रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुग्यो, ४५ बेडको आइसोलेसन तयार
काठमाडौं : रामेछापका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा बस्नेको संख्या ५४ पुगेको छ। छिमेकी मुलुक भारत र अन्य विभिन्न देशहरुबाट आएका ५४ जनालाई होम क्वारेन्टाइन र सामुदायिक क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि रामेछाप जिल्लाका आठवटै स्थानीय तहले आइसोलेसन तथा क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएका छन्। कर्णकाअनुसार शनिबार ४ बजेसम्ममा जिल्लामा ४५ बेडको आइसोलेसन र १६७ बेडको क्वारेन्टाइन निर्माण भइसकेको छ। क्वारेन्टाइनमा शंकास्पद र बाहिरबाट आएका मानिसहरुलाई राख्ने प्रबन्ध मिलाएको उनले बताए।
कर्णले भने, 'साँझसम्म रामेछाप नगरपालिकामा १७ जना, दोरम्बा गाउँपालिकामा १० जना, खाँडादेवी गाउँपालिकामा १० जना, गोकुलगंगा गाउँपालिकामा ७ जना, मन्थली नगरपालिकामा ६ जना र लिखु गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा विशेष निगरानीमा राखिएको छ।; अहिलेसम्म कुनै किसिमको समस्या नदेखिएको उनको भनाइ छ।
कोरोना भाइरस महामारीका कारण नेपालसँगै थुप्रै देश लकडाउन भइसकेका छन्। यदि संक्रमितको संख्या बढ्यो भने, वा हालको अवस्था नियन्त्रणमा आएन भने लकडाउनलाई नै लम्बाउने सरकारको तयारी भइरहेकाले जिल्लाका बजारहरु सुनसान देखिएका छन्। सदरमुकाम मन्थलीमा अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालन भएका छैनन्।
यस्तो छ रामेछापका स्थानीय तहको तयारी
मन्थली नगरपालिका
मन्थली नगरपालिकामा शनिबारसम्ममा ८ जना क्वारेन्टाइनमा बसेका छन्। भारतबाट आएका ६ जना होम क्वारेन्टाइन र २ जना सामुदायिक क्वारेन्टाइनमा बसिरहेको मन्थली नगरपालिकाका स्वास्थ्य संयोजक केशब फुँयालले जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्र २२ वटा आइसोलेसन बेड र २० वटा बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। फुँयालले भने, 'हालसम्म तामाकोशी सहकारी अस्पतालमा १४ वटा, सामुदायिक अस्पतालमा ४ वटा र प्राथमिक स्वास्थ्य केन्द्रमा ४ वटा बेडको आइसोलेन तयार गरिएको छ।'
उनले नगरपालिकाले ४० सेट पिपिई सेट खरिद गरेर शनिबार १५ सेट वितरण गरिएको बताए। उनले थप स्वास्थ्य सामग्री, औषधी बेलुकासम्म आइपुग्ने बताए।
नगरपालिकाका मेयर रमेश बस्नेतले विभिन्न स्थानमा हेल्थडेस्क राखेर उच्च सतर्कताका साथ निगरानी बढाइएको बताए। उनले आइसोलेसन बेड र क्वारेन्टाइन बेड निर्माण गरी सम्बन्धित निकायसँग समन्वय गर्दै कोरोना भाइरसको रोकथाम तथा न्यूनिकरणका लागी नगरपालिकाले आवश्यक उपकरणसहित तयारी अगाडि बढाइरहेको बताए।
रामेछाप नगरपालिका
रामेछाप नगरपालिकामा अहिलेसम्म १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। भारत, मलेसियालगायत विभिन्न देशबाट आएका १७ जनालाई चिकित्सकको निगरानी रहने गरी होम क्वारेन्टाइनमा राखिएको मेयर नरबहादुर थापामगरले जानकारी दिए। अहिलेसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
उनकाअनुसार नगरपालिकाभित्र अहिलेसम्म आइसोलेसन ७ वटा बेड र ६० वटा बेडको क्वारेन्टाइन निर्माण भएको छ। थापामगरले एम्बुलेन्स चालक र चिकित्सकलाई आवश्यक पर्ने पीपीईलगायतका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको बताए।
खाँडादेवी गाउँपालिका
खाँडादेवी गाउँपालिकामा भारतबाट आएका ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सिकिमलगायत विभिन्न स्थानबाट आएका ४ जनालाई सामुदायिक क्वारेन्टाइन र ४ जनालाई होम क्वारेन्टाइन राखिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए। उनले भने, 'अहिलेसम्म ८ वटा बेडको आइसोलेसन निर्माण गरिसकेको छौं, प्रत्येक वडामा १०/१० वटा बेडसहितको क्वारेन्टाइन निर्माणको काम धमाधम भइरहेको छ।'
तामाङले बिरामी बोक्नका लागि गाउँपालिकामा एम्बुलेन्स तयारीका साथ राखिएको र शंकास्पद व्यक्ति थपिँदै गएको खण्डमा विद्यालय र सामुदायिक भवनसमेत प्रयोग गरिने स्पष्ट पारे।
लिखु तामाकोशी गाउँपालिका
लिखु तामाकोशी गाउँपालिकामा विदेशबाट आएका ४ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले जानकारी दिए। उनले पालिकाभित्र करिब ५० वटा बेडको क्वारेन्टाइन निर्माण गरिएको बताए। उनले भने, 'नागदह, धोबी र खिम्तीमा क्वारेन्टाइन बनाइसकेका छौँ, आवश्यक परेको खण्डमा थप निर्माण गर्ने तयारी छ।' खड्काले गाउँका जनतालाई सेनिटाइजर, मास्क, साबुन वितरण गर्नुका साथै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि हेल्थ डेस्क संचालन गरिएको बताए।
उमाकुण्ड गाउँपालिका
उमाकुण्ड गाउँपालिकामा शनिबारसम्म ३५ वटा बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। बाम्तीमा २५, भुजी र गुप्तेश्वरमा ५/५ वटा बेडको क्वारेन्टाइन निर्माण भइसकेको र बाँकी वडामा धमाधम क्वारेन्टाइन बेड निर्माणको चरण रहेको शेरबहादुर सुनुवारले जानकारी दिए।
सुनुवारले विदेशबाट लुकिछिपी गाउँमा आएर मानिस बसिरहेको जानकारी आइरहेकाले उनीहरुलाई क्वारेन्टाइन राख्नका लागि छलफल भइरहेको बताए। उनले भने, 'विदेशबाट आएकालाई अनिवार्य रुपमा १४/१५ दिनसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौ।' सुनुवारले आवश्यक स्थानमा पीपीई सेटसहित स्वास्थ्य सामाग्री हिजो वितरण गरिएको र थप स्वास्थ्य सामग्री मगाएर प्रभावकारी रुपमा अगाडि बढ्न लागिएको बताए।
गोकुलगंगा गाउँपालिका
गोकुलगंगा गाउँपालिकाले शनिबारसम्म ११ बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेसन तयार पारिएको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले जानकारी दिए। गाउँपालिकाको नयाँ अस्पताल भएकाले क्वारेन्टाइनका लागि २०० वटा बेडसम्म बनाउन सकिने बताए। उनले भने,' नामाडीमा ४ र बेतालीमा २ जना गरी ६ जना होम क्वारेन्टाइन हुनुहुन्छ, उहाँहरु निगरानीमा बसिरहनु भएको छ।'
उनले वडाको स्वास्थ्य चौकीमा हेल्थडेस्क राखिएको र डाक्टरमार्फत कोरोना भाइरससँग सम्बन्धित छलफल र परामर्स सेवा सञ्चालन गर्न लागिएको बताए। सुनुवारले कोरोना भाइरस रोकथाम तथा न्यूनीकरण कोष संचालनमा ल्याउन लागिएको समेत जानकारी दिए।
दोरम्बा गाउँपालिका
दोरम्बा गाउँपालिकामा ७ वटा आइसोलेसन र क्वारेन्टाइन ८ वटा निर्माण गरिएको छ। दोरम्बा गाउँपालिकामा अहिलेसम्म ३ जना होम क्वारेन्टाइनमा बसिरहेको गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए। उनले भने, 'गाउँपालिकामा हल्ला धेरै चले, तर रोगको लक्षण देखिएको कोही हुनुहुन्न, विदेशबाट आएकालाई चिकित्सकको निगरानीमा रहने गरी होम क्वारेन्टाइन राखिएको छ।'
उनले विपद् व्यवस्थापन कोषमा निर्णय गरेर सुविधासम्पन्न भवनमा आइसुलेसन निर्माणका लागि आलमोनियम काठमाडौंबाट ल्याउने तयारी भइरहेको बताए। मोक्तानले सबै वडामा कम्तिमा १/१ वटा आइसोलेसन बेड तयार गर्ने कार्य भइरहेको जानकारी दिए।
सुनापति गाउँपालिका
सुनापति गाउँपालिकामा ४ वटा आइसोलेसन र १५ वटा क्वारेन्टाइन बेड तयार गरिएको गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिए। उनले आवश्यक स्वास्थ्य सामाग्रीहरु तयारी अवस्थामा राखिएको जानकारी दिए।
गाउँपालिकाका स्वास्थ्य संयोजक प्रवल योञ्जनले बहराइनबाट आएको एक जना होम क्वारेन्टाइनमा रहेको बताए। उनले गाउँपालिका तथा सम्बन्धित निकायको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका कार्यहरु अगाडि बढाइरहको बताए।
मन्थली नगरपालिकाले तयार पारेको क्वारेन्टाइन ।