४१ वर्षदेखि भेडापालनमा

४१ वर्षदेखि भेडापालनमा

भोजपुर : षडानन्द नगरपालिका ९, किमालुङका लाक्पानेरु शेर्पा ६३ वर्ष पुगे। पुख्र्यौली पेसालाई माया गर्ने उनी भेडा पाल्छन्। बाबुबाजेको भेडीगोठमै बसेर भेडा पालेकै ४१ वर्ष पुगिसक्यो। तर, उनी त्यहाँबाट अन्यत्र जाने कुनै सुरसार छैन। उनलाई यहिँ पेसा प्रिय लाग्छ। बाह्रैमास चिसो हावा, वर्षातमा बाह्रैकाल बाक्लो हुस्सु धुम्मिने किमालुङको भुल्केस्थित चौरीको शिरमा आधाभन्दा बढी उमेर व्यतित गरेका उनलाई भेडीगोठ छोडेर कहिल्यै मन भएन।

‘यी नै भेडा हेरेरै ४१ वर्ष बित्यो। सबै दाजुभाइ सहरतिर बसाइ लागे। तर मलाई यो ठाउँ छोडेर अन्त जाने मन नै छैन’, उनले भने, ‘बाबुबाजेले गरेको यो भेडापालनमै जीवन सन्तुष्ट छ।’ भेडीगोठमै गहिरो साइनो गाँस्ने लाक्पानेरु उनका भेडाले समेत उनको कुरा मान्छन्। उनले मुखैले सिठी लगाएको आधारमै भेडा आउने, दाना खाने गर्छन्।

पुख्र्याैली पेसालाई निरन्तरता दिने शेर्पा उदाहरणीय भेडापालक हुन्। भेडीगोठमा डेढ सयभन्दा बढी भेडा छन्। एकमात्र छोरा छिरिङ पनि भेडीगोठमै बस्छन्। बाबुछोराबाहेक भेडाहरूको दानापानी, चराउने, हेर्ने, ऊन, दूध दुहुने, घिउ बनाउनेलगायत काममा लाक्पानेरुले अन्य २ जनालाई पारि श्रमिक दिएर हेरालुसमेत राखेका छन्। आफूले यिनै भेडा, भेडाको घिउ र ऊन बेचेरै वार्षिक ५ लाखसम्म आम्दानी गरेको सुनाउँछन्।

विहानबेलुकी भेडाको हेरचाह गर्दै दिन बिताउने लाक्पानेरु हिउँदमा चिसो चल्न गाउँतिर र वर्षात लागेपछि लेकडाँडातिर भेडा लाने गर्छन्। मैयुङडाँडा, सातदोबाटो, साल्पासिलिचुङ डाँडाको आसपासका चौरमा भेडीगोठ लैजाने गर्छन्।

भेडीगोठसँगै साइनो गाँस्ने लाक्पानेरु हरेक दुई महिनाको अन्तरालमा भेडा लिएर गोठ सार्ने गर्छन्। मौसमअनुसार हावापानी फेरिरहने हुनाले समायानुकूल उनको भेडीगोठ पनि एक ठाउँदेखि अर्को ठाउँ पुग्छ। बाबुबाजेले सुरुमा चौँरी पाले पनि राम्रो आम्दानी नभएपछि भेडा पाल्न सुरु गरेको उनले सुनाए।

परिवारका सदस्यमध्ये २ छोरीको विवाह भइसकेको छ। श्रीमती कहिलेकाँही गाउँतिर झर्ने गरे पनि अधिकांश समय पति र छोरासँगै गोठमा हुन्छिन्। भेडाकै आम्दानीले उनले छोराछोरीलाई पढाउने, हुर्काउनेदेखि लिएर घरखर्चमात्रै नभई हेरालुलाई समेत पु¥याएको सुनाए। सहरको सुख छोडेर गाउँकै डाँडाकाँडामा मिठोमसिनोमा रमाउनु ठूलो ठान्ने लाक्पानेरु आफू र परिवारलाई आनन्दित तुल्याएको बताउँछन्।

‘भन्न त आफन्तहरू पनि गोठ बेचेर सहर गएर आनन्दले बस्नुपर्छ भन्छन्। तर, यहाँ जस्तो स्वच्छ, शान्त, सुख त सहरमा कहाँ छ र’, उनी थप्छन्, ‘सहरमा गयो दुनियाँ रोगको भारी बोकिन्छ तर यहाँ यहिँ भेडाको दूध, दहिले लाग्ने रोगलाई पनि जित्छ। किन जानु त्यहाँ। यहि ठिक छ।’ भौतिक सुख खोज्नेले मनको शान्ति कहिल्यै नभेट्ने उनको अभिव्यक्तिले उनलाई भेडीगोठमै आकर्षित गराएको छ।

भेडापालनले परिवार धानेका लाक्पानेरु भेडापालन पेसामै सन्तुष्ट देखिन्छन्। तर, कहिलेकाही भेडामा नाम्ले, छेरौटे, खास्ने समस्या हुँदा भने उनलाई औषधि लिन २ दिन पैदल हिँडेर दिङ्ला, सदरमुकाम धाउनुपर्छ। उनी भन्छन्, ‘मुख्य समस्या भनेको भेडा बिरामी हुँदा औषधोपचार गर्न दिङ्ला कि त सदरमुकाम धाउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.