बिहे नगरी बच्चा जन्माउन सक्छु ?

बिहे नगरी बच्चा जन्माउन सक्छु ?

‘तपाईंलाई एउटा कुरा सोधूँ ? ’ मेसेन्जर खोलेर हेर्दा एक महिला मित्रले प्रश्न सोधेकी रहिछन्।

‘सोध्नु न प्लिज, निर्धक्कसँग,’ मैले भनेँ।

उनले सोधिन्, ‘म बच्चा जन्माउन चाहन्छु, बिहे नगरी। तपाईं धर्मशास्त्रका कुराहरू खुब लेख्नुहुन्छ, यसमा तपाईंको धर्मशास्त्रले के भन्छ ? यस्तो गर्दा पाप लाग्छ कि लाग्दैन ? कृपया उत्तर दिनुहुन्छ भन्ने विश्वास गरेकी छु।’

‘बिहे नगरी बच्चा जन्माउनु गलत हो। पाप हो। पतन हुने बाटो हो। तपाईं खत्तम महिला हुनुहुँदो रहेछ।’ यस्तो भनूँ कि जस्तो लागेको थियो, किनभने मैले आजसम्म यस्तै नै सुन्दै आएको छु। म पनि यही संस्कारबाट हुर्केको मान्छे हुँ र मभित्र यस्तो कार्य गर्नु गलत हो भन्ने संस्कार गढेर बसेको छ।

मेरो गाउँमा एउटी महिला थिइन्, उनले सातजना पुरुषसँग बिहे गरिन्। अर्की एकजना युवतीले बिहे नै नगरी गर्भ बोकिन् र पछि जसको गर्भ बोकेकी थिइन्, उसैसँग बिहे गरिन्। उनीहरूको जीवन खुसीसाथ बितिरहेको थियो। गाउँमा बस्न नसकेर उनीहरूले गाउँ नै छाडिदिए। गाउँलेहरूका नजरमा उनीहरू गिरेका महिला थिए। भारी पाप गरेका थिए। गाउँका प्रायः महिलाहरू उनीहरूकै कुरा काटिरहेका भेटिन्थे।

मैले सोचेँ, ‘कसैले आफ्नो सोचविरुद्ध कार्य गर्‍यो भन्दैमा उसप्रति रिस पोखिन्छ भने रिस पोख्ने मानिसहरू नै गलत हुन्, जबकि त्यो कार्य गर्ने मान्छे खुसी छ भने। कसैमाथि रिस पोख्नु भनेको आफूभित्र भएको फोहोर प्रकट गर्नु न हो।’

यही आधारमा मसँग प्रश्न सोध्ने मित्रलाई गलत भनिहाल्न मलाई मन लागेन। फेरि उनले समाजले के भन्लान् भनेर सोधेकी पनि थिइनन्। उनले त धर्मशास्त्रले के भन्छ भनेर सोधेकी थिइन्।

भन्न त मैले भनेँ पनि, ‘बिहे नगरी बच्चा जन्माउँदा हाम्रो समाजले राम्रो दृष्टिकोणले हेर्दैन। कसैले जन्माइहाले भने पनि भविष्यमा उसले र उसका सन्तानले समाजमा विविध झन्झटहरू बेहोर्नुपर्ने हुन्छ।’

मैले सोचेजस्तै भयो। उनले भनिन्, ‘यो कुरा मलाई पनि थाहा छ। म आफूलाई एक शिक्षित र सक्षम महिला मान्छु। मलाई जीवन बिताउन कुनै पुरुषको भर पर्नु आवश्यक पनि छैन। तर म सन्तान जन्माएर आफ्नो ममत्व प्रकट गर्न चाहन्छु। यस विषयमा तपाईंका धर्मशास्त्रहरूले चाहिँ के भन्छन् ? म यत्ति जान्न चाहन्छु।’

केसम्म भनियो भने स्त्रीलाई निर्बाध रूपमा भोग्न पाइन्छ। उनीहरूलाई मूल्यवान् वस्तुझैं उपहार दिन र युद्धमा जितेका ठाउँमा स्त्रीलाई भोगका वस्तु बनाउन सकिन्छ।

‘बच्चा जन्माउनुस् बिहे नगरी। समाजमा क्रान्ति गर्नुपर्छ। बिहे किन गर्नुपर्‍यो, गर्नु आवश्यक नै छैन।’ उनको चित्त बुझाउन यस्तो भनिहाल्न पनि सकिनँ। फेरि यति भन्दैमा शास्त्रहरूले के भन्छन् भन्ने प्रश्नको उत्तर पनि आएन।

‘म तपाईंलाई भोलि बुझेर खबर गर्छु।’ मैले उनलाई भनेँ। त्यो दिन हाम्रो कुराकानी यतिमै टुंगियो।

मैले यस्ता घटना धार्मिक शास्त्रहरूमा घटेका छन् कि छैनन् भनेर सम्झेँ। सुरुमा मेरो दिमाग शास्त्रहरूका रचयिता वेदव्यासमा गएर अल्झियो, जो अविवाहित युवती मत्स्यगन्धाबाट जन्मेका हुन्।

छान्दोग्य उपनिषद्मा भएको यससम्बन्धी एउटा कथा पनि मलाई याद आयो। जसअनुसार वेश्या जवालाको गर्भबाट सत्यकाम जन्मिए। सत्यकामले तपस्या गर्न गृहत्याग गर्ने निर्णय गरे। घरबाट निस्कने बेलामा उनले आफ्नी आमासँग सोधे, ‘मेरो गोत्र र वंश के हो ? ’

जवालाले जवाफ दिइन्, ‘तिमी कुन वंश या परिवारका हौ भन्ने कुरा मलाई पनि थाहा छैन। कैयौं मान्छेको सेवा गर्ने क्रममा मैले तिमीलाई धारण गरेकी हुँ।’

मैले सम्झेँ- सीता, इन्द्र आदि देवताहरू कोबाट जन्मिए भन्ने कुरा पनि थाहा छैन। महाभारतका एक मुख्य पात्र कर्ण पनि अविवाहित कुन्तीबाट जन्मेका थिए।

मैले सम्झिँदै गएँ आजको नेपाली समाजमा नपच्ने प्रकृतिका शास्त्रमा उल्लिखित फरकफरक घटनाहरू- राजा ययातिकी छोरी माधवीले तीनजना राजा र ऋषि विश्वामित्रसँग शारीरिक सम्बन्ध गाँसेर सबैबाट बच्चा जन्माएकी थिइन्। यमीले आफ्नै दाइबाट सन्तान जन्माउने इच्छा गरेकी थिइन्। गौतम ऋषिकी पत्नी अहिल्यासँग इन्द्रले सम्बन्ध गाँसेका थिए। ब्रह्माले आफ्नो छोरा दक्षप्रजापतिकी कन्या लगेर नारदलाई जन्माएका थिए।

अर्जुन वनवास गएका बेला उलुपीको इच्छा स्वीकार गर्दै उनीहरूबीच शारीरिक सम्बन्ध गाँसिएको थियो र एउटा छोरो जन्मिएको थियो। चन्द्रमाले आफ्नी गुरुपत्नी तारासँग सम्बन्ध राखेर छोरो जन्माएका थिए। देवताहरूका गुरु वृहस्पतिले आफ्नी भाउजू ममतासँग सम्बन्ध गाँस्ने प्रयास गरेका थिए। ऋषि वशिष्ठले आफ्नै छोरी शतरुपमासँग शारीरिक सम्बन्ध राखेका थिए। मनुले आफ्नी छोरी इलासँग बिहे गरेका थिए। जहानुले आफ्नी छोरी जहान्वीसँग बिहे गरेका थिए। सूर्यले आफ्नी छोरी उषासँग बिहे गरेका थिए। धहप्रचेतनी र उनका छोरा सोम दुवैले सोमकी छोरी मारिषासँग शारीरिक सम्बन्ध गाँस्थे। दोहित्रले आफ्ना २७ जना छोरीहरू आफ्नै बुवा सोमलाई सन्तान जन्माउनका लागि सुम्पिएका थिए।

यीबाहेक पनि यस्तै थुप्रै प्रसंग थिए। जस्तै- विवाहपूर्व यौनसम्बन्ध सम्भोग गरेका मेनका र चित्रलेखाको प्रसंग, द्रौपदीको पाँचजनासँग बिहे, कुन्तीको तीन परपुरुषहरूबाट जन्मेका पाण्डव, यस्ता कैयौं प्रसंग, जसलाई हेर्दा ठ्याक्कै यस्तै हुनुपर्छ भन्न सकिँदैन।

मैले विविध सन्तहरूबारे पनि सम्झेँ, येशुको जन्म कुमारी आमाबाट भएको थियो। सन्त कबीर पनि अविवाहित महिलाबाटै जन्मेका हुन्।

प्राचीन मिश्रको समाजमा पुग्ने हो भने भाइबहिनीको बीचमा विवाह प्रचलित थियो। केही हिन्दू समाजमा पनि कसैकसैले आफ्नै बहिनीसँग बिहे गरेका घटना भेटिन्छन्। बुद्ध साहित्यमा उल्लेख भएअनुसार इक्ष्वाकु वंशीय ओक्काक राजाका चारजना छोराले आफ्नै बहिनीहरूसँग बिहे गरेका थिए। बुद्धको एक पूर्वजन्ममा उनी राम हुँदा पनि उनले आफ्नै बहिनीसँग बिहे गरेका थिए।

भोलिपल्ट मैले यी सबै घटना उनलाई सुनाइदिएँ। सुनेपछि उनले सोधिन्, ‘त्यसो भए धर्मअनुसार मैले आफूले चाहेको पुरुषसँग बस्न या अविवाहित रहेरै बच्चा जन्माउन सक्छु ? ’

‘तपाईंले कसरी बाँच्नुपर्छ भनेर, तपाईंलाई नै थाहा हुनुपर्छ। ठ्याक्कै यस्तै गर्नुपर्छ भन्ने कुनै पनि नियम हुन्छ जस्तो लाग्दैन मलाई संसारमा।’

‘पाप लाग्छ कि लाग्दैन त ? ’

‘के कुन्ती, द्रौपदी, मेनका, चित्रलेखा, ब्रह्मा आदिले पाप गरेजस्तो लाग्छ तपाईंलाई ? ’

‘शास्त्रमा उनीहरूलाई पापी मानिएको छ कि छैन ? ’

‘मैले भेटेको छैन। अर्को कुरा, पाप र धर्म भनेका मान्यता हुन्। कुनै परिस्थितिका कारण उसलाई दुःख हुन्छ भने पाप त्यही हो, खुसी हुन्छ भने धर्म त्यही हो।’

‘कसैले अरूलाई दुःख दिएर या मान्छे मारेरै खुसी हुन्छु भन्यो भने ? ’

‘अरूलाई दुःख दिएर या मान्छे मारेर खुसी हुनै सकिँदैन।’

‘त्यसो भए मैले बच्चा जन्माए हुने रहेछ, हैन त ? ’

उनको प्रश्नको उत्तर दिइनँ मैले। मेरो दिमाग अझै पनि शास्त्रकै प्रसंगहरूमा घुमिरहेको थियो। विवाह प्रथा कसरी सुरु भयो भनेर मैले खोजेँ।

विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसंगमा विवाह संस्कारका सबै वैदिक मन्त्रहरू उल्लेख रहेछन्। अथर्व वेद र शतपथ ब्राह्मणमा पनि विवाह संस्कारबारे उल्लेख रहेछ। यसबाट थाहा हुन्छ, त्यस बेला पनि वैवाहिक प्रथा थियो। त्यसैले विवाह गर्न कुनै आपत्ति पनि छैन, तर बिहे नगरी बच्चा जन्माउँदैमा पाप लाग्ने या धर्मको नियम तोडेको हुन्छ भन्नेचाहिँ भेटिनँ।

महाभारतका अनुसार पुरातन कालमा महिला र पुरुष स्वतन्त्र थिए। महिलालाई कुनै बलियो पुरुषले यौनसम्बन्धका लागि विवश बनाउन सक्थ्यो। महिला र पुरुषबीचको यौनसम्बन्ध अनियमित थियो। यो नियमलाई एउटा घटना घटेपछि श्वेतकेतुले अन्त्य गरेका थिए।

कथाअनुसार श्वेतकेतुकी आमालाई कुनै बलियो व्यक्तिले जबर्जस्ती आफूसँग लान बल गर्‍यो। श्वेतकेतुले रिसाउँदै त्यसको प्रतिकार गर्न खोजे। उद्दालकले आफ्नो छोरालाई रोके र यसरी जबर्जस्ती गरिनु पहिलादेखि नै चल्दै आएको सामाजिक परम्परा भने।

महाभारतकै अनुसार पाण्डुले आफ्नी पत्नी कुन्तीलाई अन्य पुरुषहरूसँग नियोगका लागि प्रेरित गर्दै पहिला कुनै विवाहको प्रथा नभएको र महिला-पुरुषलाई यौनसम्बन्धका लागि पूरै स्वतन्त्र थियो भने।

यी दुई उदाहरणबाट थाहा हुन्छ, पहिलापहिला बिहेको चलन थिएन। तर कुनै पुरुषसँग बसेकी महिला या बच्चा जन्माइसकेकी आमालाई समेत बलको भरमा उचालेर लाने र बलियो मान्छेले महिलालाई आफ्नो नियन्त्रणमा राख्न थालेपछि यस्तो कार्यलाई पाशविक मानेर महिलाका लागि एक श्रीमान्को व्यवस्था भएको हुन सक्छ।

यस्तो व्यवस्था पनि श्वेतकेतुले नै सुरु गरेका मानिन्छ। उनले महिलाका लागि एक श्रीमान्को व्यवस्था गरे। पुरुषलाई भने यसमा कुनै नियम लागेन। उसले जति जनालाई व्यवस्था गर्न सक्छ, पाल्न सक्छ ल्याउन सक्ने भयो।

यही कारण हो, राजामहाराजाहरूले धेरै पछिसम्म पनि धेरै रानीहरू भित्याउँथे। टाढाटाढाबाट सुन्दर युवतीहरू खोजीखोजी ल्याउँथे र आफ्नो प्यास मेटाउँथे। थुप्रै ऋषिमुनिहरूले पनि कुनै नारीसँग सम्बन्ध राख्न सक्थे, तर उनीहरूले आफ्नी पत्नीलाई छाडेर जाँदा पनि कुनै पाप लाग्दैनथ्यो। पत्नीले भने पतिका लागि आफ्नो इच्छा दबाएरै भए पनि जीवन बिताउनुपथ्र्यो। पतिले आफूमाथि हिंसा गरे भने पनि सहेरै बस्नुपथ्र्यो, पतिदेवलाई छाड्दा पाप लाग्छ र असुरक्षित भइन्छ भनेर डर हुन्थ्यो।

नारीका लागि एक श्रीमान्को व्यवस्था त भयो समाजमा सन्तुलन ल्याउन, तर त्यसको अर्को विकृति जन्मियो, नारीहरू झनै पीडित हुन थाले।

विवाह प्रथा सुरु भएको अर्को एउटा प्रसंग पनि छ, जसअनुसार दीर्घतमस गरेका जन्मान्ध ऋषि थिए। उनको निरंकुश यौनाचारको बानी सहन नसकेर उनकी पत्नीले उनलाई छाडेर जान लागिन्। त्यही बेला दीर्घतमसले महिलाले श्रीमान्लाई छाड्न नहुने नियम बनाए। त्यो बेला ऋषिहरूको बनाएको नियम नै कानुन थियो।

नारी पुरुषको घरमा जानुपर्ने र उसले जीवनभर कुनै एउटै पुरुषलाई साथ दिनुपर्ने नियम बने पनि यसमा धार्मिक क्रियाकलाप गरिँदैनथ्यो। पुरुषले चाहिँ एउटैले धेरै पत्नी राख्ने चलन विकास भयो।

पछिपछि गएर एउटी पत्नीसँग मात्रै धार्मिक विवाह गर्ने चलन चल्यो, तर सामान्य मानिसका लागि मात्रै। राजाहरू र समाजका गन्यमान्य मानिने व्यक्तिहरूले भने जतिसक्दो नारीहरूलाई आफ्ना पत्नी बनाएर ल्याउन सक्थे। उनीहरूबाट लुकाउन मानिसहरूलाई आफ्ना छोरीहरूको शृंगार नगरी फोहोरीजस्ती बनाएर राख्नुपर्ने बाध्यता बन्यो। अर्कातिर आफ्ना राम्रा नारीहरूलाई अरूले आँखा नलगाऊन् भनेर आफ्नो सम्पत्ति मान्दै छोपिदिने चलन पनि सुरु भयो।

छोप्ने परम्परा विकसित हुँदै जाँदा केही पहिलासम्म पश्चिमी देशको आफ्नो घरमा राखिएका टेबुल आदिलाई समेत खुट्टासहित छोप्ने चलन थियो।

महाभारत कालसम्म आइपुग्दा गृहस्थ जीवनलाई पूरै सामाजिक मान्यता दिन थालियो। तर त्यस बेला पनि भीष्मले अम्बा, अम्बिका र अम्बालिकालाई या श्रीकृष्णले रुक्मिणीलाई अपहरण गरेका देख्दा बलियो पुरुषले अविवाहित महिलालाई आफ्नो शक्ति प्रदर्शन गरेर ल्याउन र बिहे गर्न सक्थ्यो। बिहेपछि भने ठूलाठूला धार्मिक कार्यका लागि विवाहित पुरुषको साथमा उसकी पत्नी पनि रहनुपर्ने नियम चल्यो। रामको अश्वमेध यज्ञ सीता नहुँदा पूरा हुन नसकेका कारण उनले सीताको प्रतिमा बनाएरै भए पनि यज्ञ पूरा गरे।

पछिपछि ब्रह्मचर्या श्रम सकिएपछि धार्मिक विधिअनुसार बिहे गर्ने चलन चल्यो। एक संस्कारवान् व्यक्तिका लागि बिहे अनिवार्य मान्न थालियो। पुरुष र नारी बिहे गरेर सँगै बस्ने र जन्मिएका सन्तानलाई राम्रोसँग हुर्काउने, बढाउने चलन चल्यो।

ऋषिमुनिहरूका अनुसार आध्यात्मिक रूपमा बुद्धत्व प्राप्त गर्न पुरुषले मात्रै सक्छन् र नारीले त्यस अवस्थामा पुग्नका निमित्त पुनर्जन्म लिएर पुरुष नै भएर जन्मिनुपर्छ। यो कुरा सबै चर्चित धर्महरूबाट पुष्टि हुन्छन्। जस्तै- बौद्ध धर्ममा हजारौं बुद्धहरू भइसके तर एकजना पनि महिला छैनन्। हिन्दू धर्मका चौबीस अवतारमध्ये एकजना पनि महिला छैनन्। मुस्लिम धर्ममा त महिलालाई अझै पनि अत्यन्तै कम स्वतन्त्रता प्राप्त भएको देखिन्छ। इसाई धर्मको पनि हालत त्यही हो। जैन धर्मका चौबीस तीर्थंकरहरूमध्ये कोही पनि महिला छैनन्।

यो कुरा ऋषिहरूले पत्ता लगाएको शोध थियो। तर यस मान्यताबाट छोराको आवश्यकता गृहस्थहरूलाई हुन थाल्यो। कुनै पुरुषले बुद्धत्व प्राप्त गर्‍यो भने उसको सात पुस्तासम्म त्यसले ऊर्जा प्रदान गर्छ, भट्किएका आत्मालाई सही दिशा दिन्छ भन्ने मान्यताले गर्दा आफ्नो उद्धारका निम्ति छोरीहरूलाई भन्दा छोरालाई महत्व दिन थालियो। छोरीहरूको काम भनेकै अरूका छोराहरूलाई बुद्धत्व प्राप्तिका लागि सहज वातावरण तयार गरिदिने मान्यता बन्यो।

ऋषिमुनिहरूले के पनि पत्ता लगाए भने आफ्नै नातागोतामा सम्बन्ध रहेर सन्तान भयो भने पनि त्यो कमजोर बन्छ। जसरी अहिले कुनै बाख्रीलाई उसकै नातेदारभन्दा कुनै उन्नत जातको बोको ल्याएर लगायो भने त्यस बाख्रीबाट जन्मने सन्तान उन्नत हुन्छ। आमाको पाँच र बाबुको सात पिँढीसम्ममा हुने बिहेलाई हिन्दू समाजमा सपिण्ड मानिनुको कारण यही हो।

प्राचीन रोममा छैटौं पिँढीभित्र पर्ने आफन्तसँग बिहे गर्न नपाइने चलन थियो। पछि इसाईहरूको धर्म परिषद्ले यसको संख्या घटाएर चार पिँढी बनाइदियो।

नातेदारबाटै सन्तान जन्माउने चलन चलेको हुन्थ्यो भने मानव जाति अहिलेसम्म नष्ट भइसक्ने थियो।

त्यही भएर नारीलाई अर्काे कुनै पुरुषसँग बिहे गरेर पठाइदिने, यसले गर्दा धेरै फाइदा हुने देखियो। पहिलो, प्राकृतिक यौनेच्छा पूरा हुने भयो। दोस्रो, नारीले पुरुषको सेवा गरी भने त्यसको पुण्यको प्रभावले अर्को जन्ममा ऊ पुरुष हुने भई र अगाडि बढ्न बाँकी रहेको आध्यात्मिक बाटो पूरा गर्ने भई। तेस्रो, मानवजातिको विनाश हुने भएन। चौथो, नारीको सहयोगले गर्दा पुरुषले आध्यात्मिक बाटोमा अगाडि बढेर मावन हुनुको उद्देश्य पूरा गर्न सक्ने भयो।

यही कारण हो, आध्यात्मिक लक्ष्य पूरा गर्ने उद्देश्यका साथ कुनै पुरुषले आफ्नी नारी र सन्तानलाई छाडेर जाँदा पनि उसलाई नराम्रो मानिएन।

यसबाट फेरि अर्को विकृति सुरु भयो। नारीहरूलाई कम महत्व दिन थालियो र पुरुषहरूको दबदबा बढ्न थाल्यो। बिस्तारै पुरुषप्रधान समाज अझै बलियो बन्न थाल्यो। त्यस बेला कस्ताकस्ता प्रकारका बिहे हुन सक्थे भन्ने सम्भावनालाई ध्यानमा राख्दै ब्रह्म, प्रजापत्य, आर्ष, दैव, गन्धर्व, आसुर, राक्षस, पैशाच विवाह छुट्याइयो।

शास्त्रहरू, विशेष गरी पुराणहरू त्यो बेलाको समाजअनुसार रचिएका ग्रन्थ हुन्। मानिसहरूले सीधै बुद्धत्वको कुरा गर्दा नबुझ्ने भएकाले कथाहरूका माध्यमबाट सन्देश दिन खोजिएको हो। यही कारण हो पुराणहरूमा यथार्थ मात्रै छैन, भयानकता र काल्पनिकता पनि प्रशस्तै छन्। पुराणहरूबाट कथाको सन्देश लिने हो, त्यहाँ भनेजस्तै सबै कुरा जस्ताको तस्तै लिने होइन।

महाभारत कालसम्ममा धर्म नै कानुन थियो। यसैका आधारमा समाजमा नियम चल्थ्यो। पछि २३०० वर्षपहिला आचार्य चाणक्यले विवाहसम्बन्धी कानुन नै बनाइदिए। तर उनको सोच या पनि ऋषिमुनिहरूको जस्तै नै महिला भनेका सन्तान जन्माउनकै लागि र परिवार रेखदेख गर्नकै लागि हो भन्ने भयो। उनले भनेका छन्, ‘संसारका सबै व्यवहारको सुरुआत बिहेपछि हुन्छ। कुनै पनि कन्यालाई सन्तान उत्पत्तिका लागि विधिवत् ग्रहण गर्नुलाई विवाह भनिन्छ।’ यसको आजका महिलाहरूले विरोध गर्ने गर्छन्।

महिलाहरूलाई बिहे गरेको भनेर देखाउनका निम्ति सिन्दूर, पोते आदिको चलन चल्यो। यसले गर्दा हेर्दाखेरी नै उनीहरूलाई विवाहित भनेर चिनियोस् र परपुरुषले आँखा लगाउन नसकून्।

पुरुषका लागि कुनै नियम लागू भएन, जसबाट ऊ विवाहित हो कि होइन भनेर चिन्ने कुनै आधार राखिएन।

पछि गएर भन्न थालियो, ‘पतिसेवा स्त्रीको परम धर्म हो। पतिबाहेक पत्नीको गति छैन। पतिले जे भन्छ, त्यही गर। पतिको सक्दो सेवा गर। पतिले खाए खाऊ, नखाए नखाऊ।’

मनुले भनेका थिए, ‘पति सेवावाहेक स्त्रीको अरू कुनै काम छैन। उसले यस जन्ममा पनि पतिको सेवा गरेकी हो, अर्को जन्ममा पनि गर्नेछ।’

केसम्म भनियो भने स्त्रीलाई निर्बाध रूपमा भोग्न पाइन्छ। उनीहरूलाई मूल्यवान् वस्तुझैं उपहार दिन र युद्धमा जितेका ठाउँमा स्त्रीलाई भोगका वस्तु बनाउन सकिन्छ।

एउटा समय यस्तो थियो, देशका कुलीन ब्राह्मणहरूले ८०-९० जनासम्म बिहे गर्थे।

भनिन्छ, चीनमा केटीहरूका खुट्टामा फलामका जुत्ता लगाएर राखिन्थ्यो, फलस्वरूप चिनियाँ केटीहरूका खुट्टा साना भए।

द्वापरयुगमा श्रीकृष्णले प्राणत्याग गरेपछि उनका केही पत्नीहरू भावविह्वल हुँदै उनीसँगै सती गए। यसका लागि श्रीकृष्णका पत्नीहरूलाई कसैले दबाब दिएको थिएन। आफसेआफ घटेको थियो त्यो घटना। त्यस्तै भावविह्वल भएर पत्नीहरू सती गएका प्रसंगलाई आधार बनाएर पछिसम्मै पति मरेका पत्नीहरूलाई जबर्जस्ती पतिको लाससँगै आगोमा राखेर डढाइन्थ्यो। यसरी जलाइनुमा विधवा स्त्रीमाथि परपुरुषहरूको आँखा लाग्छ भन्ने मान्यताले पनि काम गथ्र्यो, जबकि यसरी आँखा लाग्नु विधवा स्त्रीको भन्दा आँखा लगाउने पुरुषहरूको दोष हो यदि यो दोष हो भने। पुरुषलाई आध्यात्मिक लक्ष्यका लागि महत्व दिइन थालिएको भए पनि लक्ष्यचाहिँ छाडियो, पुरुषलाई चाहिँ विशेष प्राथमिकता दिइराखियो।

जसरी विभिन्न नियम समयअनुसार हट्दै गएका छन्, त्यसैगरी यदि कुनै महिलाले बिहे नगरी बच्चा जन्माउने इच्छा राख्छे, बिहे नगरी बस्छु भन्छे या आफूलाई मन लागेको पुरुषसँग बस्छु भन्छे भने यसमा आपत्ति के छ र ?     

कसैले भन्न सक्लान्, विदेशीहरूको प्रथा पछ्याउँदा या आधुनिकताको नाममा आफ्नो संस्कृति नै लोप हुन सक्छ।

कुनै पनि संस्कृति सुरुमा जस्ता थिए, त्यस्ता हुँदैनन्, तिनमा समयअनुसार परिवर्तन हुँदै जान्छन्। सुरुमा जस्तो संस्कृति चलेको थियो, त्यो ठ्याक्कै त्यस्तै चलिरहेको छ भनेर कसैले पनि भन्न सक्दैन। समयअनुसार परिवर्तन भएको संस्कृति नै मान्य बन्दै जान्छ।

बिहे नगरी नै बच्चा जन्माउनुपर्छ भन्ने पनि हुँदैन। तर कसैलाई इच्छा लाग्छ भने यसमा के आपत्ति ?

यति स्वतन्त्रता दिँदा पूरै समाज नै भाँडिन्छ भन्ने हुँदैन। महिलाले बिहे नगरी बच्चा जन्माउँदैमा या मन लागेको पुरुषसँग बस्दैमा समाज भाँडिन्छ भन्ने कतै हुँदैन।

बरु अहिलेचाहिँ समाज भित्रभित्रै भाँडिएको छ। अहिलेको समयमा गर्भपात गर्नेको संख्या निरन्तर बढिरहेको छ। कैयौं कुमारी आमाहरूले बच्चा जन्माउने इच्छा हुँदाहुँदै पनि नपाएर कतिपय अवस्थामा जन्मिनेबित्तिकै सालनालसहित कुनै एकान्त ठाउँमा लागेर छाडिदिएका घटनाहरू छन्। वर्षमा ८० हजारभन्दा बढी महिलाले गर्भपतन गराएको तथ्यांक सामान्य होइन, जुन बढ्दो क्रममा पनि छ।

एकपटक सर्च गरेकै भरमा पोर्न भिडियोहरू हेर्न पाइन्छन् अहिले। फिल्महरूमा रोमान्सका दृश्यहरू राख्नु सामान्य भइसक्यो। यस्ता दृश्य हेर्ने, तर अनुभव गर्न नपाउने कारणले होला हामीभित्र यति धेरै कामवासना दबिइसकेको छ कि कुनै एउटी नारीले अर्धनग्न भएर प्र्रदर्शन गर्दा जताततै हंगामा मच्चिन्छ।

यौनलाई बढावा दिने दृश्यहरूमा चाहिँ बन्देज नलगाउने अनि यौन स्वतन्त्रता दिनलाई चाहिँ किन आनकानी ? यी दुई कुराबीच अलिकति मेल खाँदैन।

यस्ता चिजले यति पकड जमाइसके कि बन्देज लगाउन सायद सम्भव पनि नहोला।

त्यसैले यस विषयमा गहिरोसँग सोचविचार र छलफल गरी उचित नियम लागू गर्नुपर्ने समय आइसकेको छ।

मलेसियाजस्ता देशहरूमा वेश्यालयका चारपाँचवटा भवनहरूमा धार्मिक मेला लागेभन्दा बढी नेपालीहरूको भीड लाग्ने गरेको सहजै देख्न सकिन्छ। त्यहाँका वेश्याहरूले फोहोर मानिएका नेपाली बोल्न जानिसकेका छन्।

यस्तो वातावरणमा केटाहरू पढ्ने आ श्रममा केटाकेटाकै बीचमा, केटीहरू बस्ने होस्टेलमा केटीकेटीकै बीचमा भए पनि यस्तो सम्बन्ध भएरै छाड्छ। आ श्रममा घटेका घटनाहरूको प्रत्यक्षदर्शी त लेखक आफैं पनि छ। काठमाडौंका कतिपय लेडिज होस्टेलमा एउटै कोठामा केटीकेटीलाई पनि सँगै बस्न नदिने चलन सुरु भइसकेको छ। भित्रभित्रै यस्ता घटना प्रशस्तै भइरहेका छन्।

मैले ती महिला मित्रसँग कुरा भएपछि भोलिपल्टसम्म यस्तैयस्तै चिन्तन गरेर बिताएँ।

अर्को दिन उनले फेरि प्रश्न पठाइन्, ‘के नियम रहेछ शास्त्रमा ? ’

‘कुनै यस्तै गर्नुपर्छ भन्ने नियम भेटिनँ शास्त्रहरूमा। कुनै नियम छन् भने ती पछि बनेका हुन्, सोही बेलाको समाजको विकृति रोक्नका लागि। आदर्श समाज बनाउनका लागि।’

‘उदाहरण दिएर बुझाउनुस् न।’

‘गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि साठी जनाले अर्हत्व प्राप्त गर्ने बेलासम्म कुनै नियम बनेको थिएन। मान्छेहरू बढ्दै जान थालेपछि आवश्यकताअनुसार नियमहरू बन्दै गए। महिलाहरू भिक्षुणी बनेपछि अझै धेरै नियम बने। अहिले ध्यानका लागि पञ्चशील अनिवार्य मानिन्छ तर बुद्धका पाँच साथीपछिका पहिलो शिष्य यश सुरासुन्दरीको संसारबाटै विरक्तिएर आएका थिए, तैपनि उनले अर्हत्व प्राप्त गरे। यशका कैयौं साथीहरू पनि त्यस्तै वातावरणबाट आएका थिए, तर तिनीहरूले पनि अर्हत्व प्राप्त गरे। अहिले नियममा बस्नेहरूले समेत अर्हत्व प्राप्त गरेको घटना विरलै सुनिन्छ। हिन्दू शास्त्रहरू हेर्ने हो भने तिनले परिस्थिति जस्तो आए पनि मानवको मस्तिष्कमा भएको अथाह क्षमता पूरै जगाउने लक्ष्य हुनुपर्छ भनेका छन्। यति मात्रै हो।’

‘विदेशीहरू यस्ता कुरामा खुला छन् तर भजनकीर्तन गर्दै रोडमा नाच्दै हिँडिरहेका छन्। खुल्लापनले उनीहरूलाई सहयोग गरेकै देखिन्छ त। पाप लाग्ने भए उनीहरूलाई पनि लाग्नुपर्ने नि है ? ’

‘उनीहरूले यस्ता कुरालाई सहज रूपमा लिन्छन्, त्यही भएर पाप लाग्दैन।’

‘त्यसो भए, मैले बिहे नगरी बच्चा जन्माउँदा या कुनै आफूलाई मन परेको पुरुषसँग मन लागुन्जेल बस्दा हुन्छ, हैन त ? ’

‘तपाईंलाई सहज लाग्छ र कुनै पश्चात्ताप लाग्दैन भने मज्जाले हुन्छ। जसरी धेरै पानी पिउनुपर्छ भन्ने कुरा तराईमा जसरी हिमालमा लागू हुँदैन, त्यसैगरी तपाईंले आफ्नो देश, काल, परिस्थिति हेर्नुस् अनि अगाडि बढ्नुस्। तर अब हुन्छ कि हुँदैन भनेर मलाई नसोध्नुस्।’

‘हस्, मैले बुझेँ। तपाईंलाई धेरैधेरै धन्यवाद समय दिनुभएकामा।’

‘हस्, तपाईंलाई स्वागत छ र धन्यवाद पनि।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.