मौलाउँदै कालोबजारी

मौलाउँदै कालोबजारी

जनकपुरधाम : कोरोना भाइरस संक्रमणको सन्त्रास बढ्दै गएका बेला प्रदेश २ का बजारमा कालोबारीको चर्चा चुलिएको छ। दैनिक उपभोग्यवस्तु, मास्क, स्यानिटाइजर, खाना पकाउने एलपी ग्यासको माग बढेको छ। सरकार अत्यावश्यक वस्तु बजारमा अभाव नभएको दाबी गर्छ। तर, उपभोक्ताले सहज रूपमा अत्यावश्यक वस्तु पाइरहेका छैनन्।

व्यापारीले कृत्रिम अभाव सिर्जना गरेका छन्। ०७२ सालमा नाकाबन्दीको मार खेपेका उपभोेक्ताले अत्यावश्यक वस्तु सञ्चित गर्न थालेका छन्। कालोबजारी नियन्त्रण गर्न प्रशासनले व्यापारीको गोदाममै छापा मारेको छ।

कृत्रिमी अभाव देखाएर पर्सामामुनाफा कमाउन व्यपारीले अत्यावश्यक वस्तुको भारतमा तस्करी गरिरहेको भेटिएको छ।

दुई जना पक्राउ

चैत ५ गते काठमाडौंबाट खरिद गरेर ल्याइएको २० हजार थान मास्क, पर्साको ग्रामीण नाका हुँदै भारत तस्करी गर्न लैजाँदै गर्दा २ जना कारोबारी पक्राउ परे। ‘मास्क खोज्दै घण्टाघरदेखि माईस्थानसम्मका १० भन्दा बढी औषधि पसल चहार्दा एउटा पसलमा पाइयो त्यो पनि १० रुपैयाँ पर्ने मास्कलाई २५ रुपैयाँ तिर्नुप¥यो,’ वीरगन्ज–९ रानीघाटका सुभाष साहले भने, ‘अरू बेला सय रुपैयाँमा पाइने स्यानिटाइजर अहिले ३ सयमा किन्नुपरेको छ।

कालोबजारीको आरोपमा जनकपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। मास्क र स्यानिटाइजर ब्ल्याकमा बिक्री–वितरण गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सुस्मिता मेडिकलका सञ्चालक सर्लाही बरहथवा नगरपालिका–८ का सञ्जय साह, सम्पूर्ण मेडिकलबाट जनकपुरधाम उपमहानगरपालिका–४ का ३२ वर्षीय सञ्जय साहलाई पक्राउ गरिएको हो।

त्यस्तै, जनकपुरधाम–८ भमरपुरा चोकस्थित अटल फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका–३ का २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका–६ का ३० वर्षीय प्रभन्स चौधरीलाई स्यानिटाइजरको कालोबाजारी गरेको आरोपमा पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

नाकामै ग्यास अभाव

वीरगन्ज नाकामै उपभोक्ताले ग्यास पाउन सकिरहेका छैनन्। ग्यासका अधिकृत बिक्रेताका पसलमा एक सिलिन्डर ग्यासका लागि उपभोक्ता घण्टौँसम्म लाइन बस्न बाध्य छन्। वीरगन्जको लिंकरोडस्थित मनोज ग्यासको डिलरमा आइतबार ४ घण्टा लाइन बस्दा पनि ग्यास नपाएर रित्तै सिलिण्डर लिएर घर फर्कंदै गरेका वीरगन्ज–१० अशोकबाटिकाका सुनील सर्राफले गुनासो गरे।

खाना पकाउने ग्यासको पनि अभाव छ। एकै परिवारले ३–४ वटासम्म सिलिन्डर लगेकाले अभाव भएको महोत्तरीको बर्दिबासका बिक्रेता राजकुमार श्रेष्ठले बताए। आपतको घडीमा दैनिक उपभोग्यवस्तु सञ्चित नगर्न महोत्तरीस्थित बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले उपभोक्तालाई अपिल गरेका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीप खंगखत्वेले बिहीबार समय अभावका कारण २ वटा औषधि पसल र एउटा किराना पसलमा मात्रै अनुगमन गरिएको र कुनै पनि पसलले मापदण्डबाहिर गएर बिक्री वितरण नगरेकाले कसैलाई कारबाही नगरिएको बताए।

बजारमा कृत्रिम अभाव गर्ने व्यापारीबारे खबर गरे कारबाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए।

नुनको बिक्री ह्वात्तै बढ्यो

बजारमा अत्यावश्यक दैनिक उपभोग्य सामग्री अभाव देखिन थालेको छ। उपभोक्ताले नुन, तेल, ग्यास, चालम चाहिनेभन्दा बढी घरमा भण्डारण गर्न थालेका छन्। रौतहटको चन्द्रपुर–४ को एक पसलबाट एक सातामा एक सय बोरा नुन खपत भएको छ।

रौतहटको चन्द्रपुर, गौर, गरुडा बजारमा मास्क, स्यानिटाइजर, चामल, दाल, तेल, ग्यास, इन्धन, तरकारीको मूल्यवृद्धि भएको छ।

अत्यावश्यक सामग्रीको मूल्यवृद्धि नगर्न, औषधि पसलले २४ सै घण्टा सेवा दिन रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले व्यापारीसँग आग्रह गरे। उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टीका घिमिरेले कालोबजारी तत्काल रोक्न र बजार अनुगमन गर्न माग गरेका छन्।

नियमित बजार अनुगमन भइरहेको इलाका प्रशासन कार्यालय चन्द्रपुरका उपसचिव चेतराज बरालले दाबी गरे। ‘व्यापारीले मूल्य बढाएर कालोबजारी गरे कडा कारबाही गर्छाैं,’ उनले भने।

(राजकरण महतो/महोत्तरी, क्रान्ति शाह/वीरगन्ज, गोविन्द महतो / जनकपुरधाम र फणि महत/रौतहट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.