युवा नेतृत्वमा अशोक
काठमाडौं : ‘केही वर्षअघि म कुनै पार्टीप्रति आस्था राख्थेँ । पार्टीले ढुंगा हान् भनेपछि ढुंगा हान्न तयार हुन्थेँ । जे भन्यो त्यही गर्थें । मेरो दिमागको कहिल्यै बत्ती बलेन । जेसिसमा गएपछि मात्र मैले जीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ ।’ सन् २०११ देखि जेसिसमा प्रवेश गरेका नेपाल जेसिस (जेसीआई नेपाल) का राष्ट्रिय अध्यक्ष अशोक शंकरले आफ्नो छोटो कथा सुनाए ।
हाल नेपाल जेसिसको एक सय ५५ वटा शाखा छ । यसको आफ्नै बटम लाइन छ, ‘१८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूलाई सहभागी सहभागी गराई उनीहरूको नेतृत्व र क्षमताको अभिवृद्धि गरी उद्यमशील बनाउनु ।’
दिनप्रतिदिन पश्चिमी संस्कृतिले हामीलाई प्रभाव पारिरहेको अवस्थामा त्यसलाई कम गर्दै परिवारको अवधारणालाई विशेष जोड दिएर अगाडि बढ्ने योजना रहेको बताउँछन्, अशोक । अन्ततः जेसिसको अन्तिम उद्देश्य विश्व शान्ति नै रहेको बताउँछन् ।
जेसिसले विश्वमा देखिएका समकालीन समस्याहरूमा विशेष चासो देखाउने गरको छ । उदाहरणका लागि अहिले विश्वभरि फैलिरहेको कोरोना (कोभिड १९) भाइरसबाट त्रसितहरूलाई मास्क वितरण गर्नेदेखि जनचेतना जगाउने काम तीव्र रूपमा गरिरहेको बताउँछन् । ‘भैपरी आउने कुराहरूमा जेसिस सक्रियताका साथ लाग्ने गर्छ,’ अशोक भन्छन्, ‘विशेषगरी समाजमा देखिने खराब सबाल तथा समस्याहरू समाधानका लागि दीर्घकालीन योजना बनाएर निराकरणका लागि काम गर्ने गरेको छ ।’ यसका लागि ‘जेसीआई एक्टिभ सिटिजन फ्रेमवर्क’ नामक छुट्टै योजना बनाएका छन् ।
जेसिसमा आउने हरेक युवाहरूले उद्यमशीलतामा जानुपर्ने, जिम्मेवार हुनुपर्ने, सकारात्मक हुने, अनुशासनको पालना गर्नुपर्ने आदि अनिवार्य सर्त हुन् । बिदेसिएका युवाहरूलाई रोक्न जेसिसले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । ‘हामीले युवाहरूका लागि इन्टरप्यानरसिपको रूपमा कसरी व्यवसायीकरण गर्ने, उद्यमशीलताको बाटोमा कसरी लैजाने भन्ने विषयमा बेलाबेला तालिम दिने गरेका छौं,’ उनी भन्छन् ।
अशोकका अनुसार नेपाल जेसिसको स्थापनाको ५५ वर्षे इतिहासमा करिब १० लाख युवालाई स्वरोजगारका साथै असल नागरिक बनाइसकेको छ । देशको राजनीतिक अस्थिरताका कारण हरेक कुराको माग सडकबाट गर्ने कुसंस्कार लोकतन्त्रको अनुशासन नभएको उनी बताउँछन् । भन्छन् ‘जेसिसको छाप एक पटक लगाइसकेपछि कुनै पनि युवाले अनुशासित भई, संस्कारी बन्दै राष्ट्रप्रति बफादार र नेपालीपन हुनैपर्छ ।’