सीमामा जोखिम, गाउँघरमा लापरवाही

सीमामा जोखिम, गाउँघरमा लापरवाही

सुदूरपश्चिम प्रदेश ब्युरो : भारतमा कोरोनाको संक्रमण फैलिएपछि फर्किएका नेपालीलाई सिमानामा व्यवस्थापन गर्न चुनौति देखिएको छ। ४/५ दिनयता भारतबाट फर्किनेको संख्या ह्वात्तै बढेपछि सीमानाकाको व्यवस्थापन चुनौति बनेको हो।

भारतमा रेल बन्द भएकाले ३ दिनको बस यात्रा गरी आएका उनीहरूलाई मध्यरात सिमानामा छाडिदिनाले उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन। कोरोनाको त्रासले फर्किएकाले ४÷५ वटा सवारी फेर्दै आएको बताए। गतिविधि सार्वजनिक गतिविधि बन्द गरे पनि उनीहरू स्वदेशलाई नै सुरक्षित ठान्दै घर फर्किएका हुन्। ‘सीमा क्षेत्रमा ज्वरो नाप्ने मेसिन मात्र छ,’ सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले भने, ‘नापेका बेला ज्वरो भेटिए त आइसोलेसनमा लैजान सकियो तर कोरोनाको असर १४ दिनसम्म पनि देखिने भएकाले सीमामा ज्वरो मापन मात्र पनि पूरै सुरक्षित हो भन्न सकिन्न,’।

भारतबाट आएकालाई सीमा क्षेत्रमा क्वारेन्टाइनमा राखेको भए जोखिम कम हुने उनले बताए। ‘सीमा क्षेत्रमा दैनिक १० हजारभन्दा बढी मानिस आइरहेका छन्, सबैलाई घर पुग्न हतार हुन्छ,’ उनले भने, ‘अझ लामो लाइनमा लाग्ने झन्झटले पनि मानिसहरू परीक्षण नै नगरि आइदिने गर्छन्, जुन सबैका लागि जोखिम हो।’ कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट शुक्रबार राति र शनिबार बिहान धेरै मानिस परीक्षण नगरि नेपाल प्रवेश गरेका छन्। ‘सीमा क्षेत्रका स्वास्थ्यकर्मी बिहान ५ बजे मात्रै आउने भएकाले मध्यरातमा सिमाना आएकाहरू नेपाल प्रवेश गरेका छन्,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग मल्लले भने।

भारतबाट घर फर्केकाको डोटीको दिपायलमा स्वास्थ्य जाँच गरिँदै। तस्बिर : खगेन्द्रबहादुर सिंह

शनिबार रातिदेखि मध्यरातमा आएकालाई पनि ज्वरो नापेर मात्र पठाइएको छ। ‘शुक्रबार राति केही मानिस, नमानेर प्रवेश गरेका छन् भन्ने सुनेको छु,’ गौरीफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मी लक्ष्मीराज उपाध्यायले भने, ‘तर शनिबारदेखि राति पनि सिमानामा स्वास्थ्यकर्मी तैनाथ छन्।’ शनिबार र आइतबार गौरीफन्टाबाट १५ हजारभन्दा बढी मानिस नेपाल पसेका छन् भने गड्डाचौकीबाट २० हजारभन्दा बढी भित्रिएका छन्। फागुन २२ गतेदेखि आइतबारसम्म गड्डाचौकीबाट ६४ हजार ८ सय ८३ जना नेपाली स्वदेश फर्किएका छन्।

गाउँघरमा लापरवाही

अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाका नयाँ आउजी शनिबार गाउँ फर्किएका छन्। महाराष्ट्रको नासिकमा काम गर्ने उनी कोरोनाका कारण कम्पनी बन्द भएपछि फर्किएको बताए। उनी घर पुगेपछि कोरोनामुक्त भएकोमा ढुक्क छन्। उनलाई सेल्फ क्वारेन्टाइनबारे जानकारी छैन। ‘अब घरका मानिससँग त भेटघाट भइ हाल्ने नै भयो,’ उनले भने, ‘बाहिर गएको छैन तर घरमा मास्क लगाउने, अलि पर बस्ने वा सुत्ने भने गरेको छैन।’

साँफेबगर नगरपालिका–१३ का सयभन्दा बढी परिवारका सदस्य ३ दिनयता भारतबाट फर्केका छन्। वडाध्यक्ष नरबहादुर साउदले भने, ‘सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौं, तर घर पुगेपछि पनि क्वारेन्टाइनको कुरा गर्ने भन्दै उल्टै गाली खानु परेको छ।’ गृह मन्त्रालयले आइतबार सबै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहलाई गाउँ फर्केकालाई सेल्फ क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ। सीमानाकामै फर्किनेको नाम ठेगाना र फोन नम्बरसहितको रेकर्ड राख्न निर्देशन दिएको छ। तर न नाकामा त्यसको पालना भएको छ न गाउँ पुगेका नै त्यो मान्न तयार छन्।

बयालपाटा अस्पतालका डा. विकास गौचन भारतबाट फर्केकाकै कारण अछाम कोरोनाको उच्च जोखिममा रहेको बताउँछन्। उनी भन्छन्, ‘यदि समयमै सचेत नहुने हो भने सुदूरपश्चिमका पहाडी जिल्लाबाटै कोरोनाको सुरुवात हुने सम्भावना देखिन्छ।’ उनले दीर्घ रोगी र वृद्धवृद्धालाई कोरोनाको संक्रमण छिटो हुने भएकाले भारतबाट गाउँ पुगेका सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताए।

अछामपछि कामका लागि डोटीका बासिन्दा भारत जानेमा पर्छन्। डोटीको प्रायः तीनमध्ये एक परिवारको सदस्य कामका लागि भारत जान्छ। शिखर नगरपालिका–५ का पप्ने दमाईले भने, ‘बस्ने एउटा सानो घर छ, त्यसैमा सबैले मिलेर बस्नुपर्छ, कसरी अलग्गै बस्नु ? ’ उनका छोरा सिद्ध दमाई दिल्लीबाट आइतबार बिहान घर पुगेका छन्।

सोही गाउँका रमेश लुहार पनि आईतबारनै भारतबाट घर फर्केका छन्। उनी पनि ढुक्कसाथ परिवारसँगै बसिरहेका छन्। ‘चेक जाँच भएको हो, कुनै किसिमको रोग छैन,’ उनले भने, ‘अलग्गै कता बस्नु ? ’ भारतबाट आएकाबाट कोरोना गाउँमा आयो कि भन्ने डर लागिरहेको स्थानीय शेरबहादुर साउदले बताए। ‘अब त घरबाट समेत बाहिर निस्कन डर लागिरहेको छ,’ उनले भने। नगरपालिकामा आइतबार बिहान मात्र २५÷३० जना भारतबाट घर फर्केका वडाध्यक्ष पदमबहादुर बोहराले बताए। ‘कोरोना आउन नदिन हर प्रयासमा लागे पनि भारतबाट आएकालाई सम्झाउन भने साह्रै गाह्रो परिरहेको छ,’ उनले भने।

विक्रम साउद भारतको पन्जाबमा काम गर्दै आइरहेका थिए। उनी शनिबार घर पुगेका छन्। दिपायल सिलगढी नगरपालिका–८ कलेनाका उनी पनि परिवारसँगै बसिरहेका छन्। उनलाई परिवारबाट अलग बस्न न परिवारले भनेको छ न त अलग बस्ने ठाउँ नै छ। परिवारका सदस्यले उनीबाट सजग रहेको बताए पनि उनलाई छुट्टै राख्ने व्यवस्था गरिएको छैन।

६ जना आइसोलेसनमा

भारतबाट फर्केका ४ जना, प्रदेशसभा सदस्य एक जना र एक जना बालक गरी ६ जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। ६ जनाकै रगतको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालका बालरोग विषेशज्ञ डा. प्रदीप मि श्रले बताए। ‘६ जनाको रिपोर्ट आइपुगेको छैन, यसअघि गरिएका नमुना परीक्षण सबै नेगेटिव आएका छन्,’ उनले भने।

चिकित्सकले भारतबाट फर्किरहेका नेपालीको राम्रो परीक्षण गरेर क्वारेन्टाइनमा राखे मात्र कोरोनाबाट बच्न सकिने बताएका छन्। आइतबार सीमा क्षेत्रमा पुगेकी बालरोग विषेशज्ञ डा. प्रतीक्षासिंह राठौरले सीमा क्षेत्रको परीक्षणमा कुनै लापरवाही हुुन नहुने बताइन्।

- शिवराज भट्ट/धनगढी, महादेव अवस्थी/महेन्द्रनर, गीता कुँवर/अछाम, खगेन्द्रबहादुर सिंह/डोटी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.