‘३ सय बिघा जग्गा भारतमा पारियो’

‘३ सय बिघा जग्गा भारतमा पारियो’

काठमाडौं : कञ्चनपुरमा ३ सय बिघाभन्दा बढी नेपाली भूमि भारततर्फ पारिएको विषयले सदनमा प्रवेश पाएको छ। नेपाल-भारत संयुक्त सर्भे टोलीले विवादै नभएको भूभाग भारतमा पारेकोमा राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले सीमांकनमा खटिएको नापी टोलीले नेपालको नक्सै मेटिने गरी गरिरहेको कार्य स्वीकार्य नहुने बताइन्। सीमा प्रमाणीकरण कार्य तुरुन्त बन्द गर्नुपर्ने उनको भनाइ छ।

‘सीमांकन बन्द गरियोस् र अहिले भएका काम खारेज गरियोस् भनी सदन र अध्यक्षमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’, राष्ट्रियसभा बैठकको विशेष समयमा बिहीबार उनले भनिन्, ‘नक्सा, पुर्जा नेपालकै भोगचलनमा विवादरहित भएको अवस्थामा कसरी नेपाल-भारत संयुक्त नापी टोलीले सीमास्तम्भ गाड्यो ? कुन मापदण्ड र प्रक्रिया अपनाई जनविरोधी निर्णय भयो ? यो सम्मानित सदन जान्न चाहन्छ।’

उनका अनुसार बेलडाँडी गाउँपालिका-३ वैवाहका वडाध्यक्ष बलराम चौधरी, दुर्गा चौधरीका पाँच बिघासहित १८-२० परिवारको जग्गाबारे विवाद थिएन। २०२४ सालदेखि भोगचलन गरिएको, पुर्जा भएको तथा नक्सामा राखिएको जग्गा नेपालकै भूभाग हो भन्नेमा विवाद नरहेको उनले सुनाइन्।

बेलौरी नगरपालिका-१० भुडामा भएको २० बिघा जमिनको नक्सा, पुर्जा नेपालकै भोगचलनमा विवादरहित भएको अवस्थामा कसरी टोलीले सीमास्तम्भ गाड्यो भन्दै उनले प्रश्न गरिन्। ‘हाम्रा प्राविधिक के त्यति अक्षम छन् ? ’, उनले भनिन्, ‘सरकार के हेरिरहेको छ भन्ने गम्भीर प्रश्न खडा भएको छ।’

बेलौरी-८ पचईमा १३८ नम्बर पिल्लरदेखि हुलाकी सडकसमेत २०२४ सालदेखि नेपालको भोगचलनमा रहेको ३०-४० बिघा जमिन भारततर्फ १२ सय मिटरजति पारिएकोमा उनले विरोध जनाइन्। ‘सरकारलाई किन यसो भयो भनी प्रश्न पनि गर्न चाहन्छु ? ’, उनले भनिन्।

उनले आफूले गत वर्ष शून्य समयमा कञ्चनपुरको दक्षिणी भेगको प्याराताल नेपालको भूभाग भएको जानकारी गराएको स्मरण गराइन्। ‘त्यहाँ आँखा गाडिएको छ भनी सरकारको ध्यानाकर्षण गराउँदा परराष्ट्रमन्त्रीले हाम्रो ध्यानाकर्षण भएको छ, हामी त्यसमा सजग छौं भन्नुभएको थियो’, उनले भनिन्, ‘तर, त्यो पनि उतै पारियो भनेर सुन्दा अचम्म लागेको छ।’

उनका अनुसार प्याराताल नेपालको सम्पदा हो। कोरियाली सहयोगमा २०५२ सालमा निर्माण भएको नहरसमेत भारततर्फ पारिएको कुराले सरकारको अक्षमता प्रमाणित भएको उनको भनाइ थियो।

भूमिमन्त्रीसँग राजदूत क्वात्राको भेट

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले सिंहदरबारमा भेट गरेका छन्। सीमा समस्यामा छलफल गर्ने एजेन्डा राखे पनि पहिलो बैठक शिष्टाचारको मात्रै हुने भएकाले ती विषय थाती रहेको मन्त्रालय स्रोतले जनाएको छ।

‘हामीले सीमा समस्यालाई एजेन्डामा राखेका थियौं। पहिलो भेट शिष्टाचार मात्रै हुने रहेछ’, ती स्रोतले भन्यो, ‘त्यसैले यस विषयमा पुनः अनौपचारिक रूपमा बसेर कुरा गर्ने सल्लाह भएको छ।’

मन्त्री अर्यालले नेपाल र भारतबीच कूटनीतिकसाथै अन्य सम्बन्ध पनि विशेष रहेको भन्दै सीमा समस्याबारे सांकेतिक जानकारी गराएकी थिइन्। उनले केही विषयमा लामो समयदेखि रहेको विवाद छलफल गरेर समाधान गर्नुपर्ने बताएकी थिइन्। ‘हिजोदेखि थाती रहेका केही विषयहरू छन्, जो दुई देशबीच छलफल गरेर आपसमा टुंग्याउनुपर्ने विषय छन्’, उनले भनिन्, ‘ती कुराहरू यहाँ (क्वात्रा)को कार्यकालमा अगाडि बढ्न सकोस्।’

राजदूत क्वात्राले मन्त्री अर्यालको मन्त्रालयस्तरीय केही काममा दूतावासले सहकार्य गर्न सक्ने बताएका थिए। ‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्’, उनले भने, ‘दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन। थाती रहेका विषय आपसमा शान्तिपूर्वक बसेर समाधान गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.