ग्रिन सिग्नल दिँदै नेपाल भित्र्याउँदै
भैरहवा : रूपन्देहीको बेलहियामा नाकामा रहेको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा आइतबार दिल्लीबाट पवन शर्मा आए। उनी काठमाडौं जान त्यहाँबाट स्थलमार्ग हुँदै दसगजामा पुगेका हुन्।
मास्क लगाएर हेल्थ डेस्कमा पुगेका शर्माको शरीरको तापक्रम नापियो। तापक्रम सामान्य थियो। हातमा सुरक्षाकर्मीले स्यानीटाइजर छर्किदिए। त्यसपछि उनी झोला उठाएर नेपाल प्रवेश गरे। कोरोना लक्षणको रूपमा शरीरको उच्च तापक्रम (ज्वरो), रुघाखोकी, श्वासप्रश्वास समस्या लगायतलाई लिइन्छ। नेपाल भित्रिएका शर्माको शरीरको तापक्रम सामान्य भएकै आधारमा उनलाई ‘ग्रिन सिग्नल’ दिइयो। तर, उनलाई रुघाखोकी लागेको थियो वा थिएन ? श्वासप्रश्वासको समस्या थियो वा थिएन ? लगायत विषयमा उनलाई केही सोधिएन। शरीरको तापक्रम नापेपछि उनी सरासर नेपाल भित्रिए।
भारतबाट मालवाहक गाडी लिएर दसगजामा पुगेका विहारका मिथलेश कुमारको पनि शरीरको तापक्रम जाँच गरियो। उनको शरीरको तापक्रम पनि सामान्य भएकै आधारमा उनलाई पनि नेपाल भित्रिन ग्रिन सिग्नल दिइयो। र, उनी पनि सरासर नेपाल भित्रिए। उनीसँग पनि कुनै किसिमको सोधपुछ गरिएन। राजस्थानमा होटलमा काम गर्दै आएका अशोक सुनारको ८ जनाको टोलीको पनि उही शैलीमा जाँच गरियो। आठै जनाको शरीरको तापक्रम जाँचेर नेपाल भित्रिने अनुमति दिइयो। कसैलाई पनि अन्य लक्षणको विषयमा सोधपुछ वा परीक्षण गरिएन।
यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। अहिले यही स्वास्थ्य जाँचशैलीमा भारतबाट दैनिक हजारौं सर्वसाधारण धमाधम नेपाल भित्रिरहेका छन्। स्वास्थ्यकर्मीले पनि फटाफाट इन्फ्रारेड थर्ममिटर निधार लगाउँदै जानुस् भन्दै धमाधम ‘ग्रिन सिग्नल’ दिइरहेका छन्। नेपाल भित्रिने सर्वसाधारणमा उच्च तापक्रम बाहेक अन्य लक्षणसमेत देखिने सक्ने सम्भावना रहे पनि हेल्थ डेस्क व्यवस्थित नहुँदा झारा टार्ने स्वास्थ्य जाँच भइरहेको देखिएको छ। भारतीय हेल्थ डेस्कमा एमबीबीएस तहका दुईजना चिकित्सक सहितको टोली खटिएर गम्भीरतापूर्वक जाँच गरिरहेका छन्।
नेपालको हेल्थ डेस्कमा कहिले अनमीको भरमा त कहिले स्वास्थ्य सहायकको भरमा नेपाल भित्रिने सर्वसाधारणको जाँच भइरहेको छ। भारतको दिल्ली, राजस्थान, मुम्बई, पञ्जाव, कर्नाटक, कानपुर, गुजरात, तेलगांना, तमिलनाडु, केरल, लखनउ, आगरा, लद्दाख, जम्मुकश्मिर, बंगाल, बिहार, चेन्नइलगायत ठूल्ठूला सहरमा संक्रमित फेला परिरहेका छन्। आइतबार दिउँसोसम्म भारतमा कोरोना संक्रमितको संख्या ३ सय ६० पुगेको छ भने सातजनाको मृत्युसमेत भइसकेको छ। भारतमा सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित फेला परेका छन्।
रूपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लासँग जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार साँझ मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशको गोरखपुरसहित १५ वटा जिल्लामा लकडाउनको घोषणासमेत गरेका छन्। रोजगारीका लागि भारत गएका नेपाली अहिले यी कोरोना प्रभावित सहरबाट धमाधम फितलो स्वास्थ्य जाँच पार गर्दै नेपाल भित्रिरहेका छन्। शनिबार मात्रै भारतीय भूमि प्रयोग गरेर रूपन्देहीको बेलहिया नाकाबाट १८ हजार २ सय ७५ जना नेपाली र भारतीय नागरिक नेपाल भित्रिएको तथ्यांक छ।
भारत सरकारले आइतबार घोषणा गरेको ‘जनता कफ्र्यु’ को बाबजुद् नाका हुँदै भारतीय र नेपालीको भित्रिरहेका छन्। ‘जनता कफ्र्यु’ का कारण आउने संख्या अघिल्लो दिनभन्दा कम छ। आइतबार साँझ चार बजे ३ हजार २ सय २० जना भारतीय र नेपाली नागरिक नेपाल प्रवेश गरेको हेल्थ डेस्ककी इन्जार्च एवं अनमी गंगा कँडेलले बताइन्। बेलहिया नाकाबाट भारतमा जान रोक लगाइए पनि भारतबाट आउनेलाई भने छुट दिइएको छ।