उठाउने पार्किङ शुल्क (ग्राउन्ड ह्यान्डलिङ) पनि दैनिक करिब १ करोडले कमी आइरहेको प्रवक्ता अर्चना खड्काले बताइन्। कम्पनीको कुल राजस्व संकलनमा पनि २५ देखि ३० प्रतिशतसम्म असर परेको छ।

यता, निजी क्षेत्रको अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एयरलाइन्सले चीनमा उडाउँदै आएको सबै उडान बन्द गरेको छ। मलेसिया उडान पनि मार्च २० देखि बन्द गर्ने जानकारी दिएको छ। उडान कटौतीसँगै एयरलाइन्सले दैनिक १ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरिरहेको। हालसम्म २० करोड रुपैयाँभन्दा बढी घाटा भएको कम्पनीका उपाध्यक्ष विजय   श्रेष्ठले जानकारी दिए। एयरलाइन्ससँग हाल ४ वटा न्यारो बडी एयरक्राफ्ट सञ्चालनमा रहेकामा उडान रद्दपछि विमान थन्किएको छन्। तर, विमानको पार्किङ शुल्क, नेभिगेसन खर्च तथा सञ्चालन खर्चका कारण व्ययभार बढेको उनी बताउँछन्। अब सरकारले कर्जामा पुनर्तालिकीकरणसँगै कर रिफन्डको व्यवस्था गर्नुपर्ने उनको धारणा छ। ‘व्यवसायीले सधैं नै सरकारलाई कर तिर्दै आइरहेका छन्। अहिलेको अवस्थामा व्यवसायको प्रकृति हेरेर सरकारले कर रिफन्ड गर्ने व्यवस्था गर्न सक्छ’,उनी भन्छन्। हवाई इन्धनको मूल्य घटाएर सञ्चालन खर्च कटौती गर्न सकिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.