कोरोना त्रास : आर्थिक क्षेत्र ठप्प

कोरोना त्रास : आर्थिक क्षेत्र ठप्प

जनकपुरधाम : कोरोना भाइरसको त्रासले प्रदेश २ मा आर्थिक मन्दी छाएको छ। आयात, निर्यात र उद्योगको उत्पादन मात्रै बन्द भएको छैन, बजारमा वस्तु किन्ने ग्राहक भेटिन छाडेको छ। कारोना त्रासले आर्थिक कारोबार ठप्प छ।

मुख्य व्यपारी केन्द्रमा कोरोनाको त्रासले चहलपहल घटेको छ। १० दिनयता होटल व्यवसाय ८० प्रतिशत खस्किएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हीरा गौतमले बताए। व्यवसाय खस्किँदै जान थालेपछि बैंकबाट लिएको कर्जा ब्याज र कर्मचारीलाई सेवासुविधा दिन समस्या थपिएको उनले बताए। विश्वव्यापी बनेको कोरोनाले आर्थिक क्षेत्र नराम्रो प्रभावित बनेपछि व्यवसायी चिन्ता व्यक्त गरेका छन्। उद्योग, कलकारखाना, होटल तथा पर्यटन व्यवसायी, कर असुली सबै प्रभावित बनेको हो।

उद्योग वाणिज्य महासंघ प्रदेश २ का शिवशंकर साहका अनुसार बजारमा वस्तु भएको बिक्री छैन। उत्पादन ठप्प छ। आर्थिक गतिविधि शून्यमा झरेको छ। स्वास्थ्यभन्दा ठूलो केही छैन। बाराको जीतपुरका नवीन भगतकी बहिनीको बिहे सिराहाको मिर्चैयाका केटासँग वैशाख १४ गते हुने तय थियो। वैवाहिक समारोहका लागि नवीनले वीरगन्जको होटल कुमु प्यालेस २ लाख ७५ हजार रुपैयाँमा बुकिङ गरेका थिए। तर कोरोना त्रासले नवीनले बुधबार होटलमा फोन गरी बुकिङ रद्द गरे। ‘कोरोनाको त्रास कहिलेसम्म चल्छ भन्ने ठेगान छैन’, नवीनले भने, ‘बिहे पनि अब वैशाख १४ गते नहुने निश्चितजस्तै छ।’

कोरोना संक्रमणको त्रासले वैवाहिक समारोहमा असर पारेको वीरगन्जका होटल र पार्टी प्यालेसका सञ्चालकले बताए। वीरगन्जका होटल र पार्टी प्यालेसमा चैत र वैशाख महिनामा गर्ने भनिएका अन्य समारोह, गोष्ठी, अन्तरक्रियाका लागि गरिएका बुकिङ पनि कोरोनाका त्रासले धमाधम क्यान्सिल भइरहेको व्यवसायीले बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार, कोरोना संक्रमणले सबै भन्दाबढी असर होटल व्यवसायमा परेको छ।

‘बाहिरका पाहुना आए मात्रै होटल लज चल्ने हो तर बाहिरबाट मान्छे आउनै छाडेकाले होटल र लज अहिले सुनसान छन्, अहिले त कर्मचारीलाई भात खुवाएर पाल्ने काम मात्र भइरहेको छ’, उनले भने। कोरोनाको त्रासले वीरगन्जका साना ठूला सबै होटल, लज र पार्टी प्यालेस अहिले आर्थिक संकटमा परेको पन्तले बताए। संघमा ३३ वटा र वीरगन्ज होटल व्यवसायी संघमा १२ गरी वीरगन्जमा ५५ वटा आवासीय होटल, लज र पाटी प्यालेस छन्। ती बाहेक संघमा आवद्ध नभएका ५० भन्दाबढी साना होटल र लज पनि छन्।

हवाई सेवा प्रभावित

सिमरा, अमलेखगञ्ज, निजगढ र कलैयामा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल खुलिरहेका समयमा कोरोनाको त्रासले होटल व्यवसाय नराम्ररी प्रभावित बनेको छ। उद्योगी व्यवसायीको आवत जावत हुने सिमरा विमानस्थलको हवाई उडानसमेत कोरोनाको कारण प्रभावित छ। सिमरा–काठमाडौं उडान रहेको सिमरा विमानस्थलमा काठमाडौंबाट फर्कने यात्रुको चाप बढिरहेको छ। विमानस्थलका कर्मचारीका अनुसार काठमाडौं जाने यात्रुको संख्या कम हुँदै गएको र फर्कने यात्रुको संख्या बढ्दै गएको हो। ‘भारतबाट पर्यटक भित्रिन बन्द छ। आन्तरिक पर्यटक र उद्योगी व्यापारीको चहलपहल कम हुँदै जान थालेको छ’, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले भने, ‘ग्राहकको संख्या दिनप्रतिदिन घट्दो छ, अब यस्तो अवस्थामा कसरी व्यवसाय चल्छ ? ’

भारतीय पर्यटक, औद्योगिक करिडोरमा रहेका उद्योगमा आउने विभिन्न देशका उद्योगी व्यापारी बारामा सञ्चालित ठूला होटलका मुख्य ग्राहक हुन्। अहिले अन्यदेशबाट नेपाल आउनेको संख्या ठप्प छ। देशभित्रै रहेका उद्योगी व्यवयासीसमेत सुरक्षित भएर बस्न थालेका छन्।

कर असुली प्रभावित

त्रास बढ्दै गएपछि असर सिराहामा भन्सार असुलीदेखि बजार–व्यवसायसम्म परेको छ। पछिल्लो दिनमा राजश्व असुली कम भइरहेको छ। बजारमा मानिसको चहलपहल पातलिँदै छ। जिल्ला भन्सार कार्यालय माडर खैरटोकाका प्रमुख मानबहादुर पौडेलका अनुसार राजश्व असुली हुने सवारी साधनको पैठारी न्युन छ। चैत १ यताको राजश्व असुली लक्ष्यअनुसार हुन सकेको छैन। भाइरसको त्रासले पर्यटन व्यवसायी बढी मारमा परेको जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोकलाल अमात्यले जानकारी गराए।

‘होटलमा सभा, सम्मेलन, गोष्ठी गर्न रोकिएको छ। आवतजावतमा कम हुँदा बस व्यवसायी मारमा छन्’, उनले भने, ‘बजारमा सेनिटाइजर, मास्क अभाव छ।’ कर्मचारीलाई तलब कसरी खुवाउने र बैंकको किस्ता तिर्न व्यापारीलाई कठिनाइ भइरहेको उनले सुनाए।

नाकामा हेल्थ डेस्क

भारतीय बजारसँग जोडिएका सिराहाका नौ वटाका नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ। त्यहाँ भारतबाट आउनेलाई तापक्रम नाप्ने र सोधपुछ गर्दैछ। जिल्ला अस्पताल सिराहाका निम्ति प्रमुख डा. कृष्णदेव यादवका अनुसार माडर, औरही, बरियारपट्टि, नवराजपुर र ठाडीलगायत ९ स्थानमा हेल्थ डेस्क राखिएको छ।

हालसम्म सिरहामा कुनै संक्रमित नभेटिएको डाक्टर यादवले बताए। ‘कोही संक्रमित भेटिए प्रदेश सरकारले जानकी मेडिकल अस्पतालमा पठाउन भनिएको छ। त्यही पठाउँछौं’, उनले भने, ‘सिराहाका १७ वटै स्थानीय तहमा बाहिरबाट आएका व्यक्तिलाई क्वाइरेन्टाइन राख्न व्यवस्था मिलाउन पालिकाहरूलाई जानकारी गराइएको छ।’

बर्दिबास बजार बन्द हुँदै

संक्रमणविरुद्ध सावधानी अपनाउन बर्दिबास बजार आइतबारदेखि बन्द गर्ने निर्णय गरिएको छ। संक्रमण फैलिन नदिन अतिआवश्यक सेवाबाहेक सबै उद्योग, कलकारखाना बन्द गर्ने निर्णय गरिएको बर्दिवास उद्योग वाणिज्य संघ बर्दिबासले जनाएको छ। चैत्र ९–२१ गतेसम्म बजार बन्द हुनेछ। खाद्यान्न चामल, दाल, तेल, नुनजस्ता दैनिक उपभोग्य वस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले जनाए।

राजकरण महतो/महोत्तरी, शम्भू यादव/सिरहा, दिवाकर भण्डारी/बारा र क्रान्ति शाह/वीरगन्ज


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.