सुकुम्बासी बस्तीका मजदुरलाई वडाअध्यक्षले दिए खाद्यान्न
धरान : कोराना भाइरस (कोभिड-१९) का कारण सरकारले लकडाउन गरेका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई धरानका वडाअध्यक्षहरुले खाद्यान्न वितरण गरेका छन् । लकडाउनले दैनिक श्रम गर्न नपाएर भोकै बसेका धरान उपमहानगरपालिका- ५ का ४३ घर परिवारलाई वडाअध्यक्ष सन्तोष लिम्बुले खाद्यान्न वितरण गरेका हुन् ।
दैनिक श्रम गर्न नपाए पश्चात खाद्यान्न अभावका कारण भोकै बसेको थाहा पाएपछि वडाअध्यक्ष सन्तोष लिम्बुले ४३ घर परिवारलाई आफ्नै खर्चमा खाद्यान्न वितरण गरेका हुन् । धरान उपमहानगरपालिका-५ स्थित सुकुम्बासी बस्तीमा बसोवास अति विपन्न परिवारलाई वडाध्यक्ष लिम्बूले प्रति परिवार ५० केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल र १ किलो नुन वितरण गरेका हुन् ।
सुकुम्वासी बस्तीमा बसोवास गर्ने अतिविपन्न परिवारको पहिचान विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको लिम्बुले बताए । उनले सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका परिवारको बिचल्ली भएको भन्दै तत्काल राहत वितरण गर्नसमेत सरकारसँग माग गरेका छन् ।
त्यस्तै धरान ७ वडाअध्यक्ष जिवन सुवेदी र १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले समेत अति विपन्न परिवारलाई दाल, चामल, खाने तेल लगायतका खाद्य सामाग्री वितरण गरेका छन् ।
भोजपुरबाट धरान आएर दैनिक मजदुरी गर्दै आएका जंगबहादुर तामाङले दैनिक मजदुरी गर्न नपाउँदा जिविकोपार्जन गर्दै आएका परिवारलाई जीवन गुजारा गर्न समस्या भएको बताए । उनले भाडामा बसेर दैनिक मजदुरी गरेर परिवार पाल्दै आएको भएपनि पाँचदिनदेखि काम गर्न नपाइएकाले जिविकोपार्जनमा समस्या भएको गुनासो गरे ।